पहिरोमा बेपत्ता तीन जनाको शव फेला
काठमाडौँ । पहिरोमा परी बिहीबार रातिदेखि बेपत्ता भएका तीन जनाको शव फेला परेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको हुप्सेकोट गाउँपालिका ४ को माथिल्लो चार घरेमा अविरल वर्षाका कारण शुक्रबार बिहान २ बजेको पहिरोमा परी तीन जना बेपत्ता भएका थिए ।
उनीहरूको शनिबार दिउँसो शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका सूचना अधिकारी मधुसुदन सिंहले जानकारी दिए । शुक्रबार दिनभरि सुरक्षाकर्मीसहित स्थानीयवासीले खोजी गर्दासमेत पहिरामा परेका फेला नपरेपछि आज ५० जना थप सुरक्षाकर्मी परिचालन गरिएको थियो । पहिरामा पुरिएका एकै घरका तीन जना बेपत्ता भएका थिए ।
हुप्सेकोट–४ माथिल्लो चारघरेका हस्तबहादुर पुलामीकी श्रीमती ४० वर्षीया धनमाया पुलामी, नातिनी सात वर्षीया भूमिसरा पुलामी र ६ वर्षीया देउमाया पुलामी राति सुतिरहेको समयमा एक्कासी आएको पहिरामा परी बेपत्ता भएका थिए । हस्तबहादुर पुलामीको भने घाइते अवस्थामा उद्धार गरिएको थियो ।
प्रतिक्रिया