शनिबार, फागुन २३, २०८२

बेमौसमको बाढीपहिरोबाट पाँचथरमा २८ जनाको मृत्यु

मृतकको शव परीक्षण नगरी दाहसंस्कार गरिने

मेरोन्यूज २०७८ कार्तिक ४ गते २०:१५

पाँचथर । पाँचथरमा बाढी तथा पहिरामा परी मृत्यु भएकाको शव परीक्षण नगरी दाहसंस्कार गरिने भएको छ । विहीबार बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले शव परीक्षण गरी दाहसंस्कार गर्नसक्ने अवस्था नरहेको देखिएकाले सो निर्णय गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

यद्यपि दाहसंस्कारका लागि ‘शङ्कास्पद स्थितिमा मृत्यु भएको देखिन नआई विपत् प्रकोप (बाढी, पहिरो)कै कारण मृतकको मृत्यु भएको स्पष्ट यकीन भएको’ मुचुल्का भने तयार पार्नुपर्ने बैठकले निर्णय गरेको छ ।

सम्बन्धित वडाको वडाध्यक्षको रोहबरमा स्थानीयवासीलाई साक्षी राखी प्रकोपकै कारण मृत्यु भएको मुचुल्का गरी दाहसंस्कार गर्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिए ।

बाढी र पहिराका कारण हालसम्म जिल्लामा २६ जनाको मृत्यु भएको पुष्टि भएको छ । गाउँमा मृत्यु भएकालाई बजारी क्षेत्रमा पु¥याई शव परीक्षण गर्न सकिने अवस्था नरहेको तथा चिकित्सकलाई गाउँमा लगेर शव परीक्षण गर्नसक्ने स्थिति नरहेकाले सो निर्णय गरिएको प्रजिअ ढकालले बताए ।

बैठकले जिल्लामा विपत्को स्थितिबारे थप सचेत र सजग भई उद्धार र राहतका कार्यलाई तीव्र र व्यवस्थित गर्नुपर्ने आवश्यकता देखिएको भन्दै सो प्रकारको तयारी गर्ने निर्णयसमेत गरेको छ । बाढी तथा पहिराका कारण पाँचथरमा हालसम्म २६ जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता छन् । यस्तै आठ जना घाइते भएका छन् ।

चार घाइतेको हेलिकप्टरमार्फत उद्धार

बाढी र पहिराबाट घाइते बनेका यहाँका चार जना घाइतेको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका–२ र ५ का उनीहरुलाई हिजो र आज नेपाली सेनाको हेलिकप्टर उद्धार गरेको हो ।

उद्धार गरिएका घाइतेलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको व्यवस्था गरिएको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले जानकारी दिए । मङ्गलबार राति पहिरामा परी घाइते भएकी मिक्लाजुङ–५ की अन्दाजी ४० वर्षीया दिलकुमारी राईलाई हिजो हेलिकप्टरमार्फत उद्धार गरी धरान पु¥याइएको थियो ।

पहिरोमा परी घाइते भएका सोही वडाका २८ वर्षीय विशाल लावतीलाई आज बिहान उद्धार गरिएको छ ।

यस्तै विहीबार नै मिक्लाजुङ–२ की २३ वर्षीया आशा शेर्मा र मिक्लाजुङ–५ का अन्दाजी ५५ वर्षीय दिनेश लावतीलाई नेपाली सेनाको १ नम्बर पृतनाको हेलिकप्टरले उद्धार गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पु¥याएको गाउँपालिका अध्यक्ष माखिमले जानकारी दिए ।

उद्धार गरिएका शेर्मा र लावतीको अवस्था गम्भीर रहेको मिक्लाजुङ–२ का ढकेन्द्र भट्टराईले बताए । तीन दिनसम्म अविरल वर्षाका कारण मिक्लाजुङमा मात्रै हालसम्म २१ जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता छन् ।

सडक मार्गबाट उपचारका लागि लैजाने अवस्था नभएपछि स्थानीय प्रशासनसँगको समन्वयमा उद्धार कार्य जारी रहेको अध्यक्ष माखिमले बताए । प्रजिअ ढकालका अनुसार बाढी र पहिराका कारण गम्भीर घाइतेलाई गृह मन्त्रालयको समन्वयमा उद्धार गरी उपचारको प्रबन्ध गर्ने कार्य निरन्तर चल्नेछ ।

मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो

यसैबीच, पाँचथरमा बाढी तथा पहिरामा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले पहिरामा पुरिएर थप दुई जनाको मृत्यु भएको पुष्टि गर्दै सनाखत गरेसँगै मृतकको सङ्ख्या २८ पुगेको हो ।

प्रहरीका अनुसार मिक्लाजुङ गाउँपालिका–१ की सहमाया आङ्देम्बे र सोही गाउँपालिका–२ की गीता राईको पहिराले पुरिएर मृत्यु भएको हो । उनीहरुको उमेर भने खुल्न सकेको छैन । पाँचथर प्रहरीले यसअघि नै २६ जनाको मृत्यु भएको पुष्टि गर्दै सनाखत गरिसकेको छ ।

पाँचथरमा अझै छ व्यक्ति बाढी तथा पहिरामा परी बेपत्ता छन् । उनीहरुको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

बेपत्तामध्ये दुई जना इलामको माङ्सेबुङ गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी छन् । उनीहरु पहिरामा परी घाइते भएका पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ चिसापानी पञ्चमीका स्थानीयवासीको उपचारमा आएका थिए ।

यस्तै पाँचथरमा बाढी तथा पहिरामा परी आठ जना घाइते भएका छन् । घाइतेमध्ये मिक्लाजुङ गाउँपालिकाका चार जनालाई उद्धार गरी थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । (रासस)

प्रतिक्रिया