निधिको बर्हिगमनपछि ‘देउवा क्याम्प’मा के असर पर्छ ?

काठमाडौँ । गत भदौ ११ गते नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले थापागाउँमा सम्पर्क कार्यालयको उद्घाटन गर्दै खचाखच कार्यकर्तामाझ १४ औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्ने घोषणा गरे । उनको घोषणासँगै प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवासँग बाटो अलग्गिएको छ ।
विं.सं. २०३६ सालमा कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको जनकपुर अधिवेशनबाट सुरु भएको सम्बन्धमा देउवा र निधिबीचको बाटो योसँगै अलग भएको छ । त्यो महाधिवेशनबाट देउवाले निधिलाई नेविसंघको जिम्मेवारी उत्तराधिकारीका रूपमा सुम्पेका थिए ।
निधिले देउवालाई आफ्नो सम्पर्क कार्यालय उद्घाटन समारोहमा बोलाएका थिए । तर, देउवा आएनन् । धेरैले सम्पर्क कार्यालय उद्घाटन गरेर उम्मेदवारी घोषणा नगर्दासम्म निधिको उम्मेदवारीलाई ‘बार्गेनिङ’ भनिरहेका थिए । कांग्रेसको संस्थापनका प्रायः नेतामा महाधिवेशन हुने बेलासम्म दुई नेता मिल्ने आशा थियो । निधिले सम्पर्क कार्यालय उद्घाटन गरेसँगै दुई नेता मिल्ने आशा मरेको धेरै नेताको ठम्याई छ ।
निधिले आफूलाई देउवाले नेविसंघमा जस्तै उत्तराधिकारी बनाउँछन् भन्ने आशा राखेर देउवालाई सभापतिको उम्मेदवारीमा प्रस्तावक बनिदिन भन्दै प्रस्तावसमेत राखेका थिए । कांग्रेसको २०७२ सालमा सम्पन्न १३ औँ महाधिवेशनमा निधिले देउवालाई योपटक तपाईलाई सघाउँछु, अर्कोपटक मलाई सघाउन पर्छ भन्ने प्रस्ताव राखेका थिए । निधि भन्छन्, ‘यो पटक मैले तपाईलाई सघाउँछु, अर्कोपटक तपाईले मलाई सघाउन पर्छ भनेको थिए । मैले बचनबमोजिम गरे । उहाँले त्यो बचन पूरा गर्नु भएन ।’
निधिले आफूले नेविसंघमा जस्तै उत्तराधिकारी बन्न चाहेको बताए पनि त्यो गर्न देउवा तयार नरहेको बताए । ‘म तपाईको उत्तराधिकारी बन्न चाहन्छु, तपाईको समर्थनमा सभापतिको उम्मेदवार बन्न चाहन्छु भन्ने प्रस्ताव राखेको थिए,’ निधि भन्छन्, ‘तर उहाँले तपाईंलाई पनि लड्ने अधिकार छ, लड्नुहोस्, म पनि लड्छु भन्नुभयो, त्यसपछि तयारीमा लागे ।’

विं.सं. २०३६ सालमा देउवाको उत्तराधिकारी भए पनि त्यसबेला कांग्रेसमा निधि र देउवाको लाइन फरक फरक थियो । देउवा २०५२ सालसम्म कोइराला परिवारको लाइनमा थिए । निधि भने सन्त नेता कृष्णप्रसाद भट्टराईको लाइनमा थिए । निधिका बाबु महेन्द्रनारायणका कारण निधि कृष्णप्रसाद भट्टराईको सानिध्यमा राजनीतिलाई अगाडि बढाएका हुन् । त्यसबेलासम्म दुई गुटको राजनीति चल्ने कांग्रेसमा देउवा कोइरालातिर र निधि भट्टराईतिर हुन्थे ।
