बुधबार, वैशाख ९, २०८३

प्रहरी प्रमुखलाई नै सुरक्षामा खटाउन गृहमन्त्रीको निर्देशन

मेरोन्यूज २०७८ पुष १३ गते २०:५१

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले कैलालीको लम्की र अमरावतीमा प्रमुख प्रमुखलाई नै खटाउन निर्देशन दिएका छन् ।

Advertisement
NiccNicc

कैलालीको लम्कीमा प्रहरी नायव उपरीक्षकको नेतृत्वमा र कैलालीकै जानकी गाउँपालिका वडा नं ९ अमरावतीमा प्रहरी नायव निरीक्षकको नेतृत्वमा सुरक्षा फौज खटाउन प्रहरी प्रधान कार्यालयका अतिरिक्त प्रहरी महानिरीक्षक विश्वराज पोखरेल र सुदूरपश्चिम प्रहरी प्रमुख पुरुषोत्तम कँडेललाई निर्देशन दिएका हुन् ।

कैलालीको जानकी गाउँपालिका–काठमाडौँ सम्पर्क समितिले बुझाएको ध्यानाकर्षण पत्र मंगलबार सिंहदरबारमा बुझ्दै गृहमन्त्री खाणले पोखरेल र कँडेललाई तत्काल सुरक्षा फौज र अहिले रहेको भन्दा माथिल्लो दर्जाको अधिकृतलाई नेतृत्वमा खटाउन निर्देशन दिए ।

त्यस्तै, गृहमन्त्री खाणले प्रहरी प्रधान कार्यालयलाई अमरावती प्रहरी कार्यालयमा सवारी साधनको व्यवस्था गर्न पनि निर्देशन दिए ।

अहिले अमरावतीमा प्रहरी सहायक निरीक्षक र लम्कीमा प्रहरी निरीक्षकको नेतृत्वमा सुरक्षा फौज तैनाथ छ ।

गृहमन्त्री खाणले नागरिकको जीवन रक्षाका लागि सरकार संवेदनशील रहेको बताए । नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सरकारले कुनै कसुर बाँकी नराख्ने उनको भनाइ छ ।

टोलीले गृहमन्त्री खाणलाई बुझाएको ध्यानाकर्षण पत्रमा कात्तिक २३ गते टिकापुरमा भएको भुपेन्द्र बडुवाल हत्या प्रकरण सेलाउन नपाउँदै पुस २ गते जानकी गाउँपालिका ९ अमरावतीमा अर्जुन दास हत्याको निष्पक्ष छानबिन गरी दोषीलाई कानुन बमोजिम कारबाहीको माग गरिएको छ ।

त्यस्तै, ध्यानाकर्षण पत्रमा कमजोर सुरक्षा निगरानीका कारण कैलाली हत्या हिंसाको केन्द्र बनेकाले रोक्न पहल गरिदिन माग गरिएको छ ।

प्रतिक्रिया