शनिबार, वैशाख २७, २०८२

युनिसेफको जागीर छाडेर ‘बेली डान्स’मा रमाएकी बिनु

नरेन्द्र रौले २०७८ भदौ १९ गते १२:५४

सानै उमेरमा नाँच्न हुरुक्कै हुन्थिन्, सिन्धुपाल्चोक लामोसाँघुकी बिनु शाक्य । बलेफी र लामोसाँघु क्षेत्रमा आयोजना हुने कार्यक्रममा उनले सहभागी जनाउँदै आइन् । जति–जति कार्यक्रममा उनले भाग लिइन्, रित्तो हात कहिल्यै फर्किनु परेन । केही न केही उनको हातमा उपाधि हुने गथ्र्यो । ती हरेक कार्यक्रममा जाँदा उनको आमाको साथ पनि कहिल्यै छुट्दैनथ्यो । जसले उनलाई हौसला र उर्जा मिलिरह्यो ।

बालापनका ती दिनहरूपछि पनि बिनुले नाँच्न छाडिनन् । नजानिदो पाराले नृत्यसँग उनको गहिरो प्रेम बस्यो । टेलिभिजनमा कोही नाँचेको देख्यो कि उनलाई त्योभन्दा राम्रोसँग नाँच्न मन लाग्थ्यो । मनमा इर्ष्या हुन्थ्यो, त्योभन्दा बढी समपर्णको भाव पलाउँथ्यो । २३ वर्ष नृत्यसँग प्रेम परेपछि उनी यसबाट अलग हुने सोच्न सक्दिनन् ।

एसएलसी परीक्षा दिएपछि जिल्लामा नै उनले नृत्य सिकाउन थालिसकेकी थिइन् । त्यसपश्चात् राजधानी छिरेकी उनी अध्ययनसँगै नृत्यलाई पनि अघि बढाइन् । बोर्डिङ स्कुलमा पढाइन् । सहकारीमा काम गरिन् । तर, नृत्यलाई उत्तिकै प्रेम गरिरहिन् ।

नेपालमा ‘बेली डान्स’को नाम आउँदा बिनुको नाम छुट्दैन । त्यसो त उनले नाच देखाउन थालेको धेरै समय भएको छैन । तीन वर्षयता भने बेली डान्समै उनको ध्यान छ । यसबीच मेला, महोत्सव र सामाजिक सञ्जालमा उनको उपस्थितिले राम्रो स्थान पाउँदै आएको छ । अब त उनीसँग बेली डान्स सिकाइदिन आग्रह गर्नेहरू धेरै भएका छन् । ‘नाँच्न सजिलो छ, तर नचाउन कठिन छ,’ उनले आफ्नो अनुभव सुनाइन्, ‘बेली डान्स सिकाइदिन भन्नेको संख्या बढेको छ ।’

युट्युब हेरेर बेली डान्स सिकेकी उनको दिनचर्या ‘लक डाउन’अगाडिसम्म निकै व्यस्त थियो । कार्यक्रममा सहभागी बन्न उनी नयाँ–नयाँ ठाउँ पुग्थिन् । लक डाउनपछि सबै काम ठप्प भयो । तर, उनले समयको सदुपयोग गरिन् । भारतको बेली डान्सर दिपाली वशिष्ठसँग अनलाइनबाट उनले बिगिनर्स लेभलको कक्षा लिइन् ।

यो कक्षामा भारतीय, अफ्रिकन र चाइनिजहरू थिए । नेपालको तर्फबाट उनी एक्लै । बिगिनर्स लेभलको कक्षाको अन्त्यमा भएको प्रतिस्पर्धामा उनी पहिलो भइन् । बेली डान्स अरुभन्दा महंगो छ । सिक्न पनि गाह्रो छ । यसमा मिहिनेत धेरै पर्छ । तर, उनी आफूलाई गड् गिफ्टेड् ठान्छिन् । ‘कुनैबेला त कसरी सकेँ हुँला जस्तो लाग्छ,’ उनले सुनाइन्, ‘म पैसाभन्दा पनि सन्तुष्टिका लागि डान्स गर्छु ।’

२९ वर्षको उकालो लाग्दै गरेकी उनी एक्लै जिन्दगी चलाइरहेकी छन् । तत्काल विवाहको कुनै योजना नरहेको बताउँछिन्, उनी । वैवाहिक जीवनपछि डान्सलाई अघि बढाउन सकिन्छ कि सकिदैन भन्ने दोधारमा छिन् ।

एक दशकअगाडि सिजन मिडियाले आयोजना गरेको कार्यक्रममा बिनुलाई प्रस्तुति दिने अवसर मिल्यो । त्योबेला उनको पारिश्रमिक थियो, २ हजार रुपैयाँ । अहिले त उनले एउटै कार्यक्रममा जाँदा ३० हजार रुपैयाँसम्म पारिश्रमिक लिन्छिन् ।

लक डाउनमा अनलाइन व्यापार

लक डाउनमा के गर्ने भन्ने कुरामा घोत्लिदा बिनु र उनका साथीहरूले आइडिया निकाले । अनलाइन व्यापार गर्ने । अहिले उनको अनलाइन सपिङले सारी, कुर्ता, लेहेंगा जस्ता लेडिज सामानहरू डेलिभरी गर्ने काम गर्छ ।

यस्तै बिनुले बेली डान्सका लागि चाहिने सामान, आवश्यक पहिरन तयार पार्ने र बेच्ने काम गर्छिन् । बेली डान्सको साथमा व्यवसायलाई पनि अघि बढाउने उनको लक्ष्य छ ।

सामाजिक सञ्जालमा सक्रियता

बिनु अचेल टिकटकमा निकै सक्रिय छिन् । उनलाई टिकटकमा ५ लाखले फलो गरेका छन् । एउटै भिडिओले २७ लाख भ्युज पाएकी छन् । नेपालभन्दा मलेसिया, युएई, भारत, पाकिस्तान, बहराइन जस्ता देशमा उनका फ्यानको संख्या बढेको छ । अझ, विदेशमा कतिपय क्लब सञ्चालकले त महंगो तलबमा उनलाई कामका लागि प्रस्ताव राख्ने गरेका छन् । तर, उनलाई नेपाल नै प्यारो छ । अरुको देशमा गएर काम गर्नुभन्दा स्वदेशमै काम गर्नु ठिक ।

यस्तै, फेसबुक र इन्स्टाग्राममा सक्रिय छिन्, उनी । यी प्लेटफर्ममा उनको बलियो उपस्थिति छ । डेढ घण्टा लगाएर उनी भिडिओ बनाउँछिन् । एकै पटक १०-१५ वटा भिडिओ बनाएर एडिट गरेपछि मन लागेका बेला सामाजिक सञ्जालमा राख्छिन् । युट्युबमा उनी डान्सकै रियालिटी शो हेर्छिन् । अमेरिकन सादी र भारतीय इशान हिलाल उनलाई मन पर्ने बेली डान्सर हुन् ।

रहरहरू

फुर्सदमा उनी गीत सुन्न र पुस्तक पढ्न रुचाउँछिन् । ब्युटिपार्लर खासै जादिनन् । इभेन्टमा सहभागी हुन जाँदा भने पार्लर जान्छिन् । अरु बेला त पार्लर छिर्न पनि झ्याउ लाग्छ रे । ‘सकभर त मेकअप गर्न नपरे हुन्थ्यो जस्तो लाग्छ,’ उनले सुनाइन् ।

सपिङमा उनी त्यति खर्च गर्दिनन् । उनको खर्च हुने बेली डान्सको कपडामा नै हो । आफैले तयार पार्दा एउटै पहिरनका लागि ८, १० हजार रुपैयाँ खर्च हुने गरेको उनी सुनाउँछिन् । अंग्रेजी साहित्य र आम सञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरिसकेकी उनी अब डान्समा पनि एमए गर्न चाहिन्छन् । ‘मिल्यो भने कुनै मिडियामा आरजे वा भिजे बन्ने सपना छ,’ उनले भनिन् ।

प्रतिक्रिया