शनिबार, पुष १२, २०८२

माओवादी महाधिवेशन

प्रचण्डको दस्तावेजमा ‘प्रचण्डपथ’को समिक्षा

कार्यकर्तालाई कृषि कार्यमा लगाउन प्रस्ताव

मेरोन्यूज २०७८ पुष १२ गते १७:२४

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक दस्तावेजमा प्रचण्डपथको समिक्षा गरिएको छ ।

माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनमा प्रचण्डले प्रस्तुत गरेको एक सय पृष्ठ लामो राजनीतिक दस्तावेजमा प्रचण्डपथको बारेमा समिक्षा गरिएको छ ।

‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो’ नामक प्रचण्डको राजनीतिक दस्तावेजमा प्रचण्डपथ स्थगन गर्नु गल्ती भएको उल्लेख गरिएको छ । उनले आफ्नो दस्तावेजमा प्रचण्डपथ स्थगन गर्नु गल्ती भएको भन्दै आत्मालोचना गरेका छन् । आइतबार महाधिवेशनको उदघाटन सत्रमा पनि प्रचण्डले आफ्नो दस्तावेजमा आफ्नै आलोचना बढी गरेको उल्लेख गरेका थिए ।

कार्यकर्तालाई कृषि कार्यमा लगाउन प्रस्ताव


माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक दस्तावेजमा पार्टी कार्यकर्तालाई कृषि कार्यमा लगाउँदै श्रममा जोड्नुपर्ने प्रस्ताव पनि गरेका छन् ।

महाधिवेशनको बन्दसत्रमा दुई घण्टा भन्दा बढी समय लगाएर प्रचण्डले बाचन गरेको प्रतिवेदनमा पार्टीलाई उत्पादनसँग जोड्नुपर्ने भन्दै युवा कार्यकर्तालाई कृषि कर्ममा लगाउनुपर्ने उल्लेख गरिएको छ ।

गएको निर्वाचनमा नेतृत्व तहमा जित हासिल गरेको स्थानीय तह तथा संठन मजबुत भएको स्थानीय तहमा ५० ५० जना युवा परिचालन गरी कृषि काममा लगाउनुपर्ने प्रस्ताव गरिएको छ ।

त्यसबाहेक हरेक कार्यकर्ताले वर्षमा कम्तिमा १५ दिन अनिवार्य श्रममा जोडिनुपर्ने प्रस्ताव पनि प्रचण्डको दस्तावेजमा छ ।

एक वर्षमा कम्तीमा १५ दिन पार्टीका नेता कार्यकर्तालाई श्रम गर्नुपर्ने र त्यसको रेकर्ड पार्टी केन्द्रमा पठाउनुपर्ने प्रस्ताव दस्तावेजमा छ ।

प्रतिक्रिया