विमलेन्द्र निधिले यो पटक आफू महाधिवेशनमा सभापतिको उम्मेदवार बन्नबाट पछाडि हट्न नसक्ने सार्वजनिक रुपमै बोलिसकेका छन् । अब निधिलाई तामझामका साथ उम्मे्दवारी घोषणा गरेपछि फर्कन गाह्रो छ।
देउवा ०५२ भदौ २७ मा पहिलोपल्ट प्रधानमन्त्री बनेपछि निधि र देउवा एउटै समूहमा पुगे । प्रधानमन्त्री बनेपछि देउवाको तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग खटपट हुँदा पार्टीभित्रको वैकल्पिक शक्तिमा उदाउने प्रयास गरे । त्यो विषयमा कोइरालालाई चित्त बुझेको थिएन । कोइराला आफैले देउवालाई प्रधानमन्त्री बनाएपछि हटाउने प्रयास गरेपछि देउवा नेता भट्टराईसँग जोडिन पुगे । त्यसपछि भट्टराईसँगै निधिसँग पनि देउवाको सहकार्य सुरु भयो । आफू नेतृत्वको मन्त्रिपरिषदमा देउवाले निधिलाई पहिलोपटक सामान्य प्रशासन मन्त्री नियुक्त गरे ।
त्यसपछि विस्तारै गाढा बन्दै गएको उनीहरूको सम्बन्ध ०५९ मा देउवाले पार्टी विभाजन गर्दा पनि टुटेन । देउवाले कांग्रेस विभाजन गरेर नेपाली कांग्रेस (प्रजातान्त्रिक) बनाउँदा देउवासँगै गएका निधि ११ औँ महाधिवेशनमा महामन्त्री भए ।
१३ औँ महाधिवेशनमा देउवा सभापतिको उम्मेदवार बन्दा निधिले आफू केन्द्रीय सदस्यको उम्मेदवार भएर भरपुर सहयोग गरे । देउवालाई पार्टी विभाजनमा साथ दिए पनि पार्टी एकीकरण भएपछि भएको १३ औँ महाधिवशेनमा नेताहरू नारायण खड्का, मिनेन्द्र रिजाल, बलबहादुर केसी, प्रकाशमान सिंह, दीपकुमार उपाध्यायलगायतका नेताले साथ छाडे । निधि अविचलित रूपमा देउवासँगै रहे । अवसर र लाभका निम्ति ‘क्याम्प’ परिवर्तन नगरी देउवालाई पार्टी नेतृत्वमा पुर्याउन लागे । त्यसको गुन तिर्दै देउवाले निधिलाई उपसभापति बनाए ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित गृहमन्त्री निधि भए । त्यसबेलामा भने नेपाल प्रहरीको महानिरीक्षक पदमा देउवासँग निधिको मनमुटाव भयो । निधिले नवराज सिलवाललाई र देउवाले जयबहादुर चन्दलाई महानिरीक्षक बनाउन चाहेपछि सम्बन्धमा केही दरार आयो ।
यही द्वन्द्वका कारण निधिले गृहमन्त्रीबाट राजीनामा दिए । तर, उनको राजीनामा स्वीकृत भएन । यो विषयलाई कांग्रेस नेताहरूले सल्टाए । त्यसपछि देउवा र निधिको सम्बन्ध ठिकै थियो । २०७४ मा भएको तीन तहको निर्वाचनमा विषेशगरी प्रदेश २ मा निधिका कारण कांग्रेस कमजोर भएको आरोप कांग्रेस संस्थापनमै चल्ने गरेको छ । उनले तत्कालीन राजपा र संघीय समाजवादी पार्टीसँग तालमेल गर्न मानेको भए पार्टीको प्रतिनिधि सभामा १६ सिट आउने नमान्दा त्यसको आधा मात्रै आएको नेताहरूले टिप्पणी गर्दै आएका छन् ।
