शनिबार, वैशाख ५, २०८३

एएफसी यू–२३ एसियन कप छनोटः इरानविरुद्ध खेल्दै नेपाल

मेरोन्यूज २०७८ कार्तिक ७ गते २१:०७

काठमाडौं । नेपाली युवा राष्ट्रिय फुटबल टोलीले इरानविरुद्ध खेल्दै एएफसी यू–२३ एसियन कप छनोटको यात्रा सुरु गर्दैछ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

ताजिकिस्तानमा सोमवारदेखि सुरु हुने छनोट खेलमा निकै बलियो मानिएको टोली इरानविरुद्ध खेल्दै नेपालले छनोट प्रतियोगिताको सुरुआत गर्नेछ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आफ्नो टोलीले उच्च प्रदर्शन गर्ने भन्दै राम्रो नतिजाको आशा राखेका प्रि–म्याच कन्फरेन्समा बताए ।

उनले विपक्षी टोली बलियोे भए पनि आफ्नो टोलीले नतिजाका लागि सक्दो प्रयास गर्ने बताए । तेइस खेलाडी र १२ अफिसियलसहित ३५ सदस्यीय टोली यसअघि मङ्गलबार त्यसतर्फ प्रस्थान गरेको थियो । छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ ।

नेपालको समूहमा इरानसँगै आयोजक ताजिकिस्तान र लेबनान छन् । नेपालले आफ्नो दोस्रो खेल कात्तिक ११ गते ताजिकिस्तानसँग खेल्नेछ भने अन्तिम खेल कात्तिक १४ गते लेबनानसँग खेल्नेछ ।

एएफसीले प्रतियोगिताको छनोटमा सहभागी ४१ टोलीलाई विभिन्न ११ समूहमा विभाजन गरेको छ । नेपालले हालसम्म एएफसी यू–२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन । पछिल्लो दुई संस्करणमा नेपाली टोली जीतविहीन हुँदै छनोटबाट घर फर्केको थियो । दुवै संस्करणमा नेपालले गोल गर्न सकेको छैन ।

नेपाली यू–२३ टोलीको गोलरक्षकमा अर्पण कार्की, विशाल सुनार र अभिषेक बराल छन् भने डिफेन्डरमा सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दीप पौडेल, अभिषेक लिम्बू र शिव गुरुङ छन् ।

त्यसैगरी, मिड फिल्डरमा नितिन थापा, सुरज ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्वे, अनिल महर्जन, राजीव लोप्चन, शिशिर लेखी, आकाश बुढामगर, एरिक विष्ट तथा रोशन पहारी छन् भने फरवार्डमा मनिष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ र ऋतिककुमार खड्का छन् ।

प्रतिक्रिया