सकियो ओली र एमसीसीका उपाध्यक्ष फातिमा वीचको भेट
एमसीसी पारित गराउन फातिमाले मागिन सहयोग, ओलीले भने - हतारिएर पोजिसन बनाउँदैनौं । सरकारमा रहेकाले पहिले पोजिसन क्लियर गरुन्

काठमाडौं । चार वर्ष देखि नेपालका राजनीतिक दलहरुभित्रै समझदारी जुटन नसकी संसदमा त्यक्तिकै थन्किएर बसेको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता का विषयमा राजनीतिक तहमा छलफल गर्ने उदेश्य बोकेर नेपाल आएकी एमसीसीकी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
कतार एयरको विमानबाट आजै काठमाडौँ आएर ४ दिन यतै बसेर राजनीतिक भेटघाट गर्ने र एमसीसी पारित गराउने रणनीतिले उनले राजनीतिक भेटघाट शुरु गरेकी हुन् ।
काठमाडौं आएलगत्तै उनी केही वेर आफु बस्ने नक्सालस्थित मेरियट होटल पुगेकी थिइन। त्यसपछि कमलादीमा रहेको नेपालस्थित अमेरिकी राजदुतको निवासमा पुगेर लञ्च गरेकी उपाध्यक्ष फातिमा त्यसपछि भने भक्तपुर बालकोट स्थित ओलीको निवासमा ओलीलाइ भेटन पुगेकी थिइन् ।
पौने २ वजे ओली निवास पुगेको एमसीसीको प्रतिनिधीमण्डले त्यहाँ ओलीसहितको एमाले टोलीसँग झण्डै सवा घण्टा छलफल गरेको थियो ।
छलफलमा एमसीसी सम्झौता पारित गराउने विषयमा केन्द्रीत रहेर उनले सहयोगको आग्रह गरेकी थिइन् । ओली प्रधानमन्त्री हुँदा एमसीसी पारित गराउन खेलेको भूमिकाको प्रशंसा गदै फातिमाले अहिले सत्ता वाहिर रहेपनि उस्तै सहयोगी भूमिकाको आश गरेको बताएकी थिइन् ।
प्रतिपक्षमा पुगेपछि एमसीसीका विषयमा ओलीको धारणा फेरिएको अनुमान लगाईरहदा फातिमाले राजनीतिक भेटघाटको सुरुआत नै विपक्षी दलका नेताबाट गरेकी हुन् ।
ओलीले पनि फातिमासँगको कुराकानीका क्रममा आफुले सरकारमा रहँदा एमसीसी पारित गराउन निक्कै जोडवल गरेको, पार्टीभित्रैको असन्तुष्टि र विरोधका वीचपनि प्रयास गरेको तर सभामुखको असहयोगका कारण संसदमा टेवुल नै गर्न नसकिएको जानकारी गराएका थिए ।
अहिले भने ओलीले सत्तापक्षले यस सम्वन्धमा धारणा नवनाउँदासम्म प्रतिपक्षले धारणा नबनाउने जवाफ दिएका थिए ।
‘हामीले हतारिएर पोजिसन बनाउँदैनौं । पहिले सरकारमा रहेकाहरुले पोजिसन क्लियर गर्नुपर्छ’ भेटमा सहभागी एमाले परराष्ट विभागका प्रमुख डा राजन भट्टराईले ओलीको भनाई उदधृत गदैं भने, ‘अध्यक्षज्यूले रुलिङ पार्टीको पोजिसन क्लियर हुनुपर्ने धारणा राख्नुभयो ।’
ओलीले वुधबार आफ्नै पार्टीको संसदीय दलको बैठकमा यस विषयमा सत्ता पक्षको धारणा पछि मात्र आफुहरुले थप धारणा बनाउने जवाफ दिएका थिए ।
ओलीको साथमा स्थायी कमिटि सदस्य विष्णु रिमाल, प्रचार विभाग उपप्रमुख सूर्य थापा, परराष्ट विभाग प्रमुख राजन भटटराई लगायतका नेताहरु भेटवार्तामा सहभागी थिए । भेट सौहाद्रपूर्ण ढंगले भएको ओलीको सचिवालयले जनाएको छ ।
ओलीलाई भेटेपछि एमसीसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली दरवारमार्गस्थित याक एण्ड यति होटेल तर्फ फर्केको छ । त्यहाँ विगत लामो समय देखि एमसीए नेपालको कार्यालय रहँदै आएको छ । उनले त्यहाँ एमसीए नेपालको कार्यालय अनुगमन गर्ने कार्यक्रम छ ।
उनले प्रधानमन्त्री शेरवहादुर देउवासँग भने भोलि दिउँसो ४ वजेमात्र सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटने कार्यक्रम बनेको छ । उनले आज थप राजनीतिक भेटघाट नगर्ने र अव भोलि मात्रै अन्य भेटघाटका कार्यक्रम अगाडी बढाउने दुतावास स्रोतले बताएको छ ।
शुक्रवार उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भटटराई लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताईएको छ ।
उनीहरुको सुरक्षाका लागि सरकारले विशेष सुरक्षा ब्यवस्था मिलाएको छ । नेपालभित्र एमसीसीको चर्को विरोध भईरहेको सन्दर्भलाई हेरेर सरकारले सुरक्षा ब्यवस्था कडा बनाएको हो ।
काठमाडौं आउनुअघि बुधबार उपाध्यक्ष सुमारले एमसीसीबारे नेपाली जनस्तरमा उठेको प्रश्नसहित सरकारले पठाएको पत्रको अमेरिकी दूतावासमार्फत जवाफ पठाएकी थिइन् ।
नेपालभित्र एमसीसी संसोधन र परिमार्जन विना पारित हुन नसक्ने बताईरहेका बेला एमसीसीको जवाफमा संशोधन हुन नसक्ने जवाफ छ ।
प्रतिक्रिया