तराईमा वासन्ती छठ पर्व सम्पन्न

महोत्तरी । उदाउँदो सूर्यलाई अर्घ दिंदै श्रद्धा, निष्ठा र लोकआस्थाको वासन्ती छठ पर्व आज सम्पन्न भएको छ ।
चैत शुक्लपक्षको षष्ठी तिथिका दिन हिजो अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिएका बर्तालुले आज बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ दिँदै पर्व सम्पन्न गरेका हुन् ।
यसअघि गत शुक्रबार चौथीका दिन ‘नहाय–खाय’ विधिबाट व्रत सङ्कल्प गर्दै पर्व शुरु गरेका बर्तालुले शनिबार पञ्चमी तिथिमा दिनभरि निराहार व्रत बसी राति सक्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’ विधि सम्पन्न गरेका थिए ।
चार दिनको यो पर्वको पहिलो दिन पवित्र स्नान गरेर चोखोनितो खाई व्रत सङ्कल्प गरिन्छ । यो विधिलाई ‘नहाय–खाय’ भन्ने चलन छ ।
यस्तै दोस्रो दिन पञ्चमीमा दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र चामलको खिर पकाई केराको पातमा राखेर आदिशक्ति छठी मातालाई चढाएर बर्तालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने गर्छन् । यो विधिलाई ‘खरना’ भनिन्छ ।
त्यसैगरी षष्ठी तिथिमा निराहार व्रत बसेर साँझ पवित्र घाटमा गएर अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । यो विधिलाई बोलीचालीमा ‘सझुका अरख’ भनिन्छ । पर्वको अन्तिम दिन सप्तमीका बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै पर्व सम्पन्न गर्ने परम्परा छ । यो अन्तिम विधिलाई ‘भोरका अरख’ भनिन्छ ।
छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार इष्टजनलाई घरमै बोलाएर खुवाउने र आफन्त नातेदारकहाँ पुर्याउन जाने मैथिल परम्परा छ । पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ ।
अर्घ दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार ढिकी–जाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ । पर्वमा अर्घ दिने पवित्र जलाशय किनारमा चित्ताकर्षक घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ ।
मिथिलामा शारदीय र वासन्ती गरी वर्षमा दुई पटक छठ पर्व मनाउने परम्परा छ । कात्तिक शुक्लपक्षको चौथीदेखि सप्तमीसम्म मनाइने शारदीय (कैतकी) र चैत शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइने वासन्ती (चैती) छठ पर्वको विधि र आवश्यक सामग्री भने एकै प्रकारका छन् ।
तराईमा शारदीय छठजति वासन्ती छठ मनाउने चलन भने छैन । यद्यपि पछिल्ला केही दशकयता वासन्ती छठको रमझम पनि बढ्दै गएको छ । (रासस)
















यस्तो छ १५ सदस्यीय मन्त्रिपरिषद्
चितवनमा‘पिक एप्स’बाट आँखा परीक्षण गरिँदै
सामान्य प्रशासन, भूमि व्यवस्थामन्त्रीमा प्रतिभा रावल
Newly-appointed Prime Minister Shah takes oath before President Paudel
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
प्रतिक्रिया