बुधबार, वैशाख १७, २०८२

किन फुट्यो नेकपा एमाले ?

सिपी मैनाली २०७८ भदौ ५ गते २०:२९

एमाले शुरुमा २०५४ सालमा विभाजित भयो । हामी नेताहरुले एमालेले लिएको बाटोमा सहमति जनाएनौँ । साहना प्रधान, वामदेव गौतमसहित हामीले नेताहरू मिलेर नेकपा (माले) पार्टी गठन गर्यौं । त्यसबेला ०५४ सालमा एमालेको ६ औँ महाधिवेशन भएको थियो । महाधिवेशनमा भिन्न मतका रुपमा हामीले विषय उठाएका थियौँ । खासमा महाकाली सन्धीको विषयमा पार्टीभित्र चर्काे अन्तर संर्घष थियो । हामीले महाकाली सन्धीको विरोध गर्याौं ।

महाधिवेशनमा महाकाली सन्धीको विषयमा पार्टीभित्र कुरा मिलेन । महाधिवेशनबाट माधव नेपाल महासचिवमा छानिएका थिए । अरू भिन्न मत राख्ने व्यक्तिलाई उपयुक्त संख्यामा केन्द्रीय समितिमा लिइएको थिएन । भिन्न मत राख्नेमा वामदेव गौतम, म, आरके मैनाली, सहाना प्रधान थियौँ । हामीलाई केन्द्रीय सदस्यमा आउन दिइएन, ल्याइएन ।

महाधिवेशन नेपालगञ्जमा भएको थियो । त्यो सकेर काठमाडौँमा आएपछि विरोध बढ्दै गयो । वामदेव गौतमहरू ४० प्रतिशत केन्द्रीय कमिटीमा पुर्याउन लागेका थिए । पार्टीको विवाद मिलाउन नेतृत्वको बैठकमा वामदेव गौतमले मलाई कहिले पनि लगेनन् ।

वामदेव गौतमहरू केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत पुर्याएर पार्टी विभाजन गर्ने तयारीमा लागेका थिए । त्यसलाई माधव नेपाल पक्षले उचित ठानेको थिएन । उनीहरूले नेपाली कांग्रेससँग सल्लाह भएर पार्टी विभाजन गरे । त्यतिबेला गिरिजा प्रसाद कोरालाको नेतृत्वमा सरकार थियो । सरकारमा जाने भन्ने थियो ।

सरकारमा जाने विरोध गर्ने पक्षम वामदेवलगायत उनका निकटहरूमा थियो । त्यसमा म पनि थिएँ । तर, म तीनको कोर टिममा थिएन । उनीहरूले ४० प्रतिशत पुर्याएर पार्टी विभाजन गरेर जाने उद्देश्यको साथमा गौतमहरूले कोशिस गरे छन् ।

यसको संकेत सत्ता पक्षलाई मिल्यो । त्यो कार्य गर्नुभन्दा अगाडि साहना प्रधान, आर के मैनाली, म, वामदेव गौतम लगायत ९ जना स्थायी समिति सदस्यलाई पदबाट मात्र होइन साधारण सदस्यताबाट पनि माधव नेपालहरूले निष्काशन गरिसकेका थिए ।

२०५४ फागुन २१ गते हामी राष्ट्रिय सभा गृहमा सुखानी स्मृति दिवसको कार्यक्रममा थियौँ । त्यही बेला एमाले पार्टीले कारबाही गरेर हामीलाई हटाएको सूचना आएपछि हामीले अलग राजनीति गर्ने सल्लाह गर्यो । हामीलाई फोरम चाहिन्छ भनेपछि विगतकै नेकपा मालेलाई नै पुर्नस्थापना गर्ने फागुन २१ गते घोषणा गरियो ।

फागुन २९ गते सितापाइलामा सम्मेलन वा सानो भेला गरेर हामीले नेकपा मालेको केन्द्रीय समिति बनायौँ । नीतिगत मुद्दामा विवाद बढ्दै गएरपछि संगठनामत्क उपस्थितिमा विवाद चर्कियो । संगठनात्मक उपस्थितिमा विवाद बढेपछि त्यसलाई माधव नेपाल पक्षले सुनुवाई गर्न चाहेन । अस्वीकार गर्यो । त्यस्तो स्थितिमा ४० प्रतिशत पुर्याएर पार्टी विभाजनको दिशामा बढिरहेको थाहा पाएपछि हामीलाई उनीहरुले कारबाही गरे । पार्टी विभाजित हुन पुग्यो । यो चाहिँ ५४ सालको कुरा थियो ।

मैले बाहिर देख्दा नीतिगत कुरा थियो । वास्तवमा भित्र–भित्रै सत्ता, पर्टी सत्ता र राज्य सत्ताको पनि कुरा रहेछ । त्यतिबेला मैले त्यसलाई त्यति गम्भीरताका साथ लिएको थिइन । म फरक धारको मान्छे । मैले महाकाली सन्धिको विरोधको पक्षलाई बलियो बनाउनका लागि मेरा आफ्नो वैचारिक प्लेटफर्मलाई स्थगन गरेको थिए ।

बहुदलीय जनवादको प्लेटफर्ममा सबै थियौँ । महाकाली सन्धिको विरोध गर्ने क्रममा । त्यसमा वामदेव गौतमहरू नेपाली कांग्रेससँग मिलेर बहुमत दिलाए पनि त्यहीअनुसार सत्ताधारीसँग तालमेल मिलाएर जाने कुरा भयो ।

यदि, त्यस्तो भएन भने पार्टी विभाजन गरेर भए पनि सरकारमा जाने उद्देश्यले वामदेवहरू क्रियाशील रहेछन् । त्यसबेला मलाई त्यो कुराको जानकारी दिएनन् उनीहरूले । मसँग त्यस्ता विषयमा कुरा नै हुँदैन थियो ।

तर, सामान्य ४० प्रतिशत पुर्याउने त मलाई थाहा थियो । तर, उनीहरूले नेपाली कांग्रेससँगै मिलेर पार्टी विभाजन गर्ने र पार्टी अलग बनाउने, सत्तामा जाने उद्देश्य राखेको मलाई थाहा थिएन । त्यस्तो स्थितिमा संस्थापन पक्षले कारबाही गरेको हो ।

अहिलेको एमाले विभाजन

एमालेभित्र आठौं र नवौं महाधिवेशनमा माधव नेपाल र केपी ओलीबीचको रस्साकस्सी ठूलै थियो । महाधिवेशनमा नवौंमा पार्टीमा अध्यक्ष जित्नका लागि एक अर्को पक्षको मत तान्ने खोस्ने आदि हुँदै घटना घटेको हो र उनीहरूको बीचमा सम्बन्ध तिक्ततापूर्ण रुपमा विकास भएको थियो ।

एमालेभित्र माधव नेपाल र केपी ओलीबीचको संर्घष उत्कर्षमै थियो । तर, त्यहीबेला माओवादी केन्द्रसँग चुनावी गठबन्धन बनाउने र अन्तत पार्टी एकतासम्म गर्ने प्रसताव आयो । त्यहीअनुसार उनीहरू गए । २०७४ को प्रदेश र केन्द्रीय निर्वाचनमा चुनावी गठबन्धन बनाए । सरकार संयुक्त रुपमा केन्द्रदेखि प्रदेशसम्म भलाए । पछि २०७५ जेठ ३ मा पार्टी एकताको औपचाकिर घोषणा भयो । नाम राखियो–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ।

नेकपा बनेपछि एमालेभित्रको भुसको आगो झै दन्किरहेको विवादमा माओवादी समेत थपिन आइपुग्यो । माओवादीको सिंगो एउटा पक्ष पनि विवादसँग जोडिन आइपुग्यो । त्यसलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि नझेल्न थाले । तर, पछि ओलीसँग प्रचण्डको विवाद चुलियो । उनी ओलीको विपक्षमा खडा हुन थाले । माधवको पुरानो पक्ष र माओवादीको प्रचण्ड पक्षको बहुमत भएपछि ओलीसँगको विवादले उग्र रुप लिन थाल्यो ।

सम्बन्धमा तिक्तता थप चुलियो । पार्टीभित्रै अप्ठ्यारोमा परेपछि ओलीले २०७७ पुस ५ मा संसद विघटनकै घटना घटाइदिए । उनीहरूले केपी ओलीलाई अभियोग लगाएर कारबाही गर्ने दिशामा गए । ओलीसँग सम्झौता गर्ने पक्षमा प्रचण्ड र माधव नेपाल देखिएनन् । त्यसबाट उम्कने, बच्ने केही बाटो नपाउँदा केपी ओलीले संविधानलाई नाघेर संसद विघटनको बाटो रोज्न पुगे ।

सर्वोच्चले त्यो विघटनलार्ई बदर गरेपछि विरोधको गतिविधि बढ्ने भयो । उनी जसरी पनि प्रचण्ड –माधवको बहुमतबाट उम्केर जाने प्रयत्न थिए । फागुन २३ गते सर्वोच्चले एमाले र माओवादीलाई अवैधानिक घोषणा गरिसकेपछि पहिलेका घटक अलग अलग काम गर्न थाले । एमाले एमालेकै रुपमा र माओवादी केन्द्र माओवादी केन्द्रकै रुपमा ब्यूँतिए ।

त्यसपछि एमालेमा आन्तरिक द्वन्द्व भयो । अब त्यो द्वन्द्वका क्रममा नेकपा हुँदा उत्कर्षमा पुगेको द्वन्द्वले एमालेमा पनि प्रवेश पायो । एमालेभित्रको द्वन्द्व फेरि केपी ओली र माधव नेपाल समूहका रुपमा हुन थाल्यो । र अहिले अध्यादेशको कानुनी त्यान्द्रो समाप्दै पार्टी नेताहरु अलग अलग बाटो लाग्ने गरी गए ।

पार्टी विभाजन उनीहरूले लिएको गलत कार्यदिशा, संगठन सञ्चालनको गलत विधिको परिणाम हो । २०३९ सालदेखि एमालेभित्र पार्टी सञ्चालन गर्ने विधि अराजनीतिक खालको थियो । उनीहरूले कार्यकर्ताको राजनीतिक मूल्यांकन गर्ने नभएर गुटबन्दीको आधारमा मूल्यांकन गर्ने विधि आयो । ३९ सालदेखि कार्यकर्ताको मूल्यांकन अराजनीति ढंगबाट हुन थाल्यो । गुटबन्दी बढ्यो । आफ्नो गुटलाई बलियो बनाउन राष्ट्र, जनताका स्वार्थलाई भन्दा पनि आफ्नो स्वार्थ हेर्न थालियो । राष्ट्रिय स्वार्थलाई घात गर्ने प्रवृत्ति बढ्यो । अहिले आएर गुटबन्दी झनै बढ्दै गयो ।

३९ सालदेखि सुरु भएर अहिलेसम्म लगभग २८-२९ वर्षमा त्यो निषेधमा परिणत भएको देख्छु । उनीहरूभित्रको पार्टी सञ्चालनको गुटबन्दी, राष्ट्रघाती प्रवृतिपछि अन्ततः निषेधको राजनीतिमा पुग्यो । यसले अन्ततः पार्टीलाई नै विभाजनको अवस्थामा पुर्यायो ।

अर्काे कुरा, २०४९ सालमा आउँदा एमालेको पाँचौ राष्ट्रिय महाधिबेशनबाट माक्र्सवाद बढी स्वखलित भयो । स्वखलित भएको सिद्धान्तलाई उनीहरुले क्रान्तिको सिद्धान्त बनाए । मदन भण्डारीको निधनपछि पार्टीले त्यसलाई आफ्नो मार्ग दर्शन सिद्धान्त बनायो । त्यसले गर्दा गलत र सही सारालाई पार्टीमा ल्याएको हुनाले पार्टी संख्यात्मक विस्तार त भयो । तर, निरन्तर त्यसको गुणात्मकतामा स्खलन हुँदै गयो ।

२०४९ सालमा जनताको बहुदलीय जनवादलाई त्रन्तिको सिद्धान्त मान्ने र पछि त्यसलाई मार्ग दर्शनको सिद्धान्त मानेर जाने कुराले संख्यात्मक वृद्धि भयो तर गुणनात्मकरुपमा ठूलो स्खलन आयो ।

यी दुई कुरा कम्युनिष्टको आन्दोलनमा मुख्य समस्या हो । अहिले आएर यी दुई कुराको संयोजनले अन्ततः पार्टीभित्र विवाद, द्वन्द्व र विभाजनमा आइपुगेको छ । गलत नीति लिनु र तिनीहरूको परिणाम स्वरुप विभाजन हुनु स्वभाभिक रुपमा कम्युनिष्ट आन्दोलनलाई ठूलो नोक्सान भयो ।

जति भने पनि गल्तीलाई उनीहरूले महुसुस गरेनन् । न त्यो गल्तीलाई केपी ओली पक्षले महसुस गर्यो न माधव नेपाल पक्षले गर्यो । गलत कुरामा नै उनीहरू निरन्तर अगाडि बढ्दै गए । अन्ततः त्यसैले अहिलेको अवसानको अवस्था एमालेमा निम्ताइदियो ।

अब घटना नै भएपछि त्यसले नोक्सान गर्ने नै भयो । उनीहरूलाई यो ठाउँमा पुर्याउन देशभित्रका कम्युनिष्ट विरोध दक्षिणपन्थी शक्तिहरू, बाहिरका नेपाल विरोधी शक्तिहरूको भूमिका छ ।

