बुधबार, चैत ४, २०८२

हत्याका प्रतिवादी एक दशकपछि पक्राउ

मेरोन्यूज २०७८ माघ ८ गते ८:०४

काठमाडौँ हत्यामा संलग्न भई नौ वर्षदेखि फरार रहेका बेथानचोक गाउँपालिका ४ का ३३ वर्षीय निलबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । नौ वर्षअघि साविक चलालगणेशस्थान गाविस २ का १८ वर्षीय एन्जल तामाङको हत्यामा संलग्न भई निलबहादुर फरार अवस्थामा रहिआएको प्रहरीले जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

उनलाई भक्तपुरको दूधपाटीमा लुकीछिपी बसेको अवस्थामा शुक्रबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत धुलिखेल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए । उनका अनुसार २०६९ कात्तिक ८ गते स्थानीय गणेश निम्न माध्यमिक विद्यालयमा सांस्कृतिक कार्यक्रमका क्रममा दुई गाउँलेबीच झडप हुँदा प्रतिवादीसमेतले धारिलो हतियार प्रहार गरी एन्जलको हत्या गरेका थिए ।

अदालतले २०७४ असार १४ गते प्रतिवादी निलबहादुरलाई २० वर्ष कैद सजाय फैसला सुनाएको थियो । प्रहरीले यसअघि गत मंगलबार एन्जलको हत्यामा संम्लग्न भएका अर्का एक प्रतिवादी बेथानचोक गाउँपालिका ४ का फौदे भनिने २५ वर्षीय पोते तामाङलाई पक्राउ गरेको थियो ।

उनलाई पनि जिल्ला अदालतले सोही दिन २० वर्ष कैद फैसला सुनाएकामा कार्यान्वयनका लागि अदालत पेश गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया