कांग्रेस महाधिवेशन
देउवा पक्षले किन गुमायो उपसभापति र महामन्त्री ?

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीको नतिजा सार्वजनिक भइसकेको छ । एक सय २१ सदस्यहरुको भने मतगणना भइरहेको छ ।
पदाधिकारीको मतगणना सकिँदासम्म धेरैले देउवाले आफू मात्र कसरी जित्ने भन्ने रणनीतिमा अगाडि बढ्दा एक उपसभापति, महामन्त्री दुई र सहमहामन्त्री दुई उम्मेद्वारले पराजित व्यहोरेको बताउँछन् ।
संगठनमा कसको पकड राम्रो छ, कसलाई उम्मेद्वार बनाउँदा अर्कोपटक माथि जान सक्छन् र आफूलाई काम गर्न सजिलो हुन्छ भन्नेभन्दा आफूले सभापति जितेमा भइहाल्छ भन्ने रणनीतिमा जाँदा दुई पद नै गुमाएका छन् । त्यतिमात्र होइन, धेरैले देउवा भए हुन्छ भनेर लागेका नेताहरु रुष्ट भएका छन् ।
संस्थापनबाट महामन्त्रीका लागि गृहमन्त्रीसमेत रहेका नेता बालकृष्ण खाँण, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेता एनपी साउद, रमेश लेखक आकांक्षी थिए । तर देउवाले जनाधार नभएका डा. प्रकाशशरण महतलाई महामन्त्रीको उम्मेद्वार बनाउने निर्णय लिए । अर्को महामन्त्री पदमा आफूलाई जित्न सहज हुन्छ भनेर नेता कृष्णप्रसाद सिटौला समूहका सबैभन्दा जुनियर प्रदीप पौडेललाई उम्मेद्वार बनाए । त्यसपछि समूहमा ब्यापक असन्तुष्टि छायो ।
अघिल्लो कार्य समितिमा प्रवक्ता रहेका विश्वप्रकाश शर्मा सहमहामन्त्रीबाट खस आर्यतर्फको उम्मेद्वार हुन मानेनन् । र, विद्रोह गरे । प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीको उम्मेद्वार बनेका शर्मा निर्वाचित भए ।
नेता डा. महत संस्थापन समूहमा जनाधार नभएका नेताका रुपमा चिनिन्छन् । उनी दुई पटकसम्म समानुपातिकतर्फबाट सांसद भएर उर्जा र परराष्ट्रमन्त्री बने । तर, २०७४ सालको निर्वाचनमा काठमाडौँ ५ बाट फराकिलो मतान्तरले एमालेका तत्कालीन महासचिव ईश्वर पोखरेलसँग पराजित भए । देउवाले १३ औँ महाधिवेशनपछि बल्ल बल्ल खुल्लातर्फ केन्द्रीय सदस्य जितेका महतलाई सहमहामन्त्रीमा मनोनित गरे ।
अहिले उनै महतलाई महामन्त्री बनाएपछि देउवा समूहमा चरम असन्तुष्टि देखियो । शर्माबाहेक अरुले विद्रोह त गरेनन् । तर, जति सहयोग गर्नु पर्ने हो, त्यति सहयोग गरेनन् ।
गृहमन्त्री खाँण २०४६ सालको जनआन्दोलदनमा भ्रातृ संस्था नेपाल विद्यार्थी संघको अध्यक्षको हैसियतमा जनआन्दोलनमा नेतृत्वदायी भूमिका निभाएका र २०६२÷०६३ मा नेपाल तरुण दलको अध्यक्षको हैसियतमा जनआन्दोलनको नेतृत्व गरेका नेता हुन् ।
यति मात्र होइन, उनी २०४८, २०५१, २०६४, २०७० मा प्रतिनिधि सभा सदस्य पनि जितेका थिए । प्रतिनिधि सभा सदस्य भएर पार्टी प्रतिपक्षीमा हुँदा प्रमुख सचेतक र अहिले गृहमन्त्री छन् । नेविसंघ र तरुण दलको नेतृत्व गरेकाले संगठनमा राम्रो पकड छ । कार्की र साउद पनि नेविसंघका पूर्व अध्यक्ष हुन् । कार्कीको भन्दा साउदको संगठनमा राम्रै पकड छ । उनलाई देउवापछि सुदूरपश्चिममा जनाधार भएका नेताका रुपमा चिनिन्छ । तीनपटक सांसद जितेका र मन्त्री पनि भइसकेका साउदलाई देउवाले महामन्त्रीमा मात्रै होइन, उपसभापति र सहमहामन्त्रीमा पनि उपयुक्त पात्र ठानेनन् ।
