बिहीबार, जेठ १५, २०८२

शशांकले तीनवटा गाडी र रोलेक्स घडी घुस लिए, स्पष्टीकरण सोध्नुपर्छ : सांसद बजगाईं

मेरोन्यूज २०८२ जेठ १३ गते १४:१९

काठमाडौँ । नेपाली कांग्रेस सांसद राजेन्द्र बजगाईंले पार्टीका सांसद तथा पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई स्पष्टीकरण सोध्नुपर्ने माग गरेका छन् ।

शशांकले ३ वटा गाडी, सुनको रोलेक्स घडी र पैसा घुस वापत् लिएको आरोप लगाउँदै सांसद बजगाइँले उनलाई स्पष्टीकरण सोधिनुपर्ने बताए ।

सोमबार सामाजिक सञ्जालमा उनले लेखेका छन्- ‘म चाहँदैनथेँ कि मलाई किया र दुईवटा महिन्द्राजस्ता एसयूभी उपहारहरू, सुनको रोलेक्स घडी, नगदले भरिएका डफेल झोलाहरू, तथाकथित ‘घरको जीर्णोद्धार’ वा राजनीतिक पदहरूको सौदाबाजीबारे प्रश्न उठाउनुपरोस् । तर याद राख्नुहोस्, स्पष्टीकरण तपाईंलाई सोधिनै पर्नेछ,’ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीकाे नाम मुछिएपछि बजगाईंसहित कांग्रेसकै केही नेताहरुले उनले राजीनामा दिनुपर्ने बताएका थिए ।

सोमबार पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा शशांकले मन्त्रीहरूमाथि प्रश्न उठाउने नेताहरूलाई स्पष्टीकरण सोध्नुपर्ने बताएका थिए । शशांकले सांसदहरू डा. शेखर कोइराला, डा. सुनील शर्मा र बजगाईंलाई स्पष्टीकरण सोध्नुपर्ने माग गरेका थिए ।

तर सांसद बजगाईंले घुस लिएको आरोप लगाउँदै स्पष्टीकरण उल्टै शशांकलाई सोध्नुपर्ने बताएका हुन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि प्रश्न उठेपछि पार्टीकै केहि नेताहरुले उनलाई हटाउनुपर्ने माग राखेका छन् भने काेही उनकाे बचाउमा उभिएका छन् ।

प्रतिक्रिया