अहिले यो विभाजनको निम्ति शेर बहादुर देउवा नेतृत्वको सरकारले २० प्रतिशत सांसद वा केन्द्रीय समितिको बलमा पार्टी बनाउन सकिने अध्यादेश ल्याइदिए । एमाले विभाजनकै लागियो खालको अध्यादेश सरकारमा बस्नेले नै ल्याइदिए ।

उनीहरुले नै भनेका थिए, अहिलेको व्यवस्था स्थिरताको व्यवस्था थियो । तर, ढोल पिटिएको जस्तो त बनेन । त्यसको परिणाम के होला ? त्यसमा के प्रभाव पर्ला भनि वास्ता नगरिकन अध्यादेश सरकारले ल्याइदियो । र त्यसले एमालेलाई विभाजनमा पुराइदियो ।

वाम पार्टी फेरि मिल्न सक्छन् ?

कम्युनिष्टहरु अहिले पनि विभिन्न चिरामा छन् । यी पार्टीहरुबीचको धुव्रीकरणको बहस पनि बेलाबेलामा उठ्ने गर्छ । हामी अब एउटै धारमा हुन सक्छौँ ? प्रश्न छ । एमाले विभाजित भएर २०५४ सालमा हामीहरुले माले बनायौँ । २०५८ सालमा हामीबाट छुटेर वामदेवहरु एमालेमै गए । मैले गलत सिद्धान्त गलत मान्यतालाई बोकेर म जादैन भने । बाहिरै बसेँ । म गइनँ । मलाई नबोलाएका होइनन् । बोलाएका हुन् । मलाई कर नगरेका होइन् तर मैले संख्या बढाउनुको कुनै अर्थ छैन भनेर एमालेमा गइन् ।

तपाइहरुले छोड्नु भएको छ र राष्ट्र र जनताको हित गर्ने नीतिमा घात गर्नु भएको छ । गुटबन्दी गर्नु भएको छ । त्यस्तो ठाउँमा म गएर मैले पिल्सनेबाहेक केही पनि हुदैन । नत मैले काम गर्न पाउछु नत विवाद भइरहे पार्टीले काम गर्न दिन्छ । त्यही भनेर म एमाले फर्किन ।

वामदेव, माधव नेपालको समूह भयो । केपी ओलीको समूह भयो । अध्यादेश रह्यो भने अरु समूह निस्कने हुन् की एमालेबाट । त्यो म अहिले भन्न सक्दिनँ ।

३९ सालमा पार्टी सञ्चालन विधिमा जुन गम्भीर गल्ती भएको थियो र त्यो गल्ती बढ्दै बढ्दै अराजनीति नेता कार्यकर्ताको मूल्यांकन हुने, इमान्दार नेता कार्यकर्ताको मूल्याकंन नहुने, गुटबन्धी चलाउने, गुटको फाइदाका लागि सबै चिज गर्ने तर देश र जनताको स्वार्थ प्राथमिकतामा नपर्ने भएपछि, माक्र्सकवादबाट स्खलन हुने सिद्धान्त अपनाउने त्यसलाई मार्गदर्शक बनाउने र त्यो अनुरुप माक्र्सवादी चरित्र चाहिँ घुमाउँदै जाने जुन काम भएको छ त्यसको समीक्षा हुनु पर्छ ।

माले एमालेको इतिहासमा त्यो समीक्षा हुनु पर्यो । नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास ७१ पुगेर ७२ लागेको छ । यसबीचमा यो आन्दोलनमा जे जति राम्रा कुराहरु समाजको विश्लेषण, क्रान्तिको विश्लेषण र संयुक्त आन्दोलनको कार्य नीतिलाई लिएर त्यसलाई प्रयोग गर्दै कम्युनिष्ट आन्दोलनले पाउनु पर्ने उपलब्धी पायो र शिखरमा पुग्यो । त्यो अहिले तल झरयो ।

नेपाली क्रान्तिको विशिष्ट बाटो के हो ? भन्ने कुरामा स–साना परिवर्तन गर्दै अनुकूल समयमा ठूलो आमुल परिवर्तन गर्ने र समाजवादको ढोका खोल्ने हाम्रो बाटो रहेछ यो थाहा नपाउँदा सिंगो कम्युनिष्ट आन्दोलन नै एक किसमले यो हरि बतासको पच्छी जस्तो भएको छ ।

(मेराे न्युजकर्मी हरि भट्टसँग गरेको कुराकानीकाे सम्पादित अंश)

प्रतिक्रिया