समीक्षा
वर्ष २०७७ : प्रधानमन्त्री ओलीले के गरे, कहाँ चुके ?
पार्टीभित्रको आन्तरिक किचलो व्यवस्थापनमै प्रधानमन्त्री केपी ओलीले २०७७ साल पूरै खर्चेका छन, तर पनि उनको घर झगडाको खड्को टरिसकेको भने छैन ।

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा दिएर सत्ताको बागडोर सम्हालेपनि नारा अनुसारको काम गर्न सकेका छैनन् । सत्ताको तालाचाबी बुझेपछिको एक वर्ष संविधानअनुसारको कानून निर्माणमा समय खर्चेका प्रधानमन्त्री ओली जनताको अपेक्षाअनुसारको काम गर्न भने चुकेका छन् ।
वर्ष २०७६ मा अस्पताल आउजाउ र बिरामी प्रधानमन्त्रीका रुपमा बिताएका ओलीले वर्ष २०७७ पार्टीभित्रकै घर झगडामै बिताएका छन् ।आफ्नाे सरकार टिकाउन र प्रचण्ड –माधव नेपालले बनाउने योजनाको रणनीतिक प्रतिवादमै ओलीको वर्ष २०७७ बितेको छ ।
अध्यादेश प्रकरण
प्रधानमन्त्री ओलीले वर्ष २०७७ को शुरुआतमै दुई ओटा अध्यादेश ल्याए । दल विभाजन सहज हुने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश र संवैधानिक निकायका पदाधिकारीको काम, कर्तव्य र अधिकारसम्बन्धी दुई अध्यादेश प्रधानमन्त्री ओलीले गत वैशाख ८ मा ल्याए ।
पार्टीभित्र प्रचण्ड र माधव नेपाल पक्षका नेताको घेराबन्दीमा पर्दै जान थालेको महसुस गरेपछि उनले आफ्नै पार्टीभित्र आफूलाई सुरक्षित राख्ने उद्देश्यका साथ त्यस्तो अध्यादेश ल्याएका थिए । समाजवादी पार्टी र राजपालाई समेत टुक्राउने गुरुयोजनाका साथ उनले अध्यादेश ल्याएको भन्दै त्यसबेला ओलीको चर्काे आलोचना भयो ।
अझ ओली निकटका सांसद महेश बस्नेत र पूर्वआईजिपी सर्वेन्द्र खनाल सांसद अपहरणमा समेत मुछिएको आरोप लाग्यो । अन्तत: पार्टीभित्रकै २० स्थायी समिति सदस्यले अध्यादेश फिर्ता लिन र तत्काल पार्टी बैठक बाेलाएर छलफल गर्न माग गरेपछि ओली अध्यादेश ल्याउने निर्णयबाट पछि हटे । उनले चार दिनमै दुवै अध्यादेश फिर्ता लिए ।
यसले ओलीको राजनीतिक जीवनमा धक्का दियो । कोभिडको सन्त्रासमा जनता लकडाउनमा बसिरहेका बेला सरकारले भने त्यसतर्फ ध्यान नदिएर अध्यादेश ल्याउने तिर केन्द्रित गरेको भन्दै ओलीको त्यसबेला निक्कै आलोचना बढेको थियो ।
वामदेवलाई प्रधानमन्त्री बनाउने नयाँ ‘फन्डा’
पार्टीभित्र प्रधानमन्त्री ओली सचिवालय बैठकमा अप्ठ्याराेमा परेपछि उनले नयाँ तुरुप फ्याँके । अर्थात वामदेव गौतमलाई आफू पछिको प्रधानमन्त्री । प्रतिनिधिसभा सदस्यसमेत नरहेका र सांसद बन्नका लागि अनेक प्रयास गर्दा पनि सफल हुन नसकिरहेका गौतमलाई प्रधानमन्त्रीले प्रधानमन्त्री बनाउने प्रस्ताव गरे ।
यो २०७७ वैशाख १७ को तत्कालीन नेकपा सचिवालय बैठकको कुरा हो । प्रधानमन्त्री ओलीको राजीनामा प्रचण्ड, माधव नेपाललगायतका नेताले सचिवालय बैठकमै आलाेचना गरेपछि त्यसलाई काउन्टर दिनका लागि ओलीले त्यस्तो तुरुप फ्याँकेका थिए । ओलीको त्यस्तो प्रस्तावमा वामदेव लोभिए ।
