भक्तपुरमा मेलम्चीको पानी वितरण शुरु

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–९ टिगनीस्थित खानेपानी ट्याङ्कीमार्फत बुधबारदेखि भक्तपुरको मध्यपुरथिमि क्षेत्रमा मेलम्ची खानेपानी वितरण शुरु गरेको छ । केहीदिन भित्रै मध्यपुरथिमि क्षेत्रमा दैनिक ३० लाख लिटर मेलम्चीको खानेपानी वितरण हुने भएको छ ।
भक्तपुर क्षेत्र नं २ का सांसद एवं पूर्वमन्त्री महेश बस्नेत र मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बुधबार संयुक्तरुपमा उद्घाटन गरी मेलम्चीको पानी स्थानीयवासीलाई वितरण शुरु गरिएको हो । सो अवसरमा सांसद बस्नेतले भने, “पहिलो चरणमै भक्तपुरमा मेलम्चीको पानी झार्न हामी सफल भयौँ, यो नेपाल सरकारको प्रभावकारी काम हो, तत्कालका लागि अब दैनिक ३० लाख लिटर पानी यहाँबाट वितरण हुन्छ, अब पानीको समस्या समाधान हुन्छ ।”
उनले मध्यपुरथिमिभित्र पनि लोकन्थली, कौशलटार, गठ्ठाघर, बालकुमारी, चपाचो, नगदेशलगायतका पानीको अभाव भएको ठाउँलाई प्राथमिकतामा राखेर पानी वितरण गर्नुपर्नेमा जोड दिए । स्थानीयवासीको समस्या हल गर्दै जानुपर्नेमा जोड दिँदै उनले नीलबाराहीमा थप पानी ट्याङ्की निर्माण गर्नुपर्ने र कर्मचारी नियुक्तिमा स्थानीयवासीलाई प्राथमिकतामा राख्नुपर्ने बताए । मेलम्चीको पानी काठमाडौँ आउने कथा मात्रै हो भन्नेलाई सरकारले पानी ल्याएर देखाइदिएको चर्चा गर्दै नगर प्रमुख श्रेष्ठले भने, “अहिले मध्यपुरथिमिका बासिन्दाका लागि दैनिक १० लाख लिटर मेलम्चीको पानी वितरण शुरु भयो, अब केही दिनमै यसलाई बढाएर दैनिक ३० लाख लिटर पानी वितरण हुन्छ, अब विस्तारै पानीको समस्या समाधान हुन्छ ।”
मध्यपुरथिमि नगरपालिकाले यहाँका प्रत्येक गल्लीमा पुरानो पाइपको ठाउँमा नयाँ पाइप जडान गरेको, नगरपालिकाको करिब रु चार करोड र खानेपानी बोर्डको समेत गरेर रु छ करोडमा नयाँ पाइप लाइन विस्तार गरेको भन्दै उनले रु १९ करोडको लागतमा ट्र्याक लाइन विस्तार गरेकाले मध्यपुरथिमिमा मेलम्चीको पानी चुहावट हुने सम्भावना निकै कम रहेको जिकिर गरे । उनका अनुसार बोडे टिगनीबाट काठमाडौँ अनामनगर पठाइएको पानी मेलम्ची आएपछि रोकेर लोकन्थलीमा वितरण प्रणाली मिलाइएको छ ।
कार्यक्रममा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का कार्यकारी प्रमुख मिलन शाक्यले मेलम्चीको पानी काठमाडौँ झरेपछि ९० प्रतिशत पानी काठमाडौँमा वितरण भए पनि १० प्रतिशत पानी चुहावट भएको बताए । पुरानो पाइप लाइनबाट पानी चुहावट हुने र पाइप फुट्ने गरेको उल्लेख गर्दै उहाँले ३२० ठाउँमा भएको चुहावटमध्ये २०० ठाउँको चुहावट रोकेको बताए । अब ल्याङ्ग्री र लार्केबाट थप पानी ल्याई तीन वर्षपछि काठमाडौँमा दैनिक ३४ करोड लिटर पानी झारेपछि २४ सै घण्टा पानी वितरण गर्न सकिने उनको भनाइ थियो ।









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
प्रतिक्रिया