मंगलबार, फागुन १२, २०८२

निषेधाज्ञामा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा

मेरोन्यूज २०७८ वैशाख १९ गते ११:२७

काठमाडौँ । कोभिड–१९ महामारीको असहज परिस्थितिमा समस्यामा परेका बिरामीको सहजताका लागि आकस्मिक उपचार तथा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा तीव्र रुपमा फैलिरहेको महामारीले बिरामीलाई असहज भएको दृष्टिगत गर्दै ओम समाज डेन्टल हस्पिटल, बिराज समाज तथा सामाजिक अभियान्ताहरुको अगुवाइमा आकस्मिक स्वास्थ्य सेवासहितको एम्बुलेन्स सेवा शुरु गरिएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

यो अभियानलाई सामाजिