सोमबार, फागुन २५, २०८२

खाग तस्करीमा समातिएका नौ जना सार्वजनिक

मेरोन्यूज २०७८ असोज १२ गते २१:३०

चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारी खाग बिक्री व्यवसाय गरेको आरोपमा मुद्दा लागेका नौ जनालाई सार्वजनिक गरेको छ । निकुञ्जले विभिन्न समय र स्थानमा उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार निकुञ्जको आइल्याण्ड क्षेत्रमा विसं २०७७ भदौमा गैँडा मारेको अभियोगमा नवलपरासी बुलिङ्टार गाउँपालिका–१ घर भई गैँडाकोट नगरपालिका–१ बस्ने ३२ वर्षीय चतुरे भन्ने गोपाल सारुलाई गत साउन ३२ गते पक्राउ गरेको हो ।

सोही अभियोगमा धादिङको रोराङ गाउँपालिका–१ बस्ने ३५ वर्षीय कवि भन्ने रामकुमार श्रेष्ठलाई भदौ ६ गते पक्राउ गरिएको थियो ।
निकुञ्जको बहपुर खोला क्षेत्रमा २०७६ कात्तिकमा गैँडा मारेको अभियोगमा मकवानपुरको मनहरी गाउँपालिका–४ बस्ने ३० वर्षीय विजय कान्छ भनिने जयबहादुर प्रजालाई निकुञ्जले भदौ ४ गते पक्राउ गरेको हो ।

सोही अभियोगमा मकवानपुर मनहरी गाउँपालिका–४ मसिने खोला बस्ने ३६ वर्षीय दिलीप एवं दिलबहादुर प्रजा भन्ने सिंहराम प्रजालाई भदौ ६ गते पक्राउ गरेको छ ।

विसं २०७७ असोजमा निकुञ्जको घाँघर क्षेत्रमा पर्ने बाटुले चौरको खोल्सीमा गैँडा मारेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ । सो घटनामा सात जना फरार रहेका छन् ।

अधिकारीका अनुसार मकवानपुरका सरिखेत गाउँपालिका–९ बस्ने करण मुक्तान भन्ने करण प्रजा, मकवानपुरको मनहरी गाउँपालिका–४ बस्ने मसिने टोङ्ग्रा खोला बस्ने सुरेश प्रजा र मकवानपुर मनहरी गाउँपालिका–४ का २७ वर्षीय बाबु भनिने सरोज मुक्तानलाई भदौ ४ गते पक्राउ गरिएको छ । उनको स्वास्थ्य अवस्था गम्भीर भएकाले अदालतमा हाजिर हुने गरी छाडिएको छ ।

निकुञ्जको घाँघरपोष्टदेखि १.५ किमीमा पर्ने ढड्डाघारीमा विसं २०७७ जेठमा गैँडा मारेको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ । उक्त घटनामा पाँच जना फरार रहेका छन् । पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका–७ देवेन्द्रपुर बस्ने यादव भन्ने राजन गुरुङ रहेका छन् ।
यस्तै मकवानपुरका सरिखेत गाउँपालिका–९ बस्ने वृन्दासिंह प्रजालाई पनि निकुञ्जले पक्राउ गरेको छ ।

यसअघि नै दुई वटा गैँडा मारेको मुद्दामा फरार रहेका निजलाई पक्राउ गरी कारागार चलान गरिएकोमा पुनः अर्को दुई मुद्दामा जोडिएपछि अनुसन्धानका लागि निकुञ्ज लगिएको हो । उनीहरुलाई आज निकुञ्जको मुख्यालय कसरामा सार्वजनिक गरिएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार चार वटा गैँडा मार्न संलग्न १७ जनामध्ये हालसम्म आठ जनालाई पक्राउ गरिएको छ भने नौ जना फरार रहेका छन् ।

चालु आर्थिक वर्षमा गैँडा मुद्दाका १४ जना पक्राउ परेको उनले जानकारी दिए ।

उनका अनुसार गैँडा तस्करमा संलग्न हुने प्रायजसो एउटै परिवारका रहने गरेका छन् । पक्राउ पर्नेमा तीन जना दाजुभाइ, बाबु–छोरा, साला–भेना, मामाको छोरा–फुपूको छोरा छन् ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिक्रिया