एमालेमा समानान्तर कमिटी विस्तारमा तीव्रता
यी हुन् नेपाल पक्षका १८ जिल्लाका १८ कमाण्डर (सूचीसहित)

काठमाडौं । नेकपा (एमाले) झलनाथ खनाल-माधव नेपाल पक्षले देशव्यापी समानान्तर कमिटी बनाउने क्रममा आइतबारसम्म १८ जिल्लामा समानान्तर जिल्ला कमिटी बनाएको छ ।
पहिलो चरणमा काठमाडौंसहित गण्डकी प्रदेशका सबै जिल्ला कमिटीहरु बनाइएका छन् । पूर्वमा चार जिल्लामा पनि समानान्तर कमिटी बनाइसकेका छन् ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गत बिहीबारमात्रै पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेका सुरेन्द्र पाण्डेले गण्डकी प्रदेशको कमाण्ड सम्हाल्दै सबै जिल्लामा समानान्तर जिल्ला कमिटी बनाएका छन् ।
खनाल–नेपालकै उपस्थितिमा आइतबार वसन्त मानन्धरकाे नेतृत्वमा एक सय ६८ सदस्यीय काठमाडौं जिल्ला कमिटीको घोषणा गरिएकाे छ । शुक्रबार र शनिबार कलंकीको मेघा पार्टी प्यालेसमा बसेको माधव नेपाल समूहकाे केन्द्रीय कमिटीको बैठकले गण्डकीमा सुरेन्द्र पाण्डे, प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, वागमतीमा अष्टलक्ष्मी शाक्य, लुम्बिनी र कर्णालीमा युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेशमा भीम रावल इन्चार्ज तोकेर समानान्तर कमिटी बनाउने निर्णय गरेको थियो ।
त्यही अनुसार एमाले अध्यक्ष ओलीले निलम्बन गरेका नेता पाण्डेलाई गण्डकी प्रदेशको संयोजक बनाइएको छ । कास्कीमा बिहीबार नेता नेपालकै उपस्थितिमा भएको भेलाबाट पाण्डेलाई प्रदेश संयोजक तोकेको छ ।
पाण्डेले २५ सदस्यीय सचिवालयसमेत बनाएका छन् । केन्द्रीय सदस्य दिलु पन्तका अनुसार गण्डकी प्रदेशका सबै जिल्लामा अध्यक्ष र सचिव चयन भइसकेका छन् । उनका अनुसार प्रदेश कमिटीको सहसंयोजकमा तुलबहादुर गुरुङ र श्रीमाया थकाली चयन भएका छन् ।
‘देशभर नै समानान्तर कमिटी बनाउने निर्णय भएको छ त्यही अनुसार गण्डकीका सबै जिल्लामा समानान्तर कमिटी बनेको हो’, केन्द्रीय सदस्य पन्तले भनिन् । हाल गण्डकीमा पार्टीको स्थापनाकालदेखिनै लागेको धेरैजसो नेताहरु माधव नेपाल पक्षमा खुलेर लागेका छन् ।
बिहीबारको भेलाले गण्डकी प्रदेशका सबै जिल्लामा समानान्तर कमिटी गठन गरेको छ । एमालेको बर्चश्व रहेको गण्डकी प्रदेशमा पार्टीमा लामो समय काम गरेका नेताहरु आबद्ध भएकाले पनि सुरेन्द्र पाण्डेलाई संयोजक बनाएर पठाइएको थियो ।
संयोजक तोकिएकै तेस्रो दिन गण्डकीमा प्रदेश कमिटी गठन गरेर उनी शुक्रबार र शनिबार पूर्वको उदयपुर पुगेका थिए । केन्द्रीय सदस्य पन्तका अनुसार कास्कीमा अध्यक्ष धनराज आचार्य र सचिवमा होम नेपाली चयन गरिएको छ ।
स्याङजामा अध्यक्ष रामचन्द्र भट्टराई र सचिवमा भूपराज अधिकारी चयन गरिएको छ । म्याग्दीमा बालकृष्ण सुवेदी, बागलुङमा इन्द्रलाल सापकोटा, पर्वतमा भक्त कुँवर र सचिवमा पदमपाणी शर्मा चयन भएका छन् । शर्मा भने ओली पक्षका नेता आनन्द पोखरेलका छोरी ज्वाई हुन् ।
त्यस्तै तनहुँमा शंकरनारायण श्रेष्ठ अध्यक्ष चयन भएका छन् भने गोरखामा यसअघि उपाध्यक्ष यादव बस्नेतको नेतृत्वमा समिति गठन गरिएको र कार्यालय समेत सञ्चालनमा आइसकेको छ । नवलपुर र लम्जुङमा पनि अध्यक्ष र सचिव चयन भैसकेको केन्द्रीय सदस्य पन्तले बताइन् ।
नेपाल पक्षले यसअघि खोटाङमा बबी चाम्लिङलाई अध्यक्षमा चयन गरिसकेको छ । यसैगरी सर्लाहीमा रेवती पन्त चयन भइसकेका छन् । सर्लाहीमा ओली समूहले पन्तलाई अध्यक्ष अस्वीकार गरिसकेको छ । भोजपुरमा शरण राईलाई संयोजक तोकिएको छ ।
संखुवासभामा हेमराज घिमिरेको नेतृत्वमा जिल्ला कमिटी पुनर्गठन भएको छ । तेह्रथुमको जिल्ला कमिटीमा एक पदाधिकारीबाहेक सबै नेपाल पक्षमै रहेका छन् । त्यस्तै अर्घाखाँचीमा रामबहादुर चौहानलाई संयोजक बनाइएको छ ।
युवा संघमा नरेश शाही, विद्यार्थीमा सुदेश पराजुलीलाई अध्यक्ष बनाइएकाे छ । युवा संघको भने छुट्टै कार्यालय बनाइएको छ । यता काठमाडौं जिल्ला कमिटी अध्यक्ष भएका वसन्त मानन्धरले वडा तहसम्मै कमिटी निर्माण गर्ने बताएका छन् ।
क्र.स | जिल्ला | अध्यक्ष |
१. | काठमाडाैं | वसन्त मानन्धर |
२. | खोटाङ | बबि चाम्लिङ |
३. | सर्लाही | रेवती पन्त |
४. | भाेजपुर | शरण राई |
५. | संखुवासभा | हेमराज राई |
६. | अर्घाखाँची | रामबहादुर चाैहान |
७. | तनहुँ | शंकरनारायण श्रेष्ठ |
८. | गाेरखा | यादव बस्नेत |
९. | स्याङ्जा | रामचन्द्र भट्टराई |
१०. | म्याग्दी | बालकृष्ण सुवेदी |
११. | बागलुङ | इन्द्रलाल सापकाेटा |
१२. | कास्की | धनराज आचार्य |
१३. | तेह्रथुम | – |
१४. | नवलपुर | – |
१५. | लमजुङ | – |
१६. | मनाङ | – |
१७. | मुस्ताङ | – |
१८. | पर्वत | – |
१९. | युवा संघ | नरेश शाही |
२०. | विद्यार्थी | सुदेश पराजुली |
प्रतिक्रिया