मंगलबार, पुष ८, २०८२

कांग्रेस महाधिवेशन

कांग्रेसमा अब नयाँ खेल कि झेल ?

मेरोन्यूज २०७८ मंसिर २८ गते १०:०१

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा बहुमत पुग्न नसकेपछि सभापति पदका लागि पुनः दोस्रो चरणमा निर्वाचन हुने भएको छ ।

सभापति पदका पाँच उम्मेदवार मध्ये सबैभन्दा बढी मत ल्याएका शेरबहादुर देउवालाई मात्र ८१ मत अपुग रह्यो । आफ्नो पक्षका नेता विमलेन्द्र निधिलाई मिलाएर लैजान सकेको भए पहिलो चरणमै देउवा सभापति बन्ने थिए । देउवाले वेवास्ता गरेर निधिलाई रुष्ट बनाए । निधिले चुनावमा पराजित हुने जानेरै देउवाकै भोट काट्न उम्मेदवारी दिए ।

निधिले साथ दिएको भए पहिलो निर्वाचन परिणामअनुसार देउवाले सहजै जीत हात पारेका थिए । पहिलो चरणमा देउवाले २२ सय ५८ मत प्राप्त गर्दा निधिले २ सय ४९ मत प्राप्त गरे । यो मत देउवाका जीतका लागि प्रयाप्त थियो ।

यता, संस्थापन इतर पक्षका नेता प्रकाशमानको अडानले गर्दा रामचन्द्र पौडेलले प्रतिष्पर्धाबाट बाहिरिनु पर्यो । पौडेलले साझा उम्मेदवार बनाउनका लागि त्यागको भावनासमेत देखाएका थिए । तर सिंहले टेरेनन् । तर सिंहले सोंचेजस्तो परिणाम पनि आएन । सिंहको हैसियत झण्डै झण्डै निधिकै जस्तो देखियो ।

संस्थापन इतर पक्षका नेता डा.शेखर कोइरालाले १७ सय २९ मत पाउँदा प्रकाशमानले मात्रै ३ सय ७१ मत प्राप्त गरे । यसले कांग्रेसको संस्थापन इतर पक्षमै प्रकाशमानको अवस्था कमजोर देखियो । संसदीय निर्वाचनमा सिंहले आफूले पाएको मत देखेर आफूलाई कांग्रेसमा बलियो ठानेका थिए । काठमाडौंको आफ्नो निर्वाचन क्षेत्रका खासगरी नेवार समुदायमा सिंहको राम्रो पकड छ । यो पकडलाई समेत यो नजिताले प्रभाव पार्ने राजनीतिक विश्लेषकहरु बताउँछन् ।

अब देउवासँग रुष्ट बनेका निधिले देउवालाई हराउने रणनीति बनाए भने र संस्थापन इतर पक्षमा एक ठाउँमा उभिएको खण्डमा देउवालाई नयाँ नेतृत्व हत्याउन हम्मे हम्मे पर्नेछ । अब देउवा र कोइरालाले कस्तो खेल खेल्छन् भन्नेमा भर पर्छ ।

देउवा सत्ता र शक्ति हत्याउन माहिर खेलाडी हुन् । त्यसैले उनको चतुर्याई खेलमा मात्रै होइन, झेलमा पनि हुन्छ भन्ने अड्कल धेरैको छ । आफ्नो राजनीतिलाई बचाई राख्न प्रतिष्पर्धाबाट बाहिरिएका नेता रामचन्द्र पौडेल फेरि पनि मौन बस्नेछन् वा नयाँ रणनीतिमा साथ दिनेछन्, त्यसले पनि प्रभाव पार्ने देखिएको छ ।

सभापति पदको दोस्रो चरणको निर्वाचनअघि अन्य पदाधिकारीको मत गणना गर्ने हो भने दोस्रो चरणमा परिणाम अर्कै बन्ने निश्चित छ । त्यसैले अन्य मत गणना नगरी सभापति पदमा दोस्रो चरणमा निर्वाचन गर्ने पक्षमा कांग्रेसको निर्वाचन समितिले तयारी थालेको छ ।

प्रतिक्रिया