मंगलबार, फागुन १२, २०८२

रावललाई भट्टको जवाफ : सामाजिक सञ्जालमा असन्तुष्टि लेखेर केही हुँदैन

मेरोन्यूज २०७८ कार्तिक २३ गते १७:०९

कैलाली । नेकपा एमालेका सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले उपाध्यक्ष भीम रावललाई आफ्ना असन्तुष्टि सामाजिक सञ्जालमा नभई पार्टी बैठकमा राख्न आग्रह गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

एमाले सुदूरपश्चिम कमिटीको बैठकलाई मंगलबार सम्बोधनका क्रममा भट्टले कुनै पनि नेताका फरक मत र असन्तुष्टि सामाजिक सञ्जालमा पोख्न ठिक नहुने बताएका हुन् ।

‘आफ्ना फरक मत र असन्तुष्टि व्यक्त गर्न पार्टी कमिटी छन्, बैठकमा व्यक्त गर्न सकिन्छ’, उनले भने, ‘यस्ता कुरा पार्टी कमिटीका बैठकमा राख्नु ठिक हुन्छ, सामाजिक सञ्जालमा लेख्नु उचित हुँदैन।’

नेकपा खारेज भएर ब्यूँतिएको एमाले २०७५ जेठ २ मा फर्किँदा आफू सुदूरपश्चिम इञ्चार्ज हुनु पर्ने मत रावलले राख्दै आएका छन् । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले नेकपाको निरन्तरता भएकाले बागमती र सुदूरपश्चिम इञ्चार्ज पहिलेकै कायम गर्न नसकिने अडान राख्दै आएका छन् ।

रावलले असार २७ को १० बुँदे सहमतिअनुसार एमाले सुदूरपश्चिम कमिटी जेठ २ मा नफर्किएकाले त्यसका नाममा हुने बैठकलाई अवैधानिक भनेका छन् । उनले सुदूरपश्चिम प्रदेश कमिटीको बैठकलाई १० बुँदे सहमतिविपरीतको अवैधानिक भन्दै सामाजिक सञ्जाल ट्विटरमार्फत आपत्ति प्रकट गरेका थिए ।

अहिले सुदूरपश्चिम कमिटीको बैठक एमाले कैलालीको पार्टी कार्यालयमा चलिरहेको छ । जहाँ उपाध्यक्ष रावल सहभागी छैनन् । यो बैठकमा एमालेका सुदूरपश्चिम प्रदेश इञ्चार्ज भट्टसहित सह–इञ्चार्ज नारदमुनि राना, प्रदेश अध्यक्ष कर्णबहादुर थापा, नेतृ निरु पाल र सचिव राजेन्द्रसिंह रावलसहितका नेताहरू सहभागी भएका थिए ।

प्रतिक्रिया