निधि राजनीतिक ‘करिअर’मा विरासतको छायामा स्थापित भएका हुन् । २०५१ को मध्यावधि निर्वाचनमा बाबुले छाडेको धनुषा–४ बाट उनी पहिलोपटक सांसद भए । २०५६ को निर्वाचनमा सोही क्षेत्रबाट पराजीत भएका उनी २०६४ र २०७० को संविधानसभा निर्वाचनमा धनुषा–३ बाट विजयी भए ।
मधेसी समुदायका भए पनि कांग्रेसको सिंगो पार्टी संगठनमा छाएका नेता निधि पछिल्लो समय जातिवादी रूपमा देखा परेको आरोप लाग्ने गरेको छ । संविधान जारी हुनुअघि उनले पार्टीको संसदीय दलमा पेश गरेको जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण, नागरिकता वितरणलगायतका मागले कांग्रेसभित्र हल्लीखल्ली भएको थियो ।
२०६३ सालको मधेस आन्दोलनमा सबैभन्दा धेरै सम्प्रदायिक भावना जनकपुरमै भड्कियो । पहाडी समुदायका दुई हजारभन्दा बढी बासिन्दा विस्थापित भए । पछिल्लो मधेस आन्दोलनमा पनि आन्दोलनकारीलाई उक्साउने काम गरेको, पार्टीभित्र ’मधेसी नेता’का रूपमा बढी पेश हुन थालेको र विरोधीप्रति बढी ’असहिष्णु’ भएको आरोप निधिमाथि छ ।

अब के हुन्छ ?
बाटो अलग अलग भएपछि १४ औँ महाधिवेशनमा दुवै नेतालाई गाह्राे हुने भएको छ । देउवाले पनि महाधिवेशनमा सभापति बन्ने बताइसकेका छन् । निधिले सम्पर्क कार्यालय नै खोलेर प्रक्रिया अगाडि बढाइसके ।
निधिले सबैभन्दा अगाडि तामझामका साथ कार्यालय उद्घाटन गर्नुको एउटा कारण आफ्नो पक्षमा ह्वीप बढ्छ भन्ने हो । त्यसमाथि देउवाका विश्वास पात्रका रुपमा चिनिएका भरत शाह उनको कार्यक्रममा गए । उनी अहिले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति पनि हुन् । त्यस्तै देउवाका सभापति भनेर चिनिएका कांग्रेस ललितपुरका सभापति मदनबहादुर अमात्य र देउवाकै गृह जिल्ला डडेलधुरा कांग्रेस सभापतिसमेत उनको कार्यक्रममा देखिए । यसले केही ह्वीम निधितर्फ जान्छ कि भन्ने आँकलन छ ।
अर्कोतिर निधिको विचार भनाई मधेसमा आफू नभएपछि देउवालाई अप्ठ्यारो पर्छ भन्ने छ । तर, देउवानिकट नेताहरू त्यो मान्न तयार छैनन् । प्रदेश दुईका आठ जिल्लामा महाधिवेशन प्रतिनिधि संख्या आठ सय हुन्छ । एउटा प्रतिनिधिसभाबाट २५ जनाको दरले महाधिवेशन प्रतिनिधि चुनिन्छन् । प्रदेश २ मा ३२ निर्वाचन क्षेत्र छ । २५ जनाका दरले ८ सय प्रतिनिधि यो प्रदेशबाट कांग्रेसको महाधिवेशन प्रतिनिधि चुनिन्छन् ।
त्यसमा आफ्नो चार सय हुन्छ भन्ने निधिको आँकलन छ । तर, देउवानिकट नेताहरू त्यो नपुग्ने दाबी गर्छन । त्यहाँ देउवाको पक्षमा चार सय पुग्ने र निधिको पक्षमा दुई सय नपुग्ने बताउँछन् । हुन त निधिको उम्मेदवारी घोषणा कार्यक्रममा जनाधार भएका प्रदेश २ बाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने महेन्द्र यादव, आनन्द ढुंगाना, उमाकान्त चौधरी, किरण यादव, शम्भुलाल श्रेष्ठ, चित्रलेखा यादवसहितका नेताहरू देखिएनन् ।
निधिले देउवासँग हुँदा आफ्नो गुट बनाएनन् । तसर्थ उनीसँग विश्वास पात्र भनेर चिनिने नेता छैनन् । उनको पकड क्षेत्र भनेको मधेस मात्रै हो । पहाडमा उनलाई नेता मान्ने नगन्य मात्रामा मात्रै छन् । केन्द्रीय समितिमा अहिलेका केन्द्रीय सदस्यले समेत चार-पाँच जना आफू पक्षका नेता बनाएका हुन्छन्, त्यो उनमा देखिएन ।
उनको मुख्य शक्ति भनेको भारत हो । भारतमा उनी आफूले नभइ प्रदीप गिरीले मिलाउने गरेका छन् । गिरी अहिले भारतमा स्वास्थ्य उपचारका लागि भन्दै बसेका छन् । तर, उपचार स्वास्थ्यको हो कि राजनीतिको भन्नेमा दोधार नै छ । किनकी गिरीलाई भेट्न भन्दै निधि पनि भारत पुगेर आएका थिए । त्यसमा अहिले देउवाको हातमा सत्ता छ । भारतले गर्ने भनेको स्वार्थको राजनीति हो । निधिले जित्ने सम्भावना नदेखेकाले भारतले निधिलाई भन्दा सत्तालाई नै हेर्छ । त्यसमाथि प्रदीपले भारतमा सोसलिष्टको साथ पाउँछन् । अहिले भारतको सत्तामा भारतीय जनता पार्टी (भाजपा) छ । यसले समेत फरक पर्ने छ ।
र, अर्काे हो कोलिसन । कोलिसनका लागि निधिले महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग पाँचपटक वार्ता गरे । त्यो वार्ता असफल सिद्ध भइसक्यो । नेता रामचन्द्र पौडेलले पनि आफूलाई सहयोग गर्न भनिरहेका छन् । बाँकी, डा. शेखर कोइरालासँग । उनले योपटक आफू पछाडि हट्न नसक्ने सार्वजनिक रुपमा बोलिसकेका छन् । अब निधिलाई तामझामका साथ उम्मेदवारी घोषणा गरेपछि फर्कन गाह्रो छ ।
अन्त्यमा निधिको मुख्य ध्येय देउवालाई सभापतिमा रोक्ने हो । देउवालाई रोक्न कोलिसन गर्न पर्छ । आफूले पहिला तामझाम साथ घोषणा गरेपछि फर्कन गाह्रो । त्यसमाथि अहिलेको संस्थापनबाट देउवाबाहेक निधिमात्रै हुन् । तर, अर्को समूहबाट कम्तिमा तीन उम्मेदवार हुने सम्भावना छ । यस्तो अवस्थामा देउवाले शक्ति र नेतृत्व हातमा परेको मौका लिएर पहिलो चरणमै ५० प्रतिशत बढी मत ल्याउनेगरी तयारी तीव्र रुपमा अगाडि बढाएका छन् । उनलाई त्यस विषयमा व्यवस्थापन गर्न सजिलो छ । किनभने उनले सत्तामा र पार्टीमा दुवैमा नेतालाई मौका दिन सक्छन् ।
देउवा निकट एक नेता भन्छन्, ‘उपसभापति निधि बाहिरिनु एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई रूखबाट दुई चार पात झर्दैमा रुख कमजोर हुँन्न भनेजस्तै हो, पात झरेपछि झन बलिया हाँगा पलाउँछन् ।’
तर निधि निकट नेता भने निधि बिनाका देउवाले महाधिवेशनमा नजित्ने ठाेकुवा गर्छन् । ति नेताले भने, ‘ निधिकाे मत र शक्ति कति हो महाधिवेशनमा देखिन्छ ।’
प्रतिक्रिया