शनिबार, वैशाख २७, २०८२

कांग्रेस महाधिवेशन : झण्डै सवा लाख क्षेत्रीय प्रतिनिधि कसरी चुनिन्छन् ?

सञ्जिता खनाल २०७८ भदौ २० गते १५:१२

काठमाडौँ । नेपाली कांग्रेस १४ औँ महाधिवेशनमा प्रवेश गरेको छ । गत भदौँ १८ गते क्रियाशील सदस्य नामावली सार्वजनिक गरेका ५६ जिल्लाहरूमा महाधिवेशन जारी छ । जसमा अहिलेसम्म ४४ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको पार्टी केन्द्रीय निर्वाचन समितिले जनाएको छ । अहिले अधिवेशन जारी नै छ ।

क्रियाशील सदस्यले आफ्नो वडाको वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्न पाउने कांग्रेसको विधानमा व्यवस्था गरिएको छ । देशभरका वडाबाट एक लाख १४ हजार ५७५ क्षेत्रीय प्रतिनिधि निर्वाचित कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

यसरी चुनिन्छन् क्षेत्रीय प्रतिनिधि

कांग्रेसको विधानअनुसार एक सय ५० वा सोभन्दा कम क्रियाशील सदस्य भएको वडामा गाउँपालिकाका वडा अधिवेशनले क्रियाशील सदस्यमध्येबाट प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनका लागि तीन महिलासहित ९ जना क्षेत्रीय प्रतिनिधि प्रत्यक्ष निर्वाचित गर्ने प्रावधान छ । एक सय ५० वा त्योभन्दा बढी क्रियाशील सदस्य भएमा बढीमा ७५ को सीमाभित्र रही प्रति सय थप क्रियाशील सदस्यमा २ महिलासहित ६ जना थप क्षेत्रीय प्रतिनिधि निर्वाचित हुन्छन् । वडा सभापति भने स्वतः प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनको प्रतिनिधि हुन्छ ।

यसैगरी, कांग्रेसको गाउँपालिका वडा कार्य समितिले महिला, दलित, आदिवासी–जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट एक सय ५० वा योभन्दा कम क्रियाशील सदस्य भएको वडामा गरिने निर्वाचनबाट निर्वाचित सदस्य संख्याको दुई तिहाई संख्यामा वडाको जनसंख्याको बनोटअनुसार समानुपातिक आधारमा तोकिएबमोजिम क्षेत्रीय प्रतिनिधि निर्वाचित गर्नु पर्ने विधानमा उल्लेख छ ।

नगर, उपमहानगर र महानगरपालिका वडा अधिवेशनमा एक सय ५० वा योभन्दा कम क्रियाशील सदस्य भएको वडामा अधिवेशनले क्रियाशील सदस्यमध्येबाट प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनका लागि ३ महिलासहित ९ जना क्षेत्रीय प्रतिनिधि प्रत्यक्ष निर्वाचित गर्ने प्रावधान कांग्रेसमा छ ।
कांग्रेसको नगर, उपमहानगर र महानगरपालिका वडा कार्य समितिले महिला, दलित, आदिवासी–जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछाडिएको क्षेत्रबाट एक सय ५० वा योभन्दा कम क्रियाशील सदस्य भएको वडामा गरिने निर्वाचनबाट निर्वाचित सदस्य संख्याको दुई तिहाई संख्यामा वडाको जनसंख्याको बनोटअनुसार समानुपातिक आधारमा तोकिएबमोजिम क्षेत्रीय प्रतिनिधि निर्वाचित गर्नु पर्ने विधानमा उल्लेख छ ।

नगर, उपमहानगर र महानगरपालिका वडा अधिवेशनबाट निर्वाचित वडा सभापतिहरू स्वतः क्षेत्रीय प्रतिनिधि हुने व्यवस्था कांग्रेसको विधानमा छ । गत साउन ३० गते सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्य समिति बैठकले १४ औँ महाधिवेशनको चौथो कार्य तालिका सार्वजनिक गरेको थियो । उक्त बैठकले भदौँ १८ गतेदेखि २७ गतेसम्म स्थानीय तहको अधिवेशन गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम गाउँ÷नगरपालिका अधिवेशन जारी छ ।

प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १ गते, प्रतिनिधिसभा क्षेत्र र एकमात्र निर्वाचन क्षेत्र भएका जिल्ला अधिवेशन ०७८ असोज ५ गते, एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म गर्ने योजना बनाएको छ । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९ गतेदेखि १३ मा मिति तय गरेको छ ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया