राजस्व प्रशासनमा गुणात्मक सुधार चाहन्छु : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले जनताको पसिनाको थोपा थोपाबाट संकलन भएको राजस्वको न्यायपूर्ण वितरण हुने गरी नीति बनाउन निर्देशन दिएका छन् ।
राजस्व सचिव रामशरण पुडासैनीको बिदाइ समारोहलाई आज सम्बोधन गर्दै मन्त्री शर्माले संविधानले निर्दिष्ट गरेको जन अधिकारको मर्मबमोजिम न्यायिक वितरण सुनिश्चित गर्नुपर्नेमा जोड दिए । “राजस्व भनेको जनताको पसिनाको थोपा थोपाको सङ्ग्रह हो । यसको सम्मान गर्नुपर्छ र न्यायपूर्ण वितरण गर्नुपर्दछ”, उनले भने ।
मन्त्री शर्माले राज्यका हरेक नीतिहरु निरन्तर सुधारको प्रक्रियामा रहेको भएता पनि आफूले निरन्तर सुधारभित्र ‘गुणात्मक सुधार’ चाहेको बताए । “निरन्तर सुधारले मात्र पुग्दैन भन्ने मेरो मान्यता छ । निरन्तर सुधारभित्र गुणात्मक सुधार भएन भने त्यो यथास्थितिवादी नीति बन्छ । यथास्थितिवादी नीतिले परिवर्तनको आकाङ्क्षालाई सम्बोधन गर्न सक्दैन”, मन्त्री शर्माले भने, “मैले गुणात्मक सुधारका लागि काम गर्ने हो । यो काम हचुवाको भरमा गर्ने होइन । गहन अध्ययन विश्लेषण गरेरै गर्ने हो तर गर्ने हो ।”
अर्थ मन्त्रालय र सम्बद्ध निकायमा ३३ वर्ष काम गरेर सेवानिवृत्त हुन लागेका राजस्व सचिव पुडासैनीको विषयगत विज्ञताको प्रशंसा गर्दै मन्त्री शर्माले त्यसलाई राज्यले आगामी दिनमा पनि उपयोग गर्ने बताए ।
अर्थ सचिव मधुकुमार मरासिनीले सेवा निवृत्त हुन लाग्नु भएका सचिव पुडासैनीले नेपालको अर्थतन्त्र सुधारमा गरेको योगदानको चर्चा गर्दै विनाकुनै दाग बिदाइ हुनु पनि सेवाकालको ठूलो सफलता भएको टिप्पणी गरे । उनले सुधारको विकल्प थप सुधार नै भएको कुरामा जोड दिँदै आर्थिक क्षेत्रमा भएका परिणाममुखी सुधारमा सचिव पुडासैनीको भूमिका महत्वपूर्ण रहेको बताए ।
राजस्व सचिव पुडासैनीले नवनियुक्त अर्थमन्त्रीले अघि सारेको ‘उपभोगवादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने’ भिजन महत्वपूर्ण र सान्दर्भिक रहेको भन्दै त्यसको कार्यान्वयनले राजस्व सङ्कलनमा समेत सुधार आउने तर्क गरे । राजनीतिक र प्रशासनिक क्षेत्र एक अर्काको परिपूरक रहेको भन्दै उनले प्रशासनिक क्षेत्रको जनशक्तिले आफूलाई लोकसेवाबाट आएको भनेर घमण्ड प्रस्तुत गर्न नहुनेमा जोड दिए ।
सचिव पुडासैनीले भने “हामी राज्यबाट केही लिन आएको हैन, राज्यलाई केही दिन आएको हो । जनता र राष्ट्रको सेवा गर्नु हाम्रो धर्म हो । घमण्ड गर्नु हुँदैन । ” तीन दशकभन्दा लामो समय निजामती सेवामा बिताउँदाको अनुभव सुनाउँदै उनले नेपालमा राजनीतिक क्षेत्रले कर्मचारी संयन्त्रलाई अझै पूर्णरुपमा विश्वास गरिनसकेको बताए ।
विसं २०४५ साल असार २० गते निजामती सेवामा प्रवेश गरी २५ वर्ष अर्थमन्त्रालयमा कार्यरत पुडासैनीसँग विश्व बैंक र एसियाली विकास बैंकमा बसेर काम गरेको अनुभव छ । निजामती सेवामा ३३ वर्ष विताएका पुडासैनी ५८ वर्षे उमेरहदका कारण साउन २४ गते आइतबारदेखि सेवानिवृत्त हुँदै छन् ।









स्रोत नखुलेको १० लाखसहित एकजना पक्राउ
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
हुवावेको ‘वाच जीटी ६ सिरिज’ नेपालमा सार्वजनिक
स्वास्थ्यमन्त्री गौतमसँग भारतीय राजदूतको शिष्टाचार भेट
कर्णालीले विराटनगरलाई दियो १६१ रनको लक्ष्य
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया