कांग्रेसको १४ औँ महाधिवेशन
कस्तो बनाउँलान् देउवाले पदाधिकारीमा आफ्नो प्यानल ?
यी नेता छन्, आकांक्षी

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन गर्ने निर्धारित मिति एक साता मात्रै बाँकी छ । कांग्रेसले आगामी २४ देखि २६ गतेसम्म काठमाडौँमा पार्टीको महाधिवेशन गर्ने कार्य तालिका सार्वजनिक गर्दै त्यहीअनुरुप मातहतका समितिहरुमा अधिवेशन गरिरहेको छ ।
कांग्रेसले प्रदेश २ बाहेकका स्थानमा प्रदेश अधिवेशन १६ मंसिरमा उद्घाटन गरिसकेको छ । त्यहाँ नयाँ नेतृत्व चयनका लागि आज अधिवेशन हुँदैछ । प्रदेश २ मा भने मातहतका अधिवेशन गर्न समय लागेकाले प्रदेश अधिवेशन उदघाटन भएको छैन ।
अहिलेसम्म कांग्रेस निर्वाचन समितिले दिएको जानकारीअनुसार ६१ जिल्लामा जिल्ला अधिवेशन भएको छ । बाँकी १६ जिल्लामा भने महाधिवेशनपछि अधिवेशन गर्ने निर्णय निर्वाचन समितिले गरेको छ । प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट केन्द्रमा प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधि चुनिने भएकाले जिल्ला अधिवेशनपछि गर्दा पनि फरक नपर्ने भन्दै त्यो अधिवेशन सारिएको निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए ।
केन्द्रमा महाधिवेशन प्रतिनिधि आउने प्रतिनिधि सभा क्षेत्रीय अधिवशेन अब ६ क्षेत्रमा मात्रै गर्न बाँकी रहेको र नतिजा आउन नौ क्षेत्रको बाँकी छ । तर, नयाँ नेतृत्व चुन्ने केन्द्रीय महाधिवेशनका लागि कसैले प्यानलगत उम्मेदवारी भने घोषणा गरिसकेका छैनन् । स्पष्ट रुपमा दुई गुट रहेको कांग्रेसमा संस्थापन र नेता रामचन्द्र पौडेल समूहले प्यानलगत रुपमा उम्मेद्वारी घोषणा गर्न सकेका छैनन् ।
संस्थापनइतर समूहमा त सभापतिका आकांक्षी नै धेरै रहेको र मिल्ने सम्भावना पनि ज्यादै न्यून रहेकाले प्यानलगत उम्मेद्वारी घोषणा हुन समय लाग्ने नेताहरु बताउँछन् । संस्थापन समूहको नेतृत्व गरेका प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले पनि प्यानल बनाउन सकिरहेका छैनन् । संस्थापनबाट उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेद्वारी दिने भनेर एक महिनाअगावै नयाँ बानेश्वरमा सम्पर्क कार्यालय नै बनाइसकेका छन् । अर्का पूर्वउपसभापति गोपालमान श्रेष्ठले सभापतिमा दाबी गरेर उम्मेद्वारी दिने बताए पनि आफ्नो जिल्लामा नराम्रोसँग आफ्नो समूह पराजय भएपछि अहिले सेलाएका छन् ।
निधिलाई देउवाले फकाउने प्रयास नै नगर्ने सार्वजनिक रुपमा बताइसकेका छन् । त्योबाहेक सभापतिमा उनको समूहमा उनलाई टक्कर दिन्छु भन्ने नेता कोही देखिएका छैनन् । तर, दुई उपसभापति, दुई महामन्त्री र ८ सहमहामन्त्रीमा धेरै नेता आकांक्षी देखिएकाले प्यानल बनाउन सकेका छैनन् । कम्तिमा पनि २२ गते प्यानल घोषणा गर्ने आन्तरिक तयारी भइरहेको उनी निकट स्रोतले जानकारी दियो ।
स्रोतका अनुसार देउवाले दुई उपसभापतिमध्ये एकमा विजयकुमार गच्छदारलाई बनाउने निधो गरेका छन् । अर्को एउटा उपसभापतिमा सकभर संस्थापनइतरका नेतालाई ल्याएर बनाउने तयारी देउवाको छ ।
