मंगलबार, वैशाख १, २०८३

कोरोनाविरुद्ध खोप लगाउन कुर्नु पर्दैन : मन्त्री खतिवडा

मेरोन्यूज २०७८ मंसिर २ गते १२:४२

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरसविरुद्धको खोप लगाउन पालो कुर्नु नपर्ने बताएका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज फाइजर खोपको अभियानका सन्दर्भमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुसँगको संयुक्त अनुगमनमा उनले खोपको अभाव नहुँदा जुनुसुकै खोप केन्द्रमा गई लगाउन सक्ने बताए ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

‘अब कहाँ, कुन बार, कुन दिन खोप लगाउन पाइन्छ भनेर कुर्नु पर्दैन’, मन्त्री खतिवडाले भने, ‘सर्वसाधारणले आफूलाई पायक पर्ने खोप केन्द्रमा गई जुनसुकै बेला पनि खोप लगाउन सक्छन् ।’ उनका अनुसार वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सैनिक अस्पताल र नेपाल पुलिसको अस्पतलामा २४ सै घण्टा सर्वसाधारणलाई खोपको व्यवस्था गरिएको छ ।

मन्त्री खतिवडाले केही दिनपछि जिल्लामा पनि जुनुसुकै बेला सर्वसाधारणले खोप लगाउन सक्ने गरी व्यवस्थापन गर्न लागिएको जानकारी दिए । उनले फाइजर खोपबाट देखिने प्रभावलाई न्यूनीकरण गर्न पहिलो चरणमा १२ वर्षदेखि माथिको उमेर समूहका दीर्घरोगीलाई खोप प्रदान गरिएको बताए । ‘खोपले के कस्तो प्रभाव पार्छ भनेर हामीले जनशक्तिलाई प्रशिक्षित गर्न पहिलो चरणमा दीर्घरोगीलाई खोप लगाउन थालेका हौँ’, उनले भने ।

मन्त्री खतिवडाले एक महिनापछि १२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप प्रदान गरिने बताएका थिए । सरकारले ६० लाख फाइजर खोप ल्याउन अन्तिम तयारी गरेको छ ।

मन्त्री खतिवडाले कोरोनाविरुद्धको लडाइँमा अमेरिकालगायत छिमेकी मुलुकसँग सँगसँगै अगाडि बढ्ने बताए । स्वास्थ्य बीमालाई सहज बनाइने उनको भनाइ थियो ।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाललाई कोरोना भाइरसविरुद्धको लडाईमा अमेरिकी सरकारले सुरुदेखि नै साथ दिएको बताएका थिए । उनले कोभ्याक्समार्फत नेपाललाई फेरि खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

फाइजर खोपको पहिलो मात्रा लगाउने अभियान यही कात्तिक २८ देखि मंसिर ४ गतेसम्म देशभरका २४ अस्पतालबाट सञ्चालन भइरहेको छ । अमेरिकी सरकारले कोभ्याक्स सुविधामार्फत नेपाललाई एक लाख ६२० मात्रा खोप उपलब्ध गराएको हो ।

प्रतिक्रिया