अहिले सुनसरी ३ बाट निर्वाचित र यसअघि समानुपातिक सांसद हुँदै अर्थ, कानुन, ऊर्जा र सञ्चारमन्त्री बनेका कार्कीलाई पनि देउवाले पदाधिकारीमा उपयुक्त पात्र ठानेनन् । हुन त खाँण र साउदको तुलनामा कार्कीसँग त्यति जनाधार नभएको कांग्रेस नेताहरु बताउँछन् । तर, उनले महामन्त्रीमा चयन गरेका महतको भन्दा जनाधार कार्कीकै धेरै छ ।
लेखकले पनि महामन्त्रीमा आकांक्षा देखाएका थिए । उनी पनि कञ्चनपुरबाट निर्वाचित सांसद र संविधानसभामा समानुपातिकतर्फका सांसद पनि भए । सांगठनिक जनाधार धेरै राम्रो नभए पनि नेता कार्यकर्तालाई कन्भिन्स गर्ने क्षमता र कानुनमा राम्रो दख्खल राख्ने लेखक पनि उनको रोजाइमा परेनन् ।
जसले नतिजा आयो, देउवाको विपक्षीमा अर्थात देउवाले चयन गरेका दुवै उम्मेदवार फराकिलो अन्तरले पराजित भए । युवा नेताद्वय गगन थापा र शर्माले महामन्त्रीमा बाजी मारे । शर्मा देउवा समूहबाट विद्रोह गर्दै महामन्त्रीको उम्मेद्वार बने ।
उपसभापतिमा पनि देउवाले छानेका एक उम्मेदवार पराजित भएका छन् । विजयकुमार गच्छदार पराजित भएर डा. शेखर कोइराला पक्षमा धनराज गुरुङ निर्वाचित भएका छन् । यहाँ देउवाका सारथीहरु धेरैले नेता सिटौलासँग सिटौलालाई उपसभापति दिएर महामन्त्री दिन नहुने सुझाव दिएका थिए । देउवाले गच्छदारले नमान्ने भन्दै गच्छदारलाई उपसभापतिबाट छोड्न नसक्ने बताएका थिए । र महामन्त्री पद छाडेका थिए । गच्छदारको भ्रष्टाचारसम्बन्धी मुद्दा अहिले विशेष अदालतमा चलिरहेको छ । त्यसले पनि कार्यकर्ताले उनलाई रुचाएका छैनन् । तथापि, उनले झिनो मतान्तरले पराजय ब्यहोरे ।
सहमहामन्त्रीमा पनि त्यस्तै देखिएको छ । जनाधार भएका नेताहरुलाई उम्मेदवार बनाएको कलष्टरमा देउवा पक्षका उम्मेद्वारले जितेका छन् । नभएका उम्मेद्वार बनाएका स्थानमा पराजय ब्यहोरे । ८ कलष्टरका सहमहामन्त्रीमध्य दुई कलष्टरका सहमहामन्त्री संस्थापनले गुमाएको छ । दलिततर्फको र पिछडिएको क्षेत्रको सहमहामन्त्री देउवा समूहले गुमाएको हो ।
दलिततर्फ संस्थापनबाट मानबहादुर विश्वकर्मा र मिन विश्वकर्मा दाबेदार थिए । तर, देउवाले मानबहादुर रोजे । पुराना नेता भए पनि मानबहादुरसँग जनाधार नभएकाले परासजित भए ।
युवा पुस्ताका सालिन नेता जीवन परियारले विजय हासिल गरे । पिछडिएको क्षेत्रको सहमहामन्त्रीका ६ सिट हुँदा पनि मुख्यमन्त्रीमा मरिहत्ते गरेको आरोप लागेका जीवनबहादुर शाहीलाई देउवाले उम्मेद्वार बनाए । त्यसमा धेरै नेता कार्यकर्ताको असन्तुष्टि थियो । त्यहि रिस मतदानमा पोखे हराएर ।
तथापि, १३ सदस्यीय निर्वाचित पदाधिकारीमा संस्थापनको सभापति, एक उपसभापति र ६ सहमहामन्त्रीसहित ८ जनाले जितेका छन् । यो बहुमत हो । डा. शेखर कोइराला समूहले एक उपसभापति, एक महामन्त्री र दुई सहमहामन्त्री जितेको छ । भने नेता प्रकाशमान सिंह समूहले एक महामन्त्रीमा बाजी मारेको छ ।















यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आईसीसी टी२० विश्वकप : भारत र न्युजिल्यान्ड भिड्दै
प्रतिक्रिया