शुक्रबार, पुष ११, २०८२

क्रोएसिया जान लागेका इलामका एक युवा सात दिनदेखि बेपत्ता

मेरोन्यूज २०७८ माघ १२ गते ९:३९

इलाम । इलामका एक युवा सात दिनदेखि बेपत्ता भएका छन् । इलाम माइजोगमाई गाउँपालिका–५ सोयाङका २२ वर्षीय पुजन बस्नेत सात दिनदेखि वेपत्ता भएका हुन् ।

विदेश जाने तयारीमा रहेका बस्नेत भारतबाट सम्पर्कविहीन भएको परिवारले जनाएको छ ।

पारिवारिक स्रोतका अनुसार विराट ओभरसिजमार्फत क्रोएसिया जाने तयारीमा रहेका बस्नेत एक महिना पहिला काठमाडौँ पुगेका थिए ।

क्रोएसियाका लागि भारतको पहाडगञ्ज भन्ने ठाउँमा यातायात छाप लगाउन भन्दै बस्नेतसहित केही युवा एजेन्टमार्फत भारत गएका थिए ।

विदेश लैजाने एजेन्ट एकराज शेर्माका सहयोगी कल्याण राईसँगै यही माघ ५ गते भारत पुगेका उनी भारतबाट नै सम्पर्कविहीन भएका हुन् ।

भारतको गुलाफ होटलमा बसेको सम्म जानकारी भए पनि त्यहीँबाट सम्पर्कविहीन भएको उनका भाइ पुकार बस्नेतले जानकारी दिए ।

उनका अनुसार बास बस्नका लागि होटल बुक गरेर बस्नेतलाई होटलमै छाडेर सँगै गएका पोखराका आशिष रानाभाटसहितको टिम फर्किएर आउँदा बस्नेत होटलमा नरहेको बताइएको छ । त्यहीँबाट बस्नेत सम्पर्कविहीन हुनुभएको आशिषले बताए । उनीसँग रानाभाटसहित मोरङका मनप्रसाद योङहाङ, मनबहादुर योङहाङ र कल्याण राईसमेत रहेका थिए ।

परिवारका सदस्य बेपत्ता भएपछि बस्नेत परिवारमा चिन्ता छाएको छ । बस्नेत परिवारले घटनाका बारेमा थप बुझीदिन र सम्पर्कविहीन व्यक्तिको खोजी गरिदिन सम्बन्धित सबैमा आग्रहसमेत गरेको छ ।

बस्नेत होटलबाट एक्लै घुम्न जाँदा पुनः होटल नचिनेर सम्पर्कविहीन भएको वा अन्य केही भएको भन्नेबारे अन्योल छ । बस्नेत परिवारले म्यानपावरसँग समेत खोजी गरिदिन आग्रह गरेको छ ।

प्रतिक्रिया