बुधबार, फागुन २०, २०८२

मानिसको शरीरमा सुँगुरको मिर्गौला सफल प्रत्यारोपण

मेरोन्यूज २०७८ कार्तिक ४ गते ११:४९

काठमाडौँ । अमेरिकामा पहिलोपटक मानव शरीरमा सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको छ । सुँगुरको मिर्गौला मानव शरीरमा सफलतापूर्वक प्रत्यारोपण गर्न चिकित्सकहरू सफल भएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

उक्त सुँगुरको मिर्गौला प्रत्यारोपण ‘ब्रेन–डेथ’ भएकी एक महिलामा गरिएको हो । ती महिलाको मिर्गौलाले समेत काम नगरिरहेको अवस्थामा परिवारले सुँगुरको मिर्गौला प्रत्यारोपणका लागि प्रयोग गरेर हेर्ने अनुमति दिएका थिए । मृगौलामा समस्या देखिएकी महिलामा प्रत्यारोपणभन्दा पहिले असामान्य ‘क्रिएटिनाइन लेभल’ रहेको थियो । जुन कमजोर मिर्गौलाको संकेत हो । तर, सुँगुरको मिर्गौला प्रत्यारोपण गरिसकेपछि भने सो स्तर सामान्य अवस्थामा फर्किएको शल्यक्रियाको नेतृत्व गरेका डाक्टर रोबर्ट मोन्टगोमेरीले जानकारी दिए ।

हरेकपटक जनावरको अंग प्रत्यारोपण गर्नासाथ हाम्रो शरीरले ‘रिजेक्ट’ गर्ने अर्थात नअपनाउने समस्या रहँदै आएको थियो । यस्ता समस्या समाधानका लागि मोन्टगोमरीको टिमले उक्त ‘रिजेक्सन’ निम्त्याउने सुँगुरको जिन परिमार्जित गरी हटाउने सिद्धान्तमा काम गरिरहेका थिए । अहिले प्रत्यारोपित मिर्गौलाले सामान्य रूपमै काम गरिरहेको शल्यक्रियाको नेतृत्व गरेका चिकित्सक डा. मोन्टगोमरीले बताए ।

मोन्टगोमरी भन्छन्, “त्यस्ता मानिसहरूमा मृत्युदर क्यान्सर हुँदा जत्तिकै उच्च हुन्छ, त्यसैले हामी उनीहरूलाई थप केही महिना जीवन दिनका लागि नयाँ औषधि दिन वा नयाँ ट्रायल गर्न पछि हट्दै नौँ ।’

ती महिलामा तीन दिनसम्म नयाँ मिर्गौला उनको रक्तनलीसँग जोडिएर रहेको र बाहिरी शरीरमा पनि कायम रहेको बताइएको छ । यसमा व्यक्तिको प्रतिरोधात्मक प्रणालीले सो मिर्गौलालाई ‘रिजेक्ट’नगर्दा यो परीक्षण ठूलो सफलता चिकित्सकहरुले मानेका छन् । यो मृगौला प्रत्यारोपण न्युयोर्क सिटीस्थित एनवाइयु लेनेगोन हेल्थमा गरिएको बताइएको छ ।

यस नयाँ उपलब्धिले प्रत्यारोपण प्रक्रियाका लागि आवश्यक मानव अंग अभावको समस्या समाधानमा उल्लेखनीय मद्दत पुर्याउने अपेक्षा वैज्ञानिकहरुले गरेका छन् । हाल अमेरिकामा करिब एक लाख ७ हजार मानिस अंग प्रत्यारोपणको पर्खाइमा छन् । जसमध्ये ९० हजार मिर्गौलाका बिरामी रहेको रोयटर्समा उल्लेख छ । मिर्गौलाका लागि बिरामीले तीनदेखि पाँच वर्षसम्म पालो पर्खिनु पर्ने हुन्छ ।

वैज्ञानिकहरु जीवजन्तुको अंग प्रत्यारोपण गर्ने सम्भाव्यताबारे दशकौँ अगाडिदेखि अध्ययन गरिरहेका छन् । तर, हरेकपटक जनावरको अंग प्रत्यारोपण गर्नासाथ हाम्रो शरीरले ‘रिजेक्ट’ गर्ने अर्थात नअपनाउने समस्या रहँदै आएको थियो । तर, यी महिलामा सुँगुरको मृगौला प्रत्यारोपण ‘रिजेक्ट’ नगर्दा यो परीक्षण ठूलो सफतता हात पारेको वैज्ञानिकहरुको दाबी छ ।

यो नयाँ उपलब्धिले आगामी दुई तीन वर्षमा अन्तिम स्टेजमा रहेका मिर्गौला फेल हुने बिरामीका लागि सम्भावित नयाँ उपचार विधिको बाटो खुलाउन सक्ने बताए । गम्भीर रुपमा बिरामीका लागि यो उपायले मानव मिर्गौला नपाइन्जेल छोटो अवधिका लागि या ‘पर्मानेन्ट ग्राफ्ट’का रुपमा समाधानके काम गर्ने अपेक्षा गरिएको छ । रोयटर्स

प्रतिक्रिया