मनाङ ‘ए डिभिजन लिग’ को शीर्ष स्थानमा

कास्की । घरेलु मैदानमा बिग्रेड ब्वाइज क्लब (बिबिसी) माथि १–० को जित निकाल्दै मनाङ मस्र्याङदी क्लब ‘सहिद स्मारक ए डिभिजन लिग’ फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
घरेलु मैदान पोखरा रंगशालामा आज आफ्नो दोस्रो खेलमा मनाङले बिबिसी माथि कठिन र संघर्षपूर्ण जित निकाल्दै लिगको अंक तालिकाको पहिलो स्थानमा उक्लिन सफल भयो । यससँगै मनाङले एएफसी कप छनोट खेल्ने सम्भावना पनि कायमै राखेको छ । घरेलु मैदानमा दोस्रो खेल खेल्ने क्रममा मनाङलाई बिबिसीले दबाबमा राखेको थियो । पहिलो हाफको इन्जुरी समयमा मनाङले कप्तान अञ्जन विष्टको गोलमार्फत खेलमा अग्रता बनायो ।
मनाङका विदेशी खेलाडी दयानन्न सिंहको पासमा खेलको ‘म्यान अफ दी म्याच’ घोषित विष्टले हेडमार्फत गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाए । यसअघि खेलको १५औँ मिनेटमा बिबिसीले अग्रता बनाउने सुन्दर मौका खेर फाल्यो । मनाङका डिफेण्डर आदित्य चौधरीले बिबिसीका शिशिर लेखीलाई हाफल गरेपछि रेफ्रीले पेनाल्टीको अवसर दिएकामा लेखीको पेनाल्टी प्रहार पोष्टमाथिबाट आकाशियो ।
घरेलु मैदानमा मनाङले आफ्नो स्वभाविक खेल प्रस्तुत गर्न नसक्दा खेल अवधिभर दबाबमा परेको थियो । बिबिसीले दोस्रो हाफमा पनि गोलका सुन्दर मौका सिर्जना गरेपनि सदुपयोग गर्न सकेको थिएन । मनाङ बिबिसीसँगको खेल जित्नै पर्ने दबाबमा थियो । एएफसी कपमा सहभागिता जनाउने आफ्नो गणितीय सम्भावना कामयै राख्नसमेत आजको खेल जित्नै पर्ने दबाब थियो मनाङ । लिगको छैटौँ चरणको खेलमा मछिन्द्र फुटबल क्लबसँग पराजित भएपछि मनाङको एएफसी कपमा छनोट हुने सम्भावना कमजोर बनेको थियो ।
बिबिसीसँँगको खेलपछि मनाङ १६ अंकसहित लिगको अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । मनाङभन्दा एक खेल कम खेलेको मच्छिन्द्र फुटबल क्लब १४ अंकसहित दोस्रो स्थानमा छ । मनाङको ध्यान बिबिसीसँग खेलपछि अब मछिन्द्र र नेपाल पुलिस क्लबबीच आइतबार हुने खेलमा हुनेछ । पुलिससँग मछिन्द्र पराजित वा बराबरी खेलेको अवस्थामा मनाङले नेपालको प्रतिनिधित्व गर्दै एएफसी कपमा सहभागिता जनाउने छ । मछिन्द्र विजयी भएको अवस्थामा भने मनाङको एएफसी खेल्ने सम्भावना अन्त्य हुनेछ । मछिन्द्र एएफसीका लागि छनोट हुनेछ ।
प्रतिक्रिया