भोलिपल्टै ओलीले आफूले टियरग्यास हानेको तर नेताहरु त्यसैमा परेको बताएर नेताहरुलाई नै ‘अक्क न बक्क’ बनाइदिए । अझ उनले अंग्रेजी नजान्ने वामदेवलाई म प्रधानमन्त्री बनाउँछु र ? भन्दै अन्य नेतालाई टियर ग्यास मात्र पो छोडेको भन्दै प्रतिक्रिया दिए । त्यसपछि वैशाख २० मा फेरि पार्टीभित्र सबै नेताले सोपानक्रममा आत्मआलोचना गर्ने भन्दै विवाद मिलाएर जाने बताएका थिए । त्यो विवाद समाधानको सूत्र पनि दुई दिन पनि टिकेन ।
स्थायी समिति बैठकमा लफडै–लफडा
वैशाख १० मा पार्टी स्थायी समिति बैठक बोलाउन माग गर्दै २० जना स्थायी समिति सदस्यले बैठक माग गरेपछि असार १० बाट स्थायी समिति बैठक चल्यो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बाेलाएको बैठकमा राजनीतिक प्रतिवेदन बिनै दुई अध्यक्ष ओली र प्रचण्डले फरकफरक धारणासहित एक अर्काेलाई आलोचना गर्दै मौखिक प्रतिवेदन पेश गरे ।
स्थायी समिति बैठकमा नेताहरुले धारणा राख्ने क्रम शुरु भयो । तर बालुवाटारमै राखेको बैठकमा प्रधानमन्त्री ओलीको निरन्तर अर्थपूर्ण अनुपस्थिति रहिरह्यो । १४ असारमा भने ओलीले मदन भण्डारी जन्मजयन्तीका बेला आयोजित कार्यक्रममा आफूलाई प्रधानमन्त्रीबाट हटाउन भारतीय दूतावास लागेको र त्यसका लागि विभिन्न होटेलहरुमा जमघट हुन थालेको र त्यसमा पार्टीकै नेताहरु संग्लन्न हुन लागेको अभिव्यक्ति दिए ।
यसले नेपालको राजनीतिलाई एकैपटक जुरुक्क उचाल्यो । दुई दिनपछि नै स्थायी समिति बैठकमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाललगायत स्थायी समितिका अन्य १६ नेताले ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा माग गरे । पार्टीभित्रै आफ्नाे राजीनामाको विषय चर्केपछि ओलीले पार्टीसँग कुनै परामर्श गर्न चाहेनन्। सभामुखसँग पनि खास संवाद गरेनन् ।
उनले पार्टी स्थायी समिति सदस्यहरु बालुवाटारको अर्काे कोठामा बसिरहेका बेला अर्काे कोठामा मन्त्रिपरिषद्को बैठक बोलाएर संसद् अधिवेशन अन्त्य भएको सिफारिस राष्टपति कार्यालयमा पठाए । राष्टपतिबाट पनि तुरुन्तै सरकारको सिफारिस कार्यान्वयनमा गयो । नेकपाभित्रको विवादले थप उत्कर्ष निम्तायो । बैठक बाेलाउने, स्थगित हुने क्रम निरन्तर चलिरह्यो । १३ साउनमा प्रचण्ड नेपाल पक्षले बैठक बोलाए । तर बालुवाटारमै बसेको उक्त बैठकमा ओली पक्षका नेताहरु सहभागी भएनन्र ।
त्यसपछि दुई अध्यक्षका दूतहरुको बालुवाटार र खुमलाटारको बाक्लो दौडधुपले अन्तत: साउन ३० मा विवाद समाधान गर्न विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भयो । कार्यदलले दुई अध्यक्षसँगको समेत परामर्शका आधारमा ६ भदौमा प्रतिवेदन बुझायो ।
ओलीले सरकार र प्रचण्डले पार्टी चलाउने तर दुवैले पार्टी नेताहरुसँगको परामर्शका आधारमा चलाउने सामझदारी बन्यो । त्यसलाई भदौ २६ मा स्थायी समिति बैठक राखेर अनुमोदन गराउने काम भयो ।
नेताहरुले पार्टी विवाद अन्त्यको घोषणा मात्रै गरेनन्, पूरानो विवादमा नफर्किने प्रतिबद्धता जनाए । दुई अध्यक्षको कार्यविभाजनमा थप प्रष्टता दिने काम गरे । लफडैलफडाको वीचमा असार १० मा शुरु भएको स्थायी समिति भदौ २६ मा पुगेर मात्र एउटा निचोडमा पुगेको थियो ।
तर फेरि शुरु भयो किचलो
पूरानो विवादमा नफर्किने, दुवै अध्यक्षले आपसी समझदारीमा सचिवालयका अन्य नेतासमेतको परामर्शका काम गर्ने भदौ २६ को सहमति पनि काम लागेन । फेरि पार्टीभित्र किचलो शुरु भयो । २०७७ असोज ५ मा मन्त्रिमण्डल पुन:गठनमा प्रचण्ड र ओलीका बीचमा कुरा मिलेन ।
ओलीले २०७७ असोज १३ मा अमेरिका, बेलायतलगायत तीन देशमा राजदूत नियुक्ति गराए । प्रचण्डले असहमति जनाए ।
त्यहीबीच असोज १५ मा माओवादी केन्द्रबाट कर्णााली प्रदेशमा मुख्यमन्त्री रहेका महेन्द्रबहादुर शाहीविरुद्ध ओली पक्षका नेताहरुको पहलकदमीमा अविश्वास प्रस्ताव दर्ता गर्ने काम भयो । यसमा दाहाल र ओलीका बीचमा अलगअलग सर्कुलरसमेत भयो । यसले विवादलाई थप तिक्त्त बनाउने काम गर्यो ।
त्यहीबीच २०७७ असोज २८ मा ओलीले मन्त्रिमण्डल हेरफेर र विस्तार गरे । विष्णु पौडेल र कृष्णगोपाल श्रेष्ठ मन्त्रीमा नियुक्त भए ।
२०७७ कात्तिक ४ मा पार्टीभित्र विवाद उत्कर्षमा रहिरहेकै बेला प्रधानमन्त्री ओलीले भारतीय जासुसी सस्था रअका प्रमुख सामन्तकुमार गोयलललाई बालुवाटारमै रातो कार्पेट बिच्छ्याएर स्वागत गरे । यसले थप विवाद निम्तायो ।
आरोपपत्रको ठेली
विवाद साम्य हुनेभन्दा झन् बल्झिदै गयो । अन्तत: ओली पक्ष र प्रचण्ड-नेपाल पक्ष एक अर्काका विरुद्ध आरोपपत्रको ठेली लिएरै प्रस्तुत हुन थाले । सचिवालय बैठक बोलाउन प्रचण्ड नेपाल पक्षले गरेको आग्रह ओलीले अश्वीकार गरेपछि सचिवालयका ५ सदस्यले हस्ताक्षर गरेर बैठक बोलाउन मागसहित प्रधानमन्त्रीलाई लिखित पत्र नै बुझाए ।
ओलीले उक्त पत्रमा तोकादेश लगाउने काम गरे । नियमअनुसारको व्यवस्था गर्नू भन्दै चिठीमा तोक लगाइदिए । कात्तिक २२ मा प्रचण्ड-नेपालसहितका ५ सदस्यले बैठक माग गर्दै बुझाएको पत्रमा ओलीले कात्तिक ५ मा चिठीबाटै जवाफ फर्काइदिए । त्यसपछि भने प्रचण्डले पनि आफूसँग रहेका सचिवालयका नेतासँगको परामर्शका आधारमा ओलीमाथि १९ बुँदे आरोपसहितको दस्तावेज सचिवालयमा प्रस्तुत गरे ।
यसले नेकपाभित्र भूकम्प नै ल्याइदियो । ओलीले आरोपपत्र भन्दै फिर्ता लिन आग्रह गरिरहे । तर प्रचण्ड नेपालले मानेनन् । अन्तत: ओलीले पनि मंसिर १३ मा प्रचण्डको प्रस्तावको जवाफी प्रस्ताव पेश गरे । मंसिर २१ मा स्थायी समिति बैठकमा आफूमाथिको लान्छनापत्र खारेज नभएसम्म आउन नसक्ने ओलीको अडानसहितको अर्काे पत्र पनि लेखे । मंसिर ३० मा ओलीले फेरि संवैधािनक परिषदसम्बन्धी अध्यादेश ल्याए ।
अन्तत: प्रतिनिधिसभा विघटन
