शुक्रबार, वैशाख ४, २०८३

कांग्रेस काठमाडौँको मतदान सकियो, केहीबेरमा मतगणना हुने

मेरोन्यूज २०७८ मंसिर १२ गते २१:०५

काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँको मतदान सकिएको छ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आइतबार बिहान १० बजेदेखि सुरु भएको मतदान केही बेरअगाडि सम्पन्न भएको हो । मतदानमा तीन हजारभन्दा बढी क्षेत्रीय प्रतिनिधिले भाग लिएका छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

काठमाडौँ कांग्रेसका सभापति कृष्ण (सबुज) बानियाँले सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएकाले आज रातिदेखि नै मतगणना गरिने जानकारी दिए । सबैभन्दा धेरै निर्वाचन क्षेत्र रहेको काठमाडौँमा १० निर्वाचन क्षेत्र, २० प्रदेश सभा निर्वाचन क्षेत्र, १० नगरपालिका र एक महानगरपालिका तथा १३८ वडा रहेका छन् । कांग्रेस काठमाडौँको वडा अधिवेशन, पालिका अधिवेशन, प्रदेशसभा क्षेत्र अधिवेशन र क्षेत्रीय अधिवेशन यसअघि नै सम्पन्न भइसकेको छ ।

काठमाडौँ कांग्रेसको सभापतिका लागि वर्तमान सभापति बानियाँ र क्षेत्र नं २ का सभापति उपेन्द्र कार्कीबीच समूहसहित प्रतिस्पर्धा भएको छ । बानियाँ समूहको उपसभापतिमा राजकुमार नकर्मी र गोकर्ण केसी, सचिवमा इन्द्रबहादुर थापा र गोविन्द पुडासैनी र सहसचिवमा रोमेल श्रेष्ठ र प्राडा अमिता प्रधानले उम्मेदवारी दिए ।

यस्तै, कार्की समूहको उपसभापतिमा धर्मराज अर्याल र रामलाल श्रेष्ठ, सचिवमा कुमारराज सुवेदी र सागर रञ्जित तथा सहसचिवमा लक्ष्मण गौतम र सुस्मिता प्रधानले उम्मेदवारी दिएका थिए । कांग्रेसको प्रदेश अधिवेशन यही मंसिर १६ र १७ गते तथा केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौँमा गर्ने तय भएको छ ।

प्रतिक्रिया