प्रकाशमान सिंह, वर्तमान कार्य समितिमा महामन्त्री डा. शशांक कोइरालासँग कुराकानी भइरहेको निकटस्थ स्रोत बताउँछ । अन्तिम अवस्थामा सिंह देउवा गुटमा पुग्ने सम्भावना व्यापक रहेको पनि स्रोतहरु बताउँछन् ।
देउवासँगै रहेका सिंह १२ औँ महाधिवेशनमा तत्कालीन संस्थापन र अहिलेको संस्थापनइतर समूहमा पुगेका थिए । १३ औँ महाधिवेशनमा पनि सहयोग गरेका र अहिले जिल्लाका अधिवेशनमा पनि सहकार्य गरिरहेका नेता कृष्णप्रसाद सिटौला समूहलाई आफ्नो समूहमा ल्याएर सिटौलालाई नै उपसभापतिको उम्मेदवार बनाउने सम्भावना पनि रहेको स्रोत बताउँछ ।
महामन्त्रीमा ठूलो भिडन्त नै छ । महामन्त्रीका लागि गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँण, सहमहामन्त्री प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, नेताहरु एनपी साउद, वर्तमान सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लागिरहेका छन् । तर, देउवाले एउटामा महामन्त्रीमा गृहमन्त्री खाँणलाई उम्मेदवार बनाउने निश्चितजस्तै रहेको स्रोतहरु बताउँछन् । तरुण दल र नेपाल विद्यार्थी संघ दुवैको नेतृत्व रहेको संगठनमा पकट राम्रो रहेकाले खाँणलाई महामन्त्रीमा निश्चित गरेको देउवा निकट स्रोतले बतायो ।
बाँकी नेताहरुमा सहमहामन्त्री डा. महत र प्रवक्ता शर्मालाई सार्वजनिक रुपमा नै नेतृत्वमा पुग्ने बेला भएको छैन भनेर देउवाले उम्मेद्वार नबनाउने संकेत दिएका स्रोतहरु बताउँछन् । बाँकी रहे कार्की र साउद उनीहरुमध्ये साउदको सम्भावना बढी रहेको स्रोत, बताउँछ ।
एक खुल्लासहित ८ सहमहामन्त्रीमा भने धेरैको हानथाप छ । महामन्त्रीमा दाबी गरेका नेतालाई पनि खुल्ला सहमहामन्त्रीमा भने सम्भावना बढी देखिन्छ । खुल्ला सहमहामन्त्री एउटा हो । खुल्ला सहमहामन्त्रीमा सुनिल थापा, गोविन्द भट्टराई, रामहरि खतिवडा, रमेश लेखकसहितका नेता लागिरहेका छन् ।
त्यस्तै, महिलामा देउवा समूहबाट अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, महालक्ष्मी उपाध्याय (डिना), पुष्पा भुसाल र डिला संग्रौलाले आकांक्षा देखाएका छन् । संग्रौलाले त उम्मेद्वारी घोषणा गरेर प्रचार प्रसार गरिसकेकी छन् । तर देउवाले उपाध्यायलाई बनाउने सम्भावना रहेको स्रोत बताउँछन् । जनजाति सहमहामन्त्रीमा भिष्म आङ्दाम्बेले उम्मेद्वारी घोषणा गरेर प्रचार प्रसार सुरु गरिसकेका छन् । उनी अहिले अनुशासन विभागको संयोजक पनि हुन् । यो पदका लागि चिनकाजी श्रेष्ठ पनि लागिरहेका छन् । अर्को समूहबाट नेताहरुलाई ल्याउने तयारी पनि देउवाले थालेका छन् ।
मुस्लिममा फरमुल्लाह मन्सुर र अतहर कमालले टिकट पाउनु पर्छ भनिरहेका छन् । मधेसको सहमहामन्त्रीमा महेन्द्र यादव, जितेन्द्रनारायण देव, प्रमोद यादव, सिताराम मेहता, पदमनारायण चौधरीलगायत नेता लागिरहेका छन् । थारु महामन्त्रीमा रामजनम चौधरी, योगेन्द्र चौधरी पार्वती डिसी चौधरी, पदमनारायण चौधरीसहितका नेताहरु लागिरहेका छन् । पिछडिएको क्षेत्रको सहमहामन्त्रीमा जीवनबहादुर शाहीको सम्भावना देखिन्छ । दलित सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा, मिन विश्वकर्मा र सुजाता परियारले दाबी गरिरहेका छन् ।
प्रतिक्रिया