पार्टीभित्रको किचलो व्यवस्थापनमा भन्दा संकटतर्फ धकेलिँदै जान थालेपछि अन्तत: ओलीले प्रतिनिधिसभा नै विघटनको निर्णय लिन पुगे । पुस १ मा संसद्काे विशेष अधिवेशन माग गर्दै नेकपाकै ८३ जना सांसदको हस्ताक्षरसहित प्रचण्ड-नेपाल पक्ष राष्ट्रपति कार्यलयमा समावेदन लिएर पुगे । तर राष्ट्रपति कार्यालयका सचिवले उनीहरुलाई घण्टौ कुराइदिएर आफू लापत्ता भइदिए । यसले टसल झन् बढ्यो ।
अन्तिममा अध्यादेश पनि फिर्ता लिने र समावेदन पनि फिर्ता लिने दुवै पक्षको समझदारी बन्यो । तर समझदारीअनुसार काम हुन सकेन । ओलीले पस ५ मा संविधानमा व्यवस्था नै नभएको अधिकारको प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जाने गरी निर्वाचनको मिति घोषणा गरे ।
त्यसपछि भने नेकपा विभाजनको अवस्थामा पुग्यो । प्रचण्ड-नेपाल एकातिर र ओली अर्काेतिर । प्रचण्ड-नेपाल पक्षले ओलीलाई अध्यक्षबाट हटाउने र साधारण सदस्यसमेत नरहने गरी कारवाही गर्यो । ओली पक्षले पनि प्रचण्डमा रहेको अधिकार खोस्ने निर्णय लियो ।
त्यसपछिका दुई हप्ता निक्कै पेचिलो रुपमा राजनीति अगाडि गयो । आधिकारिकताका लागि दुवै पक्ष निर्वाचन आयोगसम्म पनि पुगे । तर आयोग अनिर्णीत बनिदिँदा कुनै निर्णय भएन । सर्वाेच्च अदालतले फागुन ११ मा संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक ठहर गर्दै १३ दिनभित्र संसद् अधिवेशन बाेलाउन परमादेशसम्म दियो । त्यसपछि पनि नेताहरुका बीचमा आन्तरिक किचलो रोकिएको थिएन ।
त्यसपछि फेरि एमाले-माओवादी
विवाद बढ्दै जाँदा ओली एकातिर र प्रचण्ड-नेपाल अर्काेतिर धुवीकृत भइरहेका थिए । फागुन २३ मा सर्वाेच्च्ले अर्काे एउटा फैसला गरिदियो , जसले भने नेकपालाई नै विधिवत् विभाजन गरिदियो । एमाले एमालेतिर र माओवादी माओवादीतिरै हुने गरी सर्वाेच्चको फैसला आयो ।
नेकपा ऋषि कट्टेलकै भएको भन्दै अदालतले एमाले र माओवादी नै ब्यूँताइदिने निर्णय गर्याे । त्यसपछि भने प्रचण्ड र माधव नेपाल पक्षको पनि एकै पार्टीमा रहने योजनामा ब्रेकअप लागेको छ ।
माओवादी पूरानै संगठनात्मक संरचनामा जुटेको छ । तर एमालेमै रहेको माधव नेपाल र झलनाथ खनाल पक्षले ओलीलाई कैची चलाउन छोडेका छैनन् । नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला बोलाउने, समानान्तर कमिटी गठन गर्ने र ओली प्रवृतिसँग देशव्यापी जुधेर जाने नीति बनाएका छन् । ओलीले भने माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाको लागि निलम्बन गरेका छन् ।
पार्टीको केन्द्रीय समितिलाई राष्ट्रिय महाधिवशेन आयोजक समितिमा बदलेका छन् । अध्यक्ष र महासचिव मात्र रहने गरी उनले माओवादी छोडेर आएका गृहमन्त्री रामबहादुर थापासम्मका नेतालाई केन्द्रीय समितिमा मनोनित गरिसकेका छन् । अझै ओलीले पार्टीभित्र लड्न परेको यो संर्घष कुन रुपमा पुगेर निष्कर्षमा पुग्ला ठेगान छैन । सारमा हेर्दा ओलीको वर्षदिन पार्टीभित्रैको राजनीति व्यवस्थापनमै रुमल्लिरहेको छ ।
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया