बुधबार, वैशाख ३१, २०८२

फेवातालको झल्को दिने तालपोखरामा डुङ्गा चल्यो

मेरोन्यूज २०७८ असोज ६ गते १७:०६

पाल्पा । पर्यटकीय गन्तव्यस्थल पाल्पाको तालपोखरामा डुङ्गा सुचारु भएपछि चहलपहल बाक्लिदै गएको छ ।

पहिलो चरणको कोरोनाको कहर सुरु भएदेखि नै स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै बन्द गरिएको थियो । रामपुर नगरपालिका ६ स्थित यस पर्यटकीय तालपोखरामा डुङ्गा सयर गर्दै तस्बिर खिचाउने, टिकटक बनाउने र ताल वरपर घुम्ने आन्तरिक पर्यटक बढ्दैछन् । नेपाल महिला संघ रामपुर नगर उपसभापति सावित्रा गैरेले भनिन्, “कोभिड –१९ ले अन्यत्र घुम्न जान नपाएका अवस्थामा डुङ्गामा रमाउँदा धेरै रमाईलो भयो, पर्यटक आउने फर्कने क्रम चलिरहेको छ, यहाँको वातावरणले पर्यटकलाई लोभ्याइरहेको छ ।”

स्थानीयवासी पार्वती न्यौपाने डुङ्गा सयर गरेर मन्दिर परिक्रमा गर्दा फेवातालको जस्तै अनुभूति गर्छिन् । कोरोनाले डुङ्गा बन्द भएका बखत पनि तालको रमणीय वातावरणसंग बेला बेलामा आउने गरेको उनले जानकारी दिइन् ।
डुङ्गा बन्द गरिएपनि विभिन्न स्थानबाट आन्तरिक पर्यटक तालपोखराको बाहिरी परिसर घुमेर मात्रै भएपनि फर्कने गर्थे । कोरोनाको जोखिम कम हुदै गएपछि पर्यटकलाई लक्षित गरी संबिधान दिवसको अवसर पारी तालपोखरामा डुङ्गा सञ्चालनमा ल्याइएको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटा बताए ।
“ताल वरपर, उद्यान परिषरमा आन्तरिक पर्यटहरु भरिन थाले, टाढा टाढाबाट पनि डुङ्गा चढ्नकै निम्ति आएका पर्यटकहरु यहाँ आउँदा डुङ्गा चढ्न नपाएर निराश भएर फर्कनुहुन्थ्यो, अहिले कोरोनाको कहर कम हुदै गएको छ, चाडपर्व पनि सुरु हुन थालेपछि स्वास्थ्य मापदण्ड पालना गरी डुङ्गा चालु गरियो” उनले भने ।

समितिका सदस्य जनक भण्डारीका अनुसार डुङ्गा सयर गर्न प्रतिव्यक्ति रु ५० शुल्क तोकिएको छ । हाल यहाँ तीन डुङ्गा प्रयोगका निम्ति व्यवस्थापन गरिएको छ । टिकटक बनाउन र फोटो, भिडियो खिच्नका निम्ति अहिले धेरै आउने गरेको जनाइएको छ ।

“बन्द भएको लामो समय पश्चात् डुङ्गा सुरु गरिएको हँुदा हाल तालमा दैनिक ५०÷६० ले डुङ्गा सयर गर्नुहुन्छ, कतिपय पर्यटकहरु भने बाहिरबाटै अवलोकन गरेर फर्कनुहुन्छ, डुङ्गाका कारण पर्यटक आउने जानेक्रम बढ्दै गएको छ” । – उनले भने ।

पोखराको फेवातालको अनुभूति दिलाउने गरी पर्यटकीय पूर्वाधारका कार्यहरु भएपछि अहिले रामपुरको पर्यटन विकासमा यसले इँट्टा थपिदिएको छ ।

यसअघि डुङ्गा सुचारु हुदाका समय ताल अवलोकनका निम्ति यहाँ देशका पूर्वदेखि पश्चिमका आन्तरिक पर्यटक भित्रिएको समितिले जनाएको छ । पर्यटकको उपस्थिति बढ्दै गएपछि विसं २०७४ माघ २४ गते देखि तालपोखरामा डुङ्गा सञ्चालन सुरु गरियो । नियमित दुई वटा डुङ्गा सञ्चालन हुदै आएकोमा कोरोनाको कहर सुरु भएपछि स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै डुङ्गा सञ्चालन बन्द गरिएको थियो ।

तालपोखरामा थप पूर्वाधार विकास गरी बाह्य पर्यटकलाई समेत यहाँ अवलोकनका लागि भित्र्याउने योजना बनाएको समितिका सचिव सुनिल देवकोटाले जानकारी दिए ।

तालपोखरा उद्यान नजिकै बाल उद्यान निर्माण, पश्चिमपट्टीको भागमा कफी हाउस र मिनि उद्यान स्थापना गर्ने, पूर्वपट्टीको भागमा रहेको पिपलको चौतारीलाई पर्यटकीय आकर्षणको रुपमा विकास गर्ने, सोही ठाउँ नजिकै बाल उद्यान निर्माण गरी नमुना पर्यटकीय गन्तव्यस्थल बनाइने समितिका पूर्व अध्यक्ष देवराज देवकोटाले बताए ।

एक सय पर्यटकीय गन्तव्यस्थलका रुपमा सुचिकृत पर्यटकीय तालपोखरामा विभिन्न स्तरोन्नतीका कार्यहरु सम्पन्न गरिएपछि यसको सुन्दरताले पर्यटकलाई लोभ्याएको छ । -रासस

प्रतिक्रिया