मंगलबार, पुष ८, २०८२

माओवादी नेतृत्व चयन प्रक्रिया सुरु, मतदाता नामावली टाँस गरियो

मेरोन्यूज २०७८ पुष १७ गते १६:५४

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले २ सय ९९ केन्द्रिय समिति सदस्य चयन गर्ने प्रक्रिया सुरु गरेको छ । नेपाल प्रज्ञा भवन जारी महाधिवेसनमा सकेसम्म सर्वसम्मत रुपमा केन्द्रिय सदस्य चयन गर्ने प्रयास जारी राखेको बेला निर्वाचन समितिले मतदाता नामावली सार्वजनिक गरेको हो ।

केन्द्रिय नेतृत्व देखी प्रदेशस्तरसम्म सहमतिमा केन्द्रिय समिति बनाउने भन्दै पाँच बजेसम्मका लागि स्थगित कार्यक्रमका बिचमा नै मतदाता नामावलीको सुचना टाँस गरिएको हो ।

आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार कूल एक हजार ७४२ मतदाताको नामावली सार्वजनिक गरिएको हो । नामावलीमा आयोजक समिति, विभिन्न विभाग, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समिति तथा पार्टी एकता प्रक्रियामा सहभागी भएका तथा मनोनित प्रतिनिधि समेटिएको छ । नयाँ नेतृत्व चयनका लागि आयोगका तर्फबाट मतदाता नामावली प्रकाशन गरिएको आयोगले जनाएको छ ।

आज मात्रै माओवादीको विधान सर्वसहमतिले पारित गरेको हो । पारित विधान अनुसार १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्न लागिएको छ । स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधानका सन्दर्भमा उठेका प्रश्नका जवाफ दिएपछि विधान पारित गरिएको हो । विधानअनुसार खुल्ला ५० प्रतिशत र ५० प्रतिशत समानुपातिक प्रणालीका आधारमा नेतृत्व चयन गरिने भएको छ ।

यस्तै, केन्द्रीय समितिले १५ प्रतिशत मनोनयन गर्ने व्यवस्था गरिएको छ । कूल ५० प्रतिशत समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेशी, आदिवासी, जनजाती, खस आर्य, अपाङ्गता भएका, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर तय गरिएको छ । केन्द्रीय समितिमा सबै क्लस्टर र खुल्लाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्ष मुनीका युवाको प्रतिनिधित्व गराइने भएको छ । सहमतिमा नै नेतृत्व चयन गर्ने तयारीमा आफूहरू रहेको माओवादीले जनाएको छ । नयाँ नेतृत्व चयनलगायत विषयमा छलफल गर्न आजै स्थायी समितिको बैठक महाधिवेशन स्थल कमलादीमा बसेको थियो ।

प्रतिक्रिया