कात्तिक नाचमा जल शयण–मधु–कैटव बध मञ्चन हुँदै

ललितपुर । मंगलबजारको चारनारायण मन्दिर परिसरमा रहेको ‘कात्तिक डबली’ मा आज कात्तिक नाचअन्तर्गत जल शयण–मधु–कैटव बध मञ्चन गरिने भएको छ । प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्परा अनुसार साँझ सो नृृत्य प्रदर्शन गर्न लागिएको हो । आज हरिबोधनी एकादशीको दिन भगवान् विष्णु जलबाट उठ्ने र अत्याचारी मधु–कैटव नामक दुई दानवको बध गर्ने कथामा आधारित नाट्य महोत्सव प्रदर्शन गरिने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिए । उनले भने, “नाटकमा कृष्ण अर्थात् विष्णुको प्रवेश हुन्छ । मधु–कैटव पनि आउँछन् । बह्माजीले कमलको फूलमा बसेर तपस्या गरेका बेला मधु–कैटवले भगवान्लाई तर्साउन उनी बसेको फूलको डाँठनै हल्लाइदिन्छन् ।
बह्माजीले त्यसो नगर्न उनीहरुसँग आग्रह गर्छन् । दानवले आफूहरुसँग भएको शक्तिका कारण बह्माजीको आग्रह अस्वीकार गर्छन् । बह्माजीले महामाया भगवतीको आरधना गर्छन् । महामाया प्रकट भएर यी दैत्यसँग युद्ध गर्छिन । उनीहरुले महामायालाई पराजय गराउँछन् ।” यसैगरी बह्महाजीले पुनः विष्णुको आरधना गर्छन् । विष्णु प्रकट भएर ती दानवसँग युद्ध गरी शिर छेदन गर्ने कथामा आधारित नाटक वा नृत्य मञ्चन गरी आफूसँग भएको शक्तिको दुरुप्रयोग नगर्ने सन्देश दिइने चित्रकारले जानकारी गराए ।
यो वर्ष आठ दिन प्रदर्शन गरिने नाचमा मंगलबार बराह अवतार र बुधबार नृसिंह अवतार प्रदर्शन गरी समाप्त गर्ने समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्यले बताए । उनले भने, “अन्य दिनका नाचभन्दा यस तीन नृत्य हेर्न बढी मानिसको उपस्थिति दरबार क्षेत्रमा हुने गर्छ ।” नाट्य महोत्सवको प्रदर्शन जोखिं, जो नगरा, धाः, दमौखी, मृदंग, पोंगा, झयाली र ता बाजा बजाएर गरिने पाटन निवासी राजेश ताम्राकारले बताए ।
विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए । कात्तिक नाचको माध्यमद्वारा देशमा आउने विध्नबाधा हटि शान्ति र सु–व्यवस्था कायम रहने विश्वास रहेको छ । कात्तिक महिनाभरि विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको हो । सत्ताइस दिनसम्म यस नाच प्रदर्शन गर्दा हरेक दिन विभिन्न विषयवस्तु तथा कथामा आधारित रही बेग्लाबेग्लै तरिकाले नृत्य मञ्चन गरिनु यस नाच आफैँले विशेषता बोकेको छ ।
यस गरिमामम नाचको सर्जक श्रष्टा एवं प्रवर्तक सिद्धिनरसिंह मल्लका शिक्षागुरु पण्डित हरिवंश उपाध्याय र दीक्षा गुरु विश्वनाथ उपाध्यायलाई लिइन्छ । नाचको थालनिले सुरुआती चरणदेखिनै जनतालाई एउटै सूत्रमा बाँधेर एक छत्रमा ल्याई मनोरञ्जन दिनुका साथसाथै धार्मिक, नैतिक, सामाजिक ज्ञानसमेत प्रदान गरिनै रहेको विश्वास छ ।
विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुर महानगरपालिका–१६ स्थित दायाँ आधा भागमा शिव र बायाँपट्टि विष्णुको संयुक्त मूर्ति रहेको हरिशङ्खर मन्दिर छेउमा सो नृत्य देखाइन्छ । नृत्य मञ्चन गरिने स्थान पाटनमा ललितपुर भेगकै सर्वप्राचीन ढुङ्गेधारा मंगहिटी अर्थात् मणिधारा रहनाका साथै दरबारबाट पूर्वतर्फ रुद्रवर्ण महाविहार नपुग्दै सडकको बायाँपट्टि लुँहिटी वा नुगःहिटी अर्थात् नेवारी शब्दमा लुँहिटीको अर्थ सुनको धारा अर्थात् सुन्धारासमेत देख्न पाइन्छ ।
विश्व पर्यटक आगमन तथा आकर्षणका हिसाबले काठमाडौँ उपत्यकामा ललितपुर दरबार अग्रणी छ । विशेषतः सांस्कृतिक रसास्वादनका लागि विश्वका पर्यटक पाटनको भूमिमा पाइला टेक्ने गरेका पाटनवासीको बुझाइ छ । ललितपुर दरबारको सेरोफेरोमा लिच्छिविकालदेखिका अभिलेख अनि मूर्तिकला र स्थापत्य अर्थात् ढुङ्गेधार र चैत्यका प्रमाण पाइन्छन् । विसं २०४१ मा सो दरबार क्षेत्रलाई सरकारले संरक्षित स्मारक क्षेत्र घोषणा गरेको सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले जानकारी दिए ।
















कांग्रेसमा अब कुनै गुट छैनः प्रदेश सभापति शर्मा
ICC T20 World Cup Global Qualifiers: Ireland trounces Thailand
441 polling stations in Karnali Province are highly sensitive
इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा
मुग्लिन-मलेखु सडकको म्याद ६ महिना थपियो
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
प्रतिक्रिया