सफलताको कथा
त्यसपछि राति एक बजे उठेर पढ्न सुरु गरें
'अरुका मामुले धेरै माया गर्नुहुन्छ, हामीलाई किन यस्तो व्यवहार गर्नुहुन्छ ? बच्चाहरूको यही प्रश्नले मन चसक्क हुन्थ्यो।'

महिला भनेको घर, गृहस्थी, बालबच्चाको लालन पालन र श्रीमानको सेवामा समर्पित हुनुपर्छ भन्ने हाम्रो समाजमा महिलाको प्रगति कहाँ रुचाइन्छ र ? यस्तै प्रश्नको पटक–पटक सिकार भएकी संघर्षशील महिला हुन्, हिरा भण्डारी । ‘अरुका मामुले कति धेरै माया गर्नुहुन्छ, हामीलाई किन यस्तो व्यवहार गर्नुहुन्छ ? बच्चाहरूको यही प्रश्नले मन चसक्क हुन्छ, र भित्रैदेखि मन भक्कानिएर आउँछ ।’ यो भनाई उनै संघर्षशील महिला भण्डारीको हो । उनी ती महिला हुन्, जसले पितृ सत्तात्मक समाजको हरेक प्रश्नको सामना गर्दै खुड्किलाहरु पार गरी लोक सेवाबाट न्याय सेवा अधिकृतमा नाम निकालिन् ।
वि.सं २०४४ साल माघ १८ गते सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाको एक गरिब परिवारमा उनको जन्म भयो । गाउँले परिवेश, गरिबीको मारमा परेको समाजमा जन्मिएकी उनले ४ वर्षको ठूलो घटना भोगिन् । अर्थात, बुवालाई गुमाइन् । बाल मष्तिकमा परेको असर अहिले पनि उत्तिकै ताजा छ ।
आर्थिक भार थेग्न गाह्रो भएको हिराको परिवारमा मूल अभिभाव नै नभएपछि दुःख र व्यथाले कहिले साथ छाडेन । तर, उनकी आमा राम प्यारी भण्डारीले त्यो समयमै एसएलसी पास गरेकी थिइन् । राम्रो पढाई भएकी उनकी आमा गाउँमै प्रौढ शिक्षा र सिलाइबुनाइको तालिम दिने, शिशु स्याहार मा पढआउने काम पाइन् । उनको परिवारमा थोरै भए पनि आमाको कमाईले राहात दिएकै थियो । शिक्षण पेशाकै क्रममा उनकी आमा वि.सं ०५५ सालमा निजामती सेवामा प्रवेश गरिन्, यो नै उनीहरूको परिवारमा केही सुखद क्षण बन्न पुग्यो ।
हिरासहित उनकी आमा, बहिनी र भाइ गरी परिवारमा ४ जना थिए । चारै जनाको पूरा जिम्मेवारी आमाको काँधमा थियो । उनी ती दिनहरू सम्झिदै भन्छिन्, ‘आमामाथि हाम्रो जिम्मेवारी थियो, कठिन परिस्थितिका साथ उहाँले यो अवस्थासम्म ल्याउनु भयो, धेरै संघर्ष गर्नुभयो, हाम्रा लागि आमा र बुवा उहाँ नै हुनुहुन्थ्यो ।’ वर्तमान अवस्थामा समेत एकल महिलाप्रति गरिने व्यवहार फरक छ । त्यसबेला यो झनै बढी नै थियो । उनकी आमाले समाजको हेपाह व्यवहार नसहेकी होइन । तर, संर्घषसँग जुध्न र सफलता हासिल गर्न कसैले रोक्न सकेनन् । आमाले गरेको संघर्ष नै उनको जीवनमा ‘रोल मोडल’ बन्न पुग्यो । दुःख, पीडाको अवस्थामा आफ्नो संघर्षलाई रोक्नु हुँदैन भन्ने आत्मबल आमाबाट नै पाएको उनी बताउँछिन् ।
शिक्षा र सुरक्षाको लागि विवाह…
आमाको संघर्षबाट पाठ सिकेकी हिरालाई शिक्षा नै सबैभन्दा ठूलो धन हो भन्ने लाग्थ्यो । उनले गाउँकै विद्यालयबाट २०६० सालमा एसएलसी उत्तीर्ण गरिन् । उनले बाँकी पढाईलाई निरन्तरता दिने सोचे पनि घरको अवस्था र समाजको नजरबाट पूरा गर्न सकिनन् । उनले भनिन्, ‘मेरा लागि पढाई नै सबै थोक लाग्थ्यो, तर घरको आर्थिक अवस्था र समाजले महिलाप्रति देखाउने कुदृष्टिले उच्च शिक्षा अध्ययन गर्ने सपना त्यसै निमोठिए ।’सोही अवस्थामा उनलाई काभ्रेबाट विवाहको प्रस्ताव आयो । विवाहको प्रस्तावले उनी हच्किइन् । तर, उनका लागि विवाहको प्रस्ताव सपना साकार बनाउने सम्वाहक बनेर आयो । आफूलाई माग्न आएको केटालाई उनले सोधेकी थिइन्, ‘विवाहपछि मैले पढ्न पाउछु ?’
केटाले मुस्कुराउँदै जवाफ दिए, ‘पढ्न चाहनु हुन्छ भने पढाउँछु ।’

त्यसपछि कुरा मिल्यो । १७ वर्षीय हिराले २०६१ सालमा यादव प्रसाद पोखरेलसँग विवाह गरिन् । त्यसपछि श्रीमानले पढ्नका लागि सहयोग गरे । ‘श्रीमानले मेरो इच्छामा निक्कै सहयोग र हौसल्ला दिनुभयो, सफल पुरूषको अगाडि महिलाको हात हुन्छ भनेझैँ मेरो सफलतामा पनि उहाँ (श्रीमान)को हात छ,’ उनले थपिन्, ‘मलाई पढाउन श्रीमानले खेलेको भूमिकाले नै आज यो सफलता मिलेको हो ।’ विवाहपछि नै उनले अंग्रेजीमा स्नातक र ग्रामीण विकासमा स्नातकोत्तर गरिन् । ‘मेरो पढ्ने इच्छा र सुरक्षाकै लागि मैले विवाह गरेको थिएँ,’ उनले भनिन् ।
समाज सेवाप्रतिको मोह…
आमाको पीडा र आफूले सहेको दुःखले होला हिरा समाजसेवामा सानैदेखि निकै चासो राख्थिन् । अप्ठायारोमा परेकालाई सहयोग गर्दै आइन् । अरुको दुःखलाई आफ्नो सम्झने उनले अग्नि हिंसा पीडित नेपाल नामक संस्था(एनजिओ)मा ५ वष कार्यक्रम अधिकृत भई काम गरिन् ।
उनले भनिन्, ‘सेवा गर्ने भावना र हजुरआमा (कान्छि भण्डारी)ले सिन्धुपाल्चोकमा महिला बेचबिखनविरुद्ध गरेको कामको प्रेरणाले पनि मलाई समाज सेवी बन्ने इच्छा जगाएको थियो ।’ एनजिओमा काम गर्दै गर्दा उनले धेरैको व्यथा र कथालाई नियाल्ने मौका पाइन् । ‘मैले त्यस संस्थामा रहेर काम गर्दा धेरैको दुःखलाई नकिजबाट बुझ्ने मौका पाए, तर दुःखलाई सुखमा परिणत गर्न सकिनँ ।’
यात्रा मोड्ने ट्रनिङ पोइन्ट…
एनजिओको जागिरे भएर उनले भोगेका कथा अनेक थिए । कानुन छ, तर त्यो दुःखी र निर्धाको हकमा थिएन । ठूलालाई चैन र सानालाई ऐनको अवस्था उनले एनजिओका काम गर्दा नजिकबाट देखिन । त्यसपछि उनको मनमा कानुन विषय पढ्ने रहर जाग्यो ।
समाज सेवा भनेको दुःख बोक्ने मात्रै रहेछ । यो दुःखलाई पार लगाउनको लागि त कानन बमोजिम नै अगाडि बढ्नुपर्ने रहेछ भन्ने आत्मबोध भएपछि उनले कानुन पढ्ने मोह जाग्यो । त्यसपछि उनी कानुन पढ्न लागिन । २०७३ सालमा एलएलबीमा भर्ना भइन् । उक्त तहको पढाई सकेसँगै अधिवक्ता लाइसेन्स परीक्षा दिइन् । पास गरिन् । त्यसपछि उनको मन लोक सेवातिर सोझियो ।
आफू सुत्केरी भए पनि पढ्न सक्छु भन्ने आत्मबलका साथ २ महिनाको बच्चालाई घरमा राखेर ट्युसन कक्षा लिन थालिन् । ‘कस्तो निर्दयी मान्छे, २ महिनाको नानीलाई दुध खुवाएर म नियमित कक्षामा सहभागी हुन्थे,’ उनले भनिन् । उनले आफ्नो बच्चाको लालन पालनदेखि हुर्काउने जिम्माका साथै लोक सेवा तयारी एकैपटक गरिन् । जुन आफैमा कष्टकर थियो । सोही कष्टको फल उनले लोक सेवाको न्याय सेवा अधिकृतमा नाम निकालिन् ।
