मंगलबार, फागुन २६, २०८२

नेपाल निजामती कर्मचारी संगठनको ११ औँ राष्ट्रिय अधिवेशन माघमा

संगठनको माइन्युट बुक, छाप, लेटर प्याड चोरी

मेरोन्यूज २०७८ असोज ३ गते १६:०३

काठमाडौँ । नेकपा (एमाले) निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय कार्य समितिको आठौँ बैठकले माघ ७ र ८ गते राष्ट्रिय अधिवेशन गर्ने निर्णय गरेको छ । असोज २ गते सम्पन्न बैठकले ११ औँ राष्ट्रिय अधिवेशनबारे निर्णय गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संगठनले राष्ट्रिय अधिवेशनको आयोजनाबारे जानकारी दिएको हो । संगठनका अध्यक्ष केदार देवकोटाले अधिवेशनबारे जानकारी दिँदै निजामती कर्मचारी संगठनको माइन्युट बुक, छाप, लेटर प्याड चोरी भएको जानकारी गराए ।

कार्यालयको सामानसहित केही जिम्मेवार भनिएका कर्मचारी हराएको उनले बताए । ‘हराएका साथीहरू नै चोरीमा संलग्न भएका हुन् कि भन्ने आरोप लगाउन पर्ने अवस्था आएको छ,’ उनले भने, ‘सबै प्रदेशको अधिवेशन गर्ने भनेर केन्द्रीय कमिटीको बैठक बस्ने सल्लाहअनुसार निर्णयमा पुग्नुअगाडि नै कार्यालयबाट लेटरप्याड, माइन्युट बुक हरायो ।’

ती सामाग्री लगेर साथीले एउटा कोठाबाट निर्णय परिर्वतन गरेको समेत उनले आरोप लगाए । कुनै पनि मिडियाहरु यस्ता कुराबाट भ्रममा नपर्न आग्रह गर्दै भने, ‘म केदार देवकोटा आधिकारीक केन्द्रीय अध्यक्ष हुँ ।’

सबै पेशामा रहेका कर्मचारीको हकमा समान व्यवहार हुनुपर्छ भनेर आफूहरूले माग गरेको र घोषणा पत्रमा उल्लेख गरेकोसमेत बताए । उनले आफ्नो संयोजकत्वमा उपाध्यक्ष लेखनाथ कोइराला सह–संयोजक रहने गरी २७७ सदस्यीय राष्ट्रि«य अधिवेशन आयोजक समिति गठन गर्ने बैठकले निर्णय गरेको बताए । उनले जिल्ला, विभागीय कार्य समितिहरु, प्रदेश कार्य समितिहरुको अधिवेशन मंसिर र पौष महिनाभित्र सम्पन्न गर्ने पनि निर्णय भएको जानकारी दिए ।

सह–संयोजक तथा बरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाले निजामती कर्मचारी संगठन सबैभन्दा ठूलो संगठन भएको बताए । समितिको बैठक केही समययता कोभिडलगायतका कारणले सुरु हुन नसकेको बताए ।

प्रतिक्रिया