कोरोनाको चाप
काठमाडौँ उपत्यकामा भरियो बेड, अस्पतालबाट फर्काइँदै संक्रमित

काठमाडौँ । अनामनगर बस्ने ३२ वर्षका एक पुरुषलाई सोमबार कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भयो । ज्वरो र रुघाको समस्या तीन दिनसम्म निको नभएपछि उनी कोरोना परीक्षण गर्न टेकु अस्पताल पुगे ।
कोरोना परीक्षण गरेका ती पुरुषको रिर्पोट पोजेटिभ देखियो । कोरोना पोेजेटिभ देखिएकै रातिबाट उनलाई थप स्वासप्रश्वासमा समस्या देखिन थाल्यो । अक्सिजनको लेबल घटेर ७० मा झर्यो ।
उनलाई थप उपचारका लागि परिवारले वीर अस्पताल लगे । त्यहाँ चिकित्सकले तुरुन्त आइसियूमा भर्ना गर्नु पर्ने बताउँदै कुनै आइसियू खाली नभएका जानकारी दिए । उनका परिवारले तत्काल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, टेकु र त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा फोन गरे । तर, ती सबै अस्पतालबाट आइसियू खाली नभएको जानकारी पाए ।
उनका श्रीमतीले मलिन अनुहाल लगाउँदै मेरो न्युजसँग भनिन्, ‘सबै अस्पतालमा फोन गरिसकेँ, कतै आइसियू खाली रहेनछ ।’
आइसियू खोजेको झण्डै २४ घण्टापछि ग्रान्डी अस्पतालमा एउटा आइसियू बेड खाली भएको थाहा पाएपछि ती पुरुषलाई परिवारले ग्रान्डीमै भर्ना गरी उपचार सुरु गरे । यो त पछिल्ला दिनमा कोरोना संक्रमणबाट देखिएको एक प्रतिनिधि पात्र मात्र हो ।
कोरोना भाइरसको नयाँ भेरियन्ट देशमा भित्रिएसँगै काठमाडौँ उपत्यकासहित देशका ठूला सहरमा कोरोना संक्रमितको संख्या ह्वातै बढेको छ । जसले गर्दा अस्पतालहरुमा बेड अभावको समस्या देखिन थालेको छ ।
त्रिविमा १० संक्रमित बेडको पर्खाइमा
त्रिवि शिक्षण अस्पतालमा एक सय २५ जना कोरोना संक्रमित अस्पतालमा उपचाररत छन् । अस्पतालका कोभिड फोर्कल डा. सविन थपलियाका अनुसार आइसियूमा १५ जना र भेन्टिलेटरमा ६ जना संक्रमित उपचाररत रहेका छन् ।
उनका अनुसार अहिले अस्पतालका सबै बेड भरिभराउ छन् । अहिले आकस्मिक कक्षमा १० जना संक्रमित बेडको पालोको पर्खाइमा रहेको उनले जानकारी दिए ।
नयाँ आउने बिरामीका लागि आइसियू र भेन्टिलेटर नभएको अस्पतालले जनाएको छ ।
वीरको अवस्था उस्तै
कोरोना संक्रमितले सबै बेड भरिएको वीर अस्पतालले जनाएको छ । जटिल खालका बिरामीका लागि १० आइसियु र पाँच भेन्टिलेटरको व्यवस्था गरेको छ । तर, आइसियू र भेन्टिलेटर भरिभराउ भएको अस्पतालले जनाएको छ ।
हाल वीर अस्पतालमा पाँच जना आइसियू र दुई जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । आइसियू र भेन्टिलेटरका सहित वीर अस्पतालमा अहिले कूल ५७ जना संक्रमितको उपचार भइरहेको छ ।
वीर अस्पतालले कोरोना संक्रमित र शंकास्पद बिरामीका लागि आइसियू, भेन्टिलेटर र आइसोलेसन गरी कुल ७६ शय्याको व्यवस्था गरेको छ।
पाटन अस्पतालमा भरियो आइसियू र भेन्टिलेटर
पाटन अस्पतालमा पनि अन्य अस्पतालमा जस्तै कोरोना संक्रमितले शय्या भरिन थालेको छ । अस्पतालमा हाल १८ जना आइसियू र भेन्टिलेटरमा भर्ना रहेका छन् ।
अस्पतालले संक्रमितको उपचारका लागि २५ शय्याको आइसियू र १७ वटा भेन्टिलेटर छुट्याएको छ । अस्पतालका निर्देशक डा. रवि शाक्यले हाल अस्पतालमा एक सय ८ जना संक्रमित उपचाररत रहेको जानकारी दिए ।
नयाँ संक्रमितलाई टेकुमा छैन बेड
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना संक्रमितका लागि छुट्याएको सबै भेड भरिएको छ । अस्पतालका निर्देशक डा. सागराज भण्डारीका अनुसार अस्पतालका सबै बेड भरिएका हो ।
उनले नयाँ संक्रमित भर्ना लिनका लागि बेड खाली नभएको बताए । उनका अनुसार अस्पतालमा बेड अभाव हुदाँ संक्रमितलाई अन्य अस्पतालमा पठाउनु पर्ने बाध्यता रहेको छ ।
यता, बलम्बुस्थित नेपाल प्रहरी अस्पताल पनि कोरोना संक्रमितले भरिएको अस्पतालले जनाएको छ । अस्पतालमा रहेका एक सय २० शय्या नै संक्रमितले भरिएका हुन् ।
कुन प्रदेशमा कति संक्रमित आइसियू र भेन्टिलेटरमा
प्रदेश १ – ३६ आइसियू, ६ भेन्टिलेटर
प्रदेश २ – १० आइसिू, भेन्टिलेटरमा छैन
बागमती प्रदेश – १५६ आइसियू, ६७ भेन्टिलेटर
गण्डकी प्रदेश – ५ आइसियू, १ भेन्टिलेटर
लुम्बिनी प्रदेश – ८७ आइसियू, २१ भेन्टिलेटर
कर्णाली प्रदेश – २३ आइसियू, ५ भेन्टिलेटर
सुदूरपश्चिम प्रदेश – २० आइसियू, ७ भेन्टिलेटर
यस तथ्यांकअनुसार कूल चार सय ४४ जना संक्रमित आइसियू र भेन्टिलेटरमा भर्ना भएका छन् । जसमध्ये तीन सय ३७ जना आइसियू र एक सय ७ जना भेन्टिलेटरमा उपाचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कुन प्रदेशमा आइसियू र भेन्टिलेटरको संख्या कति
प्रदेश १ – ११५ आइसियू, ४५ भेन्टिलेटर
प्रदेश २ – ५० आइसियू, २३ भेन्टिलेटर
बागमती प्रदेश – ५९१ आइसियू, २६५ भेन्टिलेटर
गण्डकी प्रदेश – २४१ आइसियू, ६७ भेन्टिलेटर
लुम्बिनी प्रदेश – ११९ आइसियू, ६३ भेन्टिलेटर
कर्णाली प्रदेश – ४९ आइसियू, १५ भेन्टिलेटर
सुदूरपश्चिम प्रदेश – ३३ आइसियू, २३ भेन्टिलेटर
जम्मा – ११९८ आइसिू, ५०१ भेन्टिलेटर रहेका समेत मन्त्रालयको तथ्याकंमा उल्लेख छ ।

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।
प्रतिक्रिया