बालबालिकासँगकाे दुरी…
लोक सेवामा नाम निकाल्नु हिराको लागि निकै कष्टपद क्षण थियो । जसमाथि परिवार र बालबच्चाको भविष्य जोडिएको थियो । उनले आफ्नो भविष्यलाई हेरेर मात्रै पुग्दैन थियो । उनले सबै समस्याका बीच लोक सेवामा नाम निकाल्न त सफल भइन । तर, लोक सेवाको तयारीदेखि नाम निस्किदासम्म उनले आफ्नो परिवार, आफन्त, नातागोता र आफ्नै बालबालिकासँग समेत धेरै दुरी कायम गर्नु परेको थियो । अध्ययनबाटै आनन्दित हुने उनको लागि किताब रस नै बनिसकेको थियो ।
आफन्त, साथी, नातागोताहरुले उनलाई ढुंगाको मुटु भएको भन्थे । ‘बालबच्चाको रेखदेखप्रतिको खासै धेरै चासो नदिने र पढाईमा मात्रै धेरै ध्यान दिने भएकाले मलाई उहाँहरुले ढुंगाको मुटु भएको मानिसको संज्ञा दिनुभएको थियो,’ उनले भनिन्, ‘चाहना त थियो, म पनि मेरो बालबच्चासँग खेलेर बसौँ, उनीहरुसँगै रमेर बसौँ, तर यसले मेरो पढाईलाई दख्खल दिन्छ भन्ने मलाई आत्मबोध भइसकेको थिए । मैले मेरो बच्चा र परिवारसँग दुरी बनाएको थिएँ । उनीहरु नजिक आउन खोज्दा हप्काउँथेँ ।’
हिराको यो भनाईहरु रोकिन पाउँदा नपाउँदै उनको आँखाका परेलीहरु रसाउँदै गए । उनले भनिन्, ‘बच्चासँगको मोह कहाँ नभएको होर, तर मोहले पढाईमा असर गर्छ भनेपछि मैले उनीहरुबीच दुरी कायम राखेँ । उनीहरुसँगको दुरीले पीडा चाहिँ दिन्थ्यो । अरुका मामुहरुले सबैलाई कति धेरै माया गर्नुहुन्छ तपाई हामीलाई किन यस्तो रुखो व्यवहार गर्नुहुन्छ ? बच्चाहरुको यो प्रश्नले मन चसक्क हुन्छ र भित्रैदेखि मन भक्कानिएर आउँछ । राति सुतेको समयमा माया गर्ने सुमसुम्याउने र हत्केलाले उनको शरीरहरु नियाल्ने गर्थे । फेरि उठेपछि उस्तै रुखो बोली गर्न बाध्य हुन्थेँ ।’

उनले बच्चासँग गरेको यो रुखो व्यवहारले बच्चाहरु अन्य बच्चाको तुलनामा अब्वल नै छन् । बच्चाहरु पनि हिराले जस्तै अध्ययन गर्ने शैलीले गर्दा उनीहरुमा तृष्ण दिमागको विकास भयो । फलस्वरुप उनीहरु अहिले अब्बल विद्यार्थीका रुपमा कहलिएका छन् ।
आफन्त, नातागोता र घरपरिवासँगको दुरीले हिरालाई एउटा असामाजिक व्यक्तिको अंकुस लगाइएको थियो । कसैको विवाह, व्रतबन्ध अथवा धार्मिक संस्कारमा सहभागी हुन नपाउँदा हिरा गैरसदस्य जस्तो हुन्थिन् र परिवारहरुसँगै सामाजिक यातनासमेत उनले सहनु परेको थियो । ‘परिवारसँगको दुरी आफैले बनाएको हुँ ’ उनले भनिन्, ‘परिवारसँग निकट हुने मन त मेरो पनि थियो तर सबै कुरा कहाँ भनेजस्तो हुन्छ र, केही पाउन केही गुमाउनु पर्छ भने झै पढाईको अगाडि परिवारलाई त्यति महत्व दिन सकिन त्यो परिस्थितिले निम्त्याएको थियो ।’
लोक सेवाको अनुभव..
लोकसेवालाई मान्छेहरु निकै ठूलो रुपमा लिन्छन् । तर हिराले भने लोक सेवालाई धेरै ठूलो रुपमा लिइनन् । उनले आफ्नो भिजनलाई ठूलो बनाएकी थिइन् । उनले लोकसेवा त्यति कठिन नभएको बताइन् । भनिन् ‘मान्छेहरुले लोक सेवालाई कठिन लिन्छन् तर होइन, जुनसुकै क्षेत्रमा पनि मिहेनत अनिवार्य हुन्छ । त्यस्तै लोक सेवाको तयारी गर्दा केही मिहेनत आवश्यक नै पर्छ । ’ काठमाडौंको बसाई, बालबच्चाको रेखदेख अनि घरका सबै कामहरुले गर्दा हिराले सबै व्यवस्थापन गरेर अध्ययनका लागि समय निकाल्नु चुनौतिपूर्ण थियो ।
‘तर म पढ्न भने रोक्दिन थिएँ, मैले बालबच्चालाई छिट्टै खाना खुवाएर छिट्टै सुत्ने र मध्यरात १ बजे उठेर पढ्ने गर्थे । रात परेपछि बच्चाहरुको होहल्ला पनि नहुने र राति खासै काम पनि नहुने भएकाले १ बजे उठेर पढ्नु नै उपयुक्त ठाने । सोही अनुरुप म अध्ययन गर्दै गएँ । मैले यतिसम्म गरेँ कि घरमा आफन्तहरु आउछन् र पढ्नलाई समस्या हुन्छ भनेर किताब र खाने कुरा बोकेर खुल्ला ठाउँमा पुग्थ्येँ । मैले पढ्ने समयमा मोबाइलको नम्बर परिवर्तन गरेँ, एक्लै बस्न रुचाउने हुन थाले त्यो सबै परिस्थितिको माग थियो,’ उनले भनिन् ।
अविश्यमरणीय क्षण..
हिराको जीवनमा धेरै अविश्मरणीय क्षणहरु छन् । त्यस्तै कहिल्यै नबिर्सने थियो द्वन्द्व कालको घटना । २०५८ सालमा माओवादी द्वन्द्व काल चल्दै थियो । उनी ८ कक्षामा पढ्थिन । पूरा नेपाललाई प्रभाव पारेको द्वन्द्वको समयमा हिरा अछुतो रहन सकिनन् । समाज परिवर्तनको लागि भनेर गरिएको उक्त द्वन्द्व हिंसात्मक रुप लिँदै थियो । ८ कक्षा पढ्दै गर्दा गोलीको छर्रा उनको आँखामा छिरेको थियो । जसकारण उनी एउटा आखा राम्रोसँग देख्दिनथिन । त्यो घटनापछि उनलाई एउटा आखाले मात्रै पढ्न सक्दिनकी भन्ने डर लाग्थ्यो । उनको आँखाको उपचार डा. सन्दुक रुइतले गरिदिए । डा. रुइतले आँखामा खासै समस्या नभएको भनेपछि उनी पढ्नमा कहिल्यै हिचकिचाइनन्, अहिले पनि उनी आफ्नो पढाईलाई निरन्तरता दिने यात्रामा छिन् ।
त्यस्तै अविश्मरणीय क्षण बन्न पुग्यो उनको छोरीको मृत्यु । सधैजसो दुःखको चक्रमा जुधिरहेकी हिराको लागि यो घटना चानचुने थिएन । उनको पहिलो बच्चा जन्मेको २ वर्षमा नै निधन भयो । जसलाई सम्झिएर उनका आखाँहरु आज पनि रसाउँछन् । उनलाई थाहा छ, गएकी छोरी फर्किएर आउँदैन । तर, मन मान्दैन् ।
जाँदा जाँदै…
हिराले गरेको संघर्ष सबैका लागि एउटा शिक्षा हो । इच्छा भयो भने सबैकुरा सम्भव हुन्छ । मान्छेले चाह्यो भने आफूले शतप्रतिशत दियो भने छोराछोरी, घरपरिवार र समाज कहिल्यै बाधा बन्न सक्दैन । यही कथनको उदाहरण बनेकी पात्र हुन्, उनी ।
उनले भनिन्, ‘भन्नेले त पागल, असामजिक लगायतका विविध संज्ञा दिन्छन् तर जहाँ इच्छा त्यहाँ उपाए भनेझै आफूले इच्छाअनुसार लगनशिलता देखायो भने पूरा हुन्छन् ।’
अध्ययनका लागि उनले सांसारिक मोहबाट २ वर्ष टाढा बसिन् । जुन असम्भव थियो । केही पाउन–केही गुमाउनु पर्छ भनेझै उनले न्याय सेवा अधिकृतमा नाम निकाल्न आफ्नो परिवारसँगको दुरी र समाजका तिरस्कार सहेकी थिइन् । सबैको सकारात्मक र नकरात्मक दुवै पक्ष हुन्छ । त्यस्तै उनले पनि संघर्ष गर्दै गर्दा तिरस्कार र सहायता दुवै पाए । जीवनमा जन्म कालदेखि नै दुःख भोगेकी उनी दुःखसँग डर मान्दिनन् ।
०००

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
प्रतिक्रिया