दुई लाखको जागिर छाडेर रैथानेतिर लागेका तिलकको कथा
किसानको उत्पादन घरघरमा पुर्याउने रैथाने

उमेरले ६० वर्षको उकालो लागेका नुवाकोटका स्थायी बासिन्दा तिलक ढकाल अझै जवान लाग्छन् । उनको सक्रियता, जोश, जाँगर देख्दा उमेर पनि बिर्साइदिन्छ । डब्लुडब्लुएफमा हुँदाखाँदाको दुई लाख रुपैयाँको जागिर छाडेर रैथाने संस्था सुरु गरेका उनलाई जीवनमा केही गर्ने हुट्हुटी बाँकी नै छ ।
जीवन भनेको रिटायर्ड हुँदैन । हालै चप्पल कारखानास्थित रैथानेको कार्यालयमा भेटिदा ढकालले भने– ‘मन, सोंच कहिल्यै पनि बुढो हँुदैन । सोच्यो भने त १६ वर्षमै मानिस बुढो हुन्छ नि ।’ उनी समयको गति अनुसार आफूलाई दौडाउन हरबखत संघर्षरत छन् । उनलाई लाग्छ, समय गतिशील छ । जीवनलाई समयको गतिशिलता अनुसार दौडाउनुपर्छ । जसले कोशिस गर्छ, उसले सफलता प्राप्त गर्छ ।
त्यसको उदाहरण त ढकाल स्वयं छन् र, उनले जन्माएको संस्था रैथाने ।
यसरी जन्मियो रैथाने
२० वर्ष डब्लुडब्लुएफमा काम गरिसकेपछि ढकाललाई लाग्यो, अब केही नयां काम गर्नुपर्छ । अन्तराष्ट्रिय संस्थामा पाउदै आएको सेवा, सुबिधा, तलबको माया मारेर उनले बेग्लै बाटो रोजे । मनले रोजेको बाटोमा हिंड्न पाउनुमा जति मजा अरु के कुरामा भेटिएला र ?– उनले भने ।
डब्लुडब्लुएफमा काम गर्दा ढकालले ३४ जिल्ला घुमे । वन, पर्यटन प्रवद्र्धन, समुदायको जीविकोपार्जन, वन्यजन्तुको संरक्षण जस्ता काम गर्ने यस संस्थामा फिल्ड अफिसरबाट प्रवेश गरेर सिनियर म्यानेजर भएर निस्के । चार पटक बढुवा भएका ढकालले छोड्नेबेला सेवा, सुविधासहित मासिक २ लाख रुपैयाँ तलब थियो । मनमा केही फरक काम गर्न चाहेकै थिए । त्यसैकारण उनले योजना पनि बनाईसकेका थिए । उनको जस्तै सोंच मिल्ने अन्य केही साथीहरु भेटिएपछि झन् उनमा उत्साह र जोश थपियो ।
ढकालको घरमा मकै खाँदै ५ जना साथीहरु गफिदै थिए । ढकालले नाम जुराए, रैथाने । जुन शब्दसँग यतिबेला उनको बेग्लै प्रेम छ । रैथाने शब्दले कुनै ठाउको पहिलेदेखिको वा पुरानो बासिन्दा, आदिवासीलाई संकेत गर्छ । ढकालको समूहले मौलिक नेपाली परम्परा, गाउको उत्पादन, लोप हुँदै गएका उपयोगी सरसामानलाई प्रवद्र्धन गर्ने उद्देश्य राखेको थियो । पाच जनाबाट सुरु भयो, रैथाने एग्रिप्रोडक्ट नेपाल । सुरुमा सेयर सदस्यले संस्थाको लोगो भएका ६ वटा कप छापे । तिनै कपहरु आफैले किने ।

चप्पल कारखानास्थित रैथानेको कार्यालयमा पुग्नुभयो भने तपाईंलाई पक्कै फरक अनुभूति हुनेछ । शहरमा अन्यत्र कतै नभेटिने गाउका सामानहरु तपाई यहाँ भेट्नु हुनेछ । डोको, नाँङ्लो, जाँतो, ढिकी, ओखल, हँसिया, मकैका पातहरुबाट बनाइएका चकटी, तेल पेल्ने कोल, ठेकी, घुम, मोही पार्ने ठेकी लगायत अन्य थुप्रै सरसामानहरु । नेपाली मौलिक परम्परा झल्काउने सामानहरु जगेर्ना, प्रवद्र्धन बाहेक रैथानेले गर्दै आएको महत्वपूर्ण काम भनेको किसानका उत्पादनलाई उपभोक्ताको घर–घरमा पुर्याइदिने हो ।
गत असार मसान्तसम्म रैथाने ७ प्रदेशभरी ३८ जिल्लाका ९ हजार ५ सय किसानसँग जोडिईसकेको छ । सिधै किसानबाट उनीहरुका उत्पादन किनेर राजधानीमा उपभोक्ताका घर–घरमा नि:शुल्क होम डेलिभरी गर्दै आएको छ । यसले डोल्पा र मुगुको ओखरदेखि, सोलुको अकबरे, आलु, सिन्धुलीको घिउ, ताप्लेजुङको ठेकी, चितवनको तेल, मकवानपुरको मह, जुम्ला र रोल्पाको गेडागुडी, झापाको कालो नुनिया चामल उपलब्ध गराउँदै आएको छ ।

‘नौ हजार ५ सय किसानबाट १ सय ७५ वटा आइटम हामीले उपलब्ध गराउँदै आएका छौं ।’ रैथानेका सदस्य मध्येका एक उपेन्द्र कँुइकेलले सुनाए, ‘ती सबै किसानहरुले अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।’ गाउमा किसानको व्यापार बढिरहेको र रोजगारी सिर्जना भईरहेको उनले सुनाए । चितवन र मकवानपुरबाट चेपाङ, तामाङ समुदायले उत्पादन गरेका ८ टन मह यसपाली खरिद गर्ने उनले बताए । सिमान्तकृत समुदायको उत्पादनलाई खरिद गर्ने, साना किसानलाई प्रवद्र्धन गर्ने आफ्नो संस्थाको उद्देश्य रहेको उनले बताए ।
अहिले रैथानेमा जोडिनेको संख्या ४९ जना पुगिसकेको छ । यसमा ५० हजार देखि १५ लाख रुपैयाँ लगानी गर्नेहरु छन् । ‘कोही कोहीले यसमा १ करोड रुपैयाँ लगानी गर्छु भनेका छन्’, तिलक आफ्नो अनुभव सुनाउँछन्, ‘रैथाने एक अभियान हो । यसको नाफाबाट आएको एक प्रतिशत रकम विपन्न क्षेत्रका विद्यार्थीहरुलाई छात्रवृत्तिमा खर्चिनेछौं ।’
रैथानेमा फरक फरक डिपार्टमेन्ट छन् । मार्केटिङ, डिजिटल अपरेसन, डेलिभरीदेखि किसानबाट सामान संकलन गर्नेमा फरक फरक व्यक्तिहरु तोकिएका छन् । चामल, गेडागुडी, तिल केलाउने, निफन्ने र प्याकिङ गर्नेहरु पनि फरक फरक व्यक्ति छन् ।
रैथानेले व्यापार, व्यवसाय त गर्दै आएको छ । तर, अलि फरक किसिमले । २१ जनालाई रोजगारी प्रदान गरेको रैथानले प्रकृति र मानिसबीचको सम्बन्ध बुझाउन खोजेको छ । ‘माटोले हामीलाई उब्जनी दिएन भने, रुख, विरुवाले अक्सिजन दिएन भने के होला ?’ तिलकले विस्तारमा प्रष्ट्याउन खोजे, प्रकृति र मानवबीच सह–अस्तित्व जोडिएको छ ।’
रैथाने म्युजियमको सपना

रैथानेले आफ्नै म्युजियम बनाउने तयारी गर्दैछ । जहाँ नेपाली भेषभूषा, गरगहना, सांस्कृतिक पहिरन, टाइपराइटर, हलो, जुवा, हलौंडो, फाली, लालटिन, मदानी, टोकरी लगायत थुप्रै सामानहरु राखिनेछ । हाल गाउ गाउबाट संकलन गर्ने कार्य भईरहेको छ । नेपालको रितिस्थिति, संस्कृति, परम्परा झल्काउने कुरा यो म्युजियममा राखिएको ढकाल बताउँछन् । ‘यी कुराले हाम्रो धरातल देखाउँछ । हामीले यस्ता चिज, वस्तु जोगाउने र प्रवद्र्धन गर्नुपर्छ ।’ उनी भन्छन् ।
किसानको उत्पादन शहरमा
हाल ७२ जिल्लामा पाइला टेकिसकेका तिलक ढकाल बेलाबेला देश घुम्न निस्किन्छन् । किसानहरुसँग गफिने, नयाँ–नयाँ उत्पादनलाई उपत्यकाबासीको घर दैलोसम्म पुर्याउने प्रयासरत छन् ।
गाउको समुदायका मानिसहरुको जिविकोपार्जन सुधार्न उनी हरबखत तम्सिएका हुन्छन् । नेपालका ७७ जिल्लाकै व्यक्तिहरुलाई रैथानेमाा जोड्न उनी उद्यत छन् । ताकि हरेक जिल्लाको उत्पादनलाई रैथानेमार्फत घर–घरमा पुर्याउन सकियोस् ।
‘जिम्मेवारीलाई सेलिब्रेट गर्नुपर्छ ।’ हँसिलो चेहरामा भेटिएका रैथानेका ढकालले भने ‘जीवन जित्नलाई हो । खेल्दा हारिएला । तर, जित्न जाने हो ।’










भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु
निर्वाचन बिथोल्ने गतिविधी नगर्न प्रचण्डकाे चेनावती
देशलाई निकास दिन सभापति छाड्न तयार छु, तर चुनावका लागि मात्रै भए सरी : रवि लामिछाने
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जेनजीको रगतको थोपा खेर जान दिन्नँ – रवि लामिछाने
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया