प्रधानमन्त्री र सभामुखबीच भेटघाटमा ‘आइसब्रेक’ !
आठ महिनापछि प्रधानमन्त्री र सभामुखबीच आइतबार दुई घण्टा बढी ‘वान टु वान’ भेटघाट

काठमाडौं । प्रधानमन्त्री र प्रतिनिधिसभाका सभामुखका बीचमा बेलाबेला भेटघाट हुनुपर्ने हो । तर प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटका बीचमा गत भदौ दोस्रो सातायता प्रत्यक्ष संवाद हुन सकेको थिएन । विशिष्ठ कार्यक्रममा यदाकदा भेट भए पनि ओली र सापकोटाका बीचमा खास संवाद भएकाे थिएन ।
तर एक अर्काप्रतिको आशंकाकै बीच आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री र सभामुखबीच झण्डै दुई घण्टा बढी भेटवार्ता भएको छ । कार्यपालिका प्रमुख र व्यवस्थापिका प्रमुखको एक्लाएक्लै भेटवार्ता भएको थियो । यो भेटवार्तालाई सम्बन्धमा देखिएको तीतोपना माझ्ने आइसब्रेकका रुपमा पनि लिइएको छ ।
प्रधानमन्त्री ओली र सभामुख सापकोटाका बीचमा बिहान ११ देखि साढे १ बजेसम्म बालुवाटारमा संवाद भएको थियो ।
तत्कालीन नेकपा (एमाले र माओवादीबीचको पार्टी एकतापछिको पार्टी) मा आफू अप्ठ्यारोमा पर्दै जान थालेपछि ओलीले सभामुख सापकोटासँग संवाद र परामर्शबिनै प्रतिनिधिसभाको जारी अधिवेशन अन्त्य गरिदिएका थिए । त्यसपछि नै दुई नेताका बीचमा सामान्य मनमुटाव शुरु भएको थियो ।
तर यसभित्रको अन्तर्य भने ओली एउटा कित्ता र सापकोटा अर्काे कित्ताका नेता हुनुनै मुख्य कारण रहेको जो कोहीले पनि सहज बुझ्ने विषय हो । संसद् अधिवेशन अन्त्य गर्ने बेलामा अन्य सरकार प्रमुखले सभामुखसँग सल्लाह गर्ने गरेकामा प्रधानमन्त्रीले हठात् निर्णय लिएको भन्दै सापकोटाले यदाकदा असन्तुष्टि पोखेका थिए ।
त्यसपछि भदौ दोस्रो सातादेखि न प्रधानमन्त्रीले सभामुख सापकोटासँग भेट्न आवश्यक ठाने, न सभामुख सापकोटा नै समय लिएर प्रधानमन्त्रीलाई भेट्न पाए ।
त्यसयताका घटनाक्रममा त प्रधानमन्त्री र सभामुखको प्रष्ट रुपमै कित्ताकाट भयो । प्रधानमन्त्रीले सभामुखसँगको परामर्शबिनै आफ्ना निकटकालाई संवैधानिक परिषदमा नियुक्तिका लागि संवैधानिक परिषदको बैठक आह्वान गर्न खोजे । कोरम पुर्याउनका लागि मात्र आफूलाई बोलाउन खोजिएको तर बैठकका एजेण्डा र निर्णय प्रक्रियाका विषयमा कुनै परामर्श नगरेको भन्दै सभामुख संवैधानिक परिषदको बैठकमै सहभागी भइदिएनन् ।
ओलीले त्यसलाई आफूमाथि सभामुखको असहयोगका रुपमा अर्थ्याउन थाले । संवैधानिक अंगकै प्रमुखकै असहयोगले संवैधानिक परिषदको बैठक बसेर रिक्त स्थानमा नियुक्ति गर्न नसकिएको र काम नै प्रभावित भएको भन्दै ओलीले अध्यादेशबाट बाटो खुलाउने कदम चाले । अर्थात् प्रधानमन्त्रीले प्रतिपक्षी दलका प्रमुखसमेत नभएपनि नियुक्तिको बाटो खुल्ने गरी अध्यादेश ल्याए । त्यसपछि उनले आफूलाई सजिलो हुने गरी संवैधानिक परिषदको काम, कर्तव्य र अधिकारसम्बन्धी अध्यादेश ल्याउने काम गरे ।
त्यही खालको अध्यादेश ओलीले त्यसभन्दा ८ महिना अगाडि गत वैशाख ८ मा पनि ल्याएका थिए । तर त्यसबेला चौतर्फी विरोधपछि उनी चार दिनमै अध्यादेश फिर्ता लिन बाध्य भएका थिए ।
त्यसपछि ओलीले अध्यादेश ल्याएर संवैधानिक नियुक्तिका निर्णय लिए । सभामुख सापकोटा नियुक्ति असंवैधानिक भएको भन्दै सर्वाेच्च अदालत नै पुगे । फेरि प्रधानमन्त्रीले पुस ५ मा संसद् विघटनको निर्णय लिए ।
प्रतिनिधिसभामा आफूसँग ६४ प्रतिशत सांसद रहेको र संसद् निरर्थक भएपछि त्यसै समय किन सिध्याउने भन्दै ताजा जनादेशमा जाने निर्णय आफूले लिएको ओलीको तर्क थियो । उनले आफूबाहेक संसदमा अर्काे सरकार बन्न सक्ने अवस्था नरहेको तर्क गर्दै पार्टीमा आफूलाई आइलागेको संकट टार्ने उपायको खोजीमा संसद् विघटनको बाटो रोजेका थिए ।
त्यसमा पनि सभामुख ओलीको कदमको विपक्षमा उभिए । यस अगाडि नै सरकारले पास गर्न खोजेको अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) परियोजना संसदमा टेबुल गर्न नल्याएकामा पनि प्रधानमन्त्री सभामुखसँग आक्रोशित थिए । तर सभामुखले यस्ता विषयमा दलहरुका बीचको आमसहमतिको खोजी गरिरहेका थिए ।
प्रतिनिधिसभा विघटन र अध्यादेशमार्फत संवैधानिक परिषद्का नियुक्तिमा लिएका निर्णयविरुद्ध सभामुख छुटाछुट्टै निवेदन बोकेर सर्वाेच्च पुगे । कार्यपालिकाको प्रमुखले गरेको निर्णयविरुद्ध व्यवस्थापिकाका प्रमुख अदालत जानु नौलो कुरा थियो ।
जब प्रतिनिधिसभा पुनःस्थापना भयो, त्यसपछि पनि सरकारले यसबीचमा ल्याएको अध्यादेश सदनमा टेबुल गर्न सभामुखले सेटिङमै नदिएको आरोप प्रधानमन्त्रीको थियो । शनिबार मात्रै पनि एक अन्तर्वार्तामा प्रधानमन्त्रीले त्यस्तै आरोप लगाएका थिए ।
‘सभामुखले सेटिङमा काम गरिरहनुभएको छ । किनभने पहिले जुन कार्यसूची थियो एक घण्टा बन्द कोठामा बसेर कार्यसूची परिवर्तन गरेर … । हाम्रो परामर्श चाहिँदैन ? सरकार चाहिँदैन त्यसमा ? सरकार विरोधीसँग बसेर सेटिङ गर्ने हो एक–एक घण्टासम्म ?’ प्रधानमन्त्रीले भनेका थिए, ‘सरकार बाहिर पर्खेर बस्ने, प्रधानमन्त्री बाहिर पर्खेर बस्ने । प्रधानमन्त्रीसँग परामर्श गर्नुपरेन, अरूसँग बसेर प्लानिङ गरेर अनि केही परिवर्तन गरिएको छ र १० मिनेट स्थगित गरिएको छ । १० मिनेटपछि केही पनि गरिँदैन ।’
ओलीको आक्रोश संसद्को पहिलो सदनमै संसद् नबसेका बेला ल्याएका अध्यादेश टेबुल गर्नुपर्ने संवैधानिक प्रावधान तोडिएकाप्रति थियो । पुनःस्थापित संसदमा प्रधानमन्त्री एक दिन पनि बसेका छैनन् । सभामुख र प्रधानमन्त्रीका बीचमा देखिएको टकरावले संसद्ले विजनेस नै पाउन नसकेपछि गत चैत २ को कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्री र सभामुखका बीचमा संवाद हुनुपर्ने माग उठेको थियो । एमालेका तर्फबाट खगराज अधिकारी, विशाल भट्टराईदेखि कानूनमन्त्रीसम्मले पनि यस कुरामा जोड दिएका थिए ।
माओवादी केन्द्र, नेपाली कांग्रेसलगायत दलका नेताले पनि राज्यका दुई अंगका प्रमुखका बीचमा संवाद हुनुपर्ने बताएका थिए । त्यसपछि भने सभामुख सापकोटाले नै राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेश भ्रमणमा जाने कार्यक्रममा अन्तर्राष्ट्रिय विमानस्थलमा उभिदा–उभिँदै भेटका लागि समय मागे । उनले आफूले भेटका लागि समय मागेको चैत ९ मा सञ्चारकर्मीसँग पनि बताएका थिए ।
‘कानूनमन्त्रीमार्फत सरकारको कुरा संसदमा आइरहेको छ, संसद्को कुरा पनि गइरहेको छ । प्रधानमन्त्रीसँग छलफलका लागि समय मागेको छु, समय प्राप्त होला’ सभामुख सापकोटाले त्यसदिन पत्रकारसँग भनेका थिए ।
तर शनिवारको एक अन्तर्वार्तामा ओलीले भनेका थिए,–‘सभामुखले समय माग्नुभयो भने नदिने कुरा भएन नि ! उहाँले भेट्नलाई कठीन छैन । फेरि म त्यस्तो भेट्दै नभेट्ने बोलीचाली बन्द गर्ने असजिलो मान्छे पनि होइन ।’ त्यसपछि भने आइतबारको भेट सम्भव भएको हो ।
सभामुखका सञ्चारविज्ञ श्रीधर न्यौपानेले संसद्लाई जीवन्त र जनमुखी बनाउने विषयमा प्रधानमन्त्रीसँग सभामुखले संवाद गरेको जानकारी दिए । ‘सभामुखले संसद्लाई प्रभावकारी बनाउने विषयमा सधैँ चासो राखिरहनु भएको छ । यसलाई जीवन्त र जनमुखी बनाउने, विधेयकका विषय कसरी अगाडि जाने भन्नेलगायत विषयमा प्रधानमन्त्रीसँग संवाद भयो’ प्रधानमन्त्रीसँगको भेटपछि सभामुखका सञ्चारविज्ञ न्यौपानेले मेरोन्यूजसँग भने ।
प्रधानमन्त्री र सभामुखबीचको तिक्त सम्बन्धले संसद् सञ्चालनमा जटिलता निम्ताउने हुन सक्छ । दुवै मिलेर जानुको अर्काे बिकल्प नै थिएन । अबको एक महिनापछि सरकारले संसद्को आठौं अधिवशेन बोलाउनुपर्ने हुन्छ । जसपाले प्रधानमन्त्री ओलीलाई सरकार टिकाउन साथ दिए पनि सरकारको नीति तथा कार्यक्रम पास गर्नेदेखि बजेट पारित गराउने विषयसम्ममा प्रधानमन्त्रीलाई पनि सभामुखको सहयोगी भूमिका आवश्यक पर्छ ।
सभामुखलाई पनि संसद् प्रभावकारी बनाउन, सरकारका विजनेस ल्याइरहनका लागि पनि प्रधानमन्त्रीसँग सम्बन्ध सुधारको आवश्यकता देखिन्छ । दुवैका आवश्यकताका बीचमा आइतबार भएको संवादलाई धेरैले प्रधानमन्त्री–सभामुख सम्बन्धमा ‘आइसब्रेक’का रुपमा अर्थ्याएका छन् ।
















राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी
लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
प्रतिक्रिया