उपरथी कार्कीमाथि ‘चेन अफ कमाण्ड’ तोडेको आरोप, बिदामा बस्न निर्देशन

काठमाडौँ । नेपाली सेनाका उपरथी अनन्त कार्कीलाई चेन अफ कमाण्ड तोडेको आरोपमा घर बिदा पठाइएको छ । पुस ३० को मन्त्रिपरिषद् बैठकले सेनाका उपरथीद्वय सीताराम खड्का र ताराध्वज पाण्डेको म्याद दुई वर्ष थप गर्ने निर्णय गरेपछि आफूलाई अन्याय भएको भन्दै रक्षा मन्त्रालयमार्फत प्रधानमन्त्री कार्यालय र प्रधानमन्त्रीलाई समेत उजुरी गरेपछि उनलाई चेन अफ कमाण्ड तोडेको आरोप लागेको हो ।
उपरथि कार्कीले माघ २५ गतेबाट अनिवार्य अवकाश पाउँदै छन् । त्यसअघि कार्कीले बढुवाका लागि लविङ गरेका थिए । तर, उनको लविङलाई सेनाका अधिकारीहरुले मन पराएका थिएनन् । प्रधानमन्त्री शेरबहादुर देउवाका तत्कालीन एडिसी रहेका सेनाका उपरथी कार्की १० माघदेखि घर बिदामा बस्ने भएका छन् । कार्कीलाई बिदामा बस्न प्रधानसेनापति प्रभुराम शर्माले आदेश दिइसकेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री देउवाले सेनाको प्रस्तावमा कुनै पनि प्रकारको हस्तक्षेप नगरेपछि कार्की १० पुसबाटै घर बिदामा बस्न लागेका हुन् । प्रधानसेनापति शर्माको सिफारिसका आधारमा दुई जनाको म्याद थपिएको हो ।
वरीयतामा अगाडि रहेका उपरथी कार्कीको भने प्रधानसेनापति शर्माले म्याद थप नगरेपछि उजुरी बोकेर रक्षा मन्त्रालय पुगेका थिए । तर, मन्त्रालयले उनको सो उजुरीलाई ध्यान दिएन । ‘उपरथीद्वय सीताराम खड्का र ताराध्वज पाण्डेको म्याद थपिएको औपचारिक जानकारी जंगी अड्डालाई प्राप्त भएको जंगी अड्डाले जनाएको छ ।
‘उपरथीद्वय खड्का र पाण्डेको म्याद थप भएको छ, कार्कीलाई घर बिदा बस्नु भनिएको हो कि जस्तो छ’, सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले भने । सेनामा प्रधानसेनापतिले नै संस्थापक निर्णय लिने भएकाले अन्य विषयहरु चेन अफ कमाण्डभित्रै गर्नु पर्ने सेनाको जिकिर छ ।
उपरथी कार्कीले म्याद थपका लागि प्रधानसेनापतिबाट सिफारिसमा नपरेपछि आफूमाथि अन्याय भएको भन्दै रक्षा मन्त्रालयमार्फत प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवालाई निवेदन दिएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालाई बोधार्थ दिएर दिएको निवेदनमा कार्कीले आफू एक नम्बर वरीयताको उपरथी भएको भन्दै पदावधि थप गरिदिन आग्रह गरेका थिए ।
प्रधानसेनापति शर्माले १६ पुसमा उपरथीद्वय खड्का र पाण्डेको म्याद थपका लागि रक्षा मन्त्रालयमार्फत मन्त्रिपरिषदमा सिफारिस गरेका थिए । त्यस आधारमा ३० पुसमा मन्त्रिपरिषद्ले उनीहरूको म्याद थपेको थियो । कार्की पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापाको निर्णय प्रक्रियामा प्रभावित पार्ने तीन उपरथीमध्येका एक थिए ।
उनीबाहेक हाल पश्चिम कमान्ड सेनापति उपरथी प्रेम शाही र पूर्वउपरथी रघु भण्डारी पूर्वप्रधानसेनापति थापाका निकट थिए । शाहीले सेनाका महत्वपूर्ण निकायमा सधैँ अवसर प्राप्त गरिरहे भने अवकाश पाउनासाथ भण्डारीलाई राष्ट्रिय सेवा दलको महानिर्देशकमा नियुक्ति गराए ।
भण्डारी अहिले महानिर्देशकका रूपमा कार्यरत छन् । कार्कीलाई पूर्वप्रधानसेनापति थापाले नीति तथा योजना महानिर्देशनालयमा महानिर्देशक बनाएका थिए । कार्की शान्ति सेनामा अन्र्तगत मिसनमा गएकाबेला तथा जुम्लामा गुल्मपति हुँदा अन्धाधुन्ध ८१ इन्च मोर्टार ८० राउन्ड फायर गरेको भन्दै सेनामा उजुरी परेको थियो । तर, कार्कीमाथि सेनाले कहिले छानबिन गरेन ।
कार्की प्रधानमन्त्री देउवा प्रधानमन्त्री हुँदा २०५८ सालमा उनका एडिसी थिए । पूर्वप्रधानसेनापति थापाले गत चैत १२ गते उपरथीत्रय अनन्त कार्की, सीताराम खड्का र ताराध्वज पाण्डेको म्याद थपका लागि रक्षा मन्त्रालयमा सिफारिस गरेका थिए । म्याद सकिनुभन्दा १० महिनाअघि थपका लागि गरेको सिफारिस रक्षा मन्त्रालयले रोकेपछि कार्कीले अवकाशमा जानु परको थियो ।
सेनामा यसअघि पनि वरीयतामा अगाडि रहेका उपरथीहरूको म्याद थपिएको थिएन । २०६३ सालमा तत्कालीन उपरथी प्रदीपप्रताप बम मल्लको म्याद नथपिएपछि उनले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
सर्वोच्चले उनको पक्षमा फैसला गरे पनि तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटवालले उनलाई बहाली गरेनन् । प्रधानसेनापति राजेन्द्र क्षेत्रीका पालामा उपरथी विनोज बस्न्यातको म्याद थपिएको थिएन ।
प्रतिक्रिया