बिहीबार, वैशाख ३, २०८३

महामारीविरूद्ध संघर्ष गर्न विश्वव्यापी सन्धिको आवश्यकता

मेरोन्यूज २०७७ चैत १७ गते २०:०८

पेरिस । बेलायत,फ्रान्स,जर्मनीलगायत विश्वका २० भन्दा बढी मुलुकका नेताहरूले भविष्यमा हुने विश्वव्यापी महामारीहरूविरूद्ध लड्न तयारीका लागि अन्तर्राष्ट्रिय सन्धि गर्न आह्वान गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ, जर्मनीका चान्सलर एङ्गेला मेर्कलसहितका नेताहरूले कोभिडले दोस्रो विश्वयुद्धपछि विश्वका सामु सबैभन्दा ठूलो चुनौती खडा गरेको भन्दै यस प्रकारका समस्यासँग जुझ्नका लागि सन्धि गरिनुपर्नेमा जोड दिएका विश्व प्रसिद्ध समाचार संस्थाहरूले बताएका छन् ।

उनीहरूका अनुसार यस्तै प्रकृतिको अर्को विश्वव्यापी महामारी भविष्यमा पनि हुनसक्ने भन्दै यसका लागि अहिले नै तयारी थाल्नुपर्ने बताएका हुन् । वर्तमान् महामारीले संसारका सबै मानिस सुरक्षित नभएसम्म कोही पनि सुरक्षित रहँदैनन् भन्ने पाठ सिकाएको पनि उनीहरूले उल्लेख गरेका छन् ।

विश्वका प्रमुख शक्ति मानिने मुलुकहरूका नेताहरूले आआफ्ना देशका केही चर्चित पत्रपत्रिका तथा अन्य सञ्चारमाध्यमहरूमा सम्प्रेषित लेखमा २४ नेताहरूले देशहरूबीच आपसी सहयोगको सहज वातावरण तयार पार्न दोस्रो विश्वयुद्धको समाप्तिपछि भएको जस्तै प्रकारको सन्धि आवश्यक भएको तर्क गरेका बताइएको छ ।

अब संसारका देशहरू ‘भविष्यमा हुने महामारीको सटिक अनुमान गर्न, रोकथाम गर्न, पत्ता लगाउन, समीक्षा गर्न र त्यसप्रति प्रभावकारी ढङ्गले उच्चस्तरको संयोजित प्रतिक्रिया जनाउन सक्ने’ अवस्थामा रहनुपर्ने उनीहरूको भनाइ छ । एउटा नयाँ सन्धिले सम्भावित महामारीका बारेमा जनतालाई सावधान गराउन अझ प्रभावकारी प्रणालीहरूको स्थापना गर्न सघाउने उनीहरू बताउँछन्।

सन्धिबाट महामारीसँग सम्बन्धित तथ्याङ्कहरूको आदानप्रदान, खोपहरू तथा सुरक्षात्मक पोसाक र उपकरणहरूको वितरणजस्ता आवश्यकताहरूको व्यवस्थित सम्बोधन हुने विश्वास उनीहरूले गरेका हुन् ।

नेताहरूको उक्त संयुक्त लेख हालै यूके र युरोपेली सङ्घबीच खोपहरूको विषयलाई लिएर उत्पन्न भएको असहमतिको केही समयपछि आएको हो । ईयूले आफ्नो सीमाभित्र उत्पादित खोपहरूको निर्यातमा कडा नियन्त्रण लागु गरेपछि त्यस्तो विवाद उत्पन्न भएको बताइएको छ ।

प्रतिक्रिया