बुधबार, जेठ १, २०८२

कञ्चनजंघाको पर्यटनः करोडौंको लगानी संकटमा

दिलकुमार लिम्बू २०७८ असोज ६ गते १३:५२
फाइल फोटो

फुङ्लिङ । कोरोना महामारीका कारण पर्यटन क्षेत्रमा परेको असरले कञ्चनजंघा पर्यटन क्षेत्रको करोडौंको लगानी संकटमा परेको छ ।

पर्यटन प्रवद्र्धन हुन नसक्दा यस क्षेत्रका पर्यटन व्यवसायसँगै व्यवसायीसमेत संकटमा परेका हुन् । नेपालको पर्यटकीय क्षेत्रमध्ये हिमाली जिल्ला ताप्लेजुङ पनि एक हो । ताप्लेजुङमा दुई प्रकारका आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङघा बेस क्याम्प अवलोकन गर्न विदेशी पर्यटकको पहिलो रोजाइमा पर्दछ । अर्को विश्वको प्रसिद्ध धार्मिकस्थल पाथीभरा देवीको दर्शन गर्न धार्मिक पर्यटकहरुको घुइँचो लाग्ने गर्दछ ।

कञ्चनजङघा र पाथीभरा ताप्लेजुङ जिल्लालाई चिनाउने प्रमुख दुई पर्यटकीयस्थल हुन् । पाथीभरा क्षेत्रमा अहिले बिस्तारै धार्मिक पर्यटकरुको चहलपहल सुरु भएसँगै पाथीभरा क्षेत्रमा लामो समयदेखि बन्द रहेको होटल खुल्न थालेका छन् । तर कञ्चनजङघामा भने लाखौँ खर्च गरेर पर्यटकका लागि बनाइएको पर्यटकीय आवास अहिलेसम्म खुल्न सकेको छैन् ।

कञ्चनजंघा क्षेत्रमा पर्यटकीय आवसका लागि बनाइएको पर्यटन आवस सुनसान छ । कञ्चनजंघा आधार शिविर अर्थात् लोनाक, खाबाचेन, घुन्सा, फले ग्याप्ला चैराम जस्ता समुद्र सतहदेखि तीन हजार ५०० मिटर उचाइमा पर्ने स्थानको मुख्य व्यवसाय पर्यटन हो । प्रत्येक घरपरिवारका सदस्य पर्यटनसँग जोडिएको छ । यस क्षेत्रका घरपरिवारले कञ्चनजंघा क्षेत्र आउनुहुने विदेशी पर्यटकहरुका लागि विभिन्न स्थानमा होटलहरु सञ्चालन गरेर आयआर्जन गर्दै आएको पर्यटन व्यवसायीहरु अहिले समस्या भएको फक्ताङलुङ गाउँपालिका—६ घुन्साका पेमा शेर्पाले बताए ।

कञ्चनजंघा आउने पर्यटक लक्षित गरेर कञ्चनजंघा हिमाल जाने पदमार्गमा सानोठूलो लगानीको ५२ वटा होटल सञ्चालनमा रहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तथ्यांक छ । फक्ताङलुङ गाउँपालिका—६ ग्याप्लामा सात करोडभन्दा माथिको लगानीमा बनेको सिङ्गी नामजोंग होटल पर्यटक नआएपछि सबै कोठामा ताल्चा लागेको छ । समुन्द्र सतहदेखि तीन हजार ५०० मिटरदेखि चार हजार ५०० मिटर उचाइमा रु एक करोडभन्दा बढी लगानीमा बनेका चारवटा होटल सञ्चालनमा रहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले बताए । अन्य ८० लाखदेखि माथिका लगानीमा होटलहरु सञ्चालनमा रहेको चेम्जोङले बताए । कोरोनाको कारणले पर्यटक नआएपछि सबै होटल दुई वर्षदेखि बन्द भएकोे छ । लामो समयसम्म कोभिड–१९ को संक्रमणले पर्यटकहरु आउन नसकेपछि बन्द भएको हो ।

विगतका वर्षहरुमा कञ्चनजंघा पदर्मागमा आन्तरिक तथा बाह्य पर्यटकहरु खचाखच हुने कञ्चनजंघा पदमार्ग अहिले सुनसान भएको छ । दुई वर्षदेखि कोरोनाका कारणले कञ्चनजंघा हिमाल जाने पर्यटक शून्य छ । गत वर्ष १२ जान विदेशी पर्यटक आएको कञ्चनजंघा संरक्षण क्षेत्रका व्यवस्थापन कार्यालयका पर्यटन सहायक टाँसी तेन्जिङ शेर्पाले बताए ।

गत २०७६÷७७ सालमा ३८६ पुरुष र १८६ महिला विदेशी पर्यटक कञ्चनजंघा हिमालमा आएको कञ्चनजंघा क्षेत्र व्यवस्थापन परिषद्को तथ्यांकमा उल्लेख छ । सार्क राष्ट्रबाट २५ पुरुष र चार महिला पर्यटक कञ्चनजंघा हिमालमा आएको तथ्यांक छ । आन्तरिक पर्यटक १६ पुरुष र नौ महिला कञ्चनजंघा हिमालका अवलोकन गर्न पुगेको कञ्चनजंघा क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका सूचना अधिकारी धमेन्द्र थापाले जानकारी दिए । कञ्चनजंघा हिमालमा आउने विदेशी पर्यटकको तथ्यांकलाई २१ वर्ष पछाडि फर्केर हेर्दा २०५६ सालमा पुग्न सकिन्छ । २०५६ सालमा ७९९ जना विदेशी पर्यटक कञ्चनजंघा घुमघाम गर्न आएको तथ्यांक छ । विसं २०५७ मा ८७३ विदेशी पर्यटक आएको छ । विसं २०५७ देखि २०७७ सम्म ११ हजार १९७ विदेशी पर्यटक कञ्चनजंघा हिमाल अवलोकन गर्न आएको कञ्चनजंघा क्षेत्र व्यवस्थापन परिषद्को तथ्यांकले जनाएको छ । रासस

प्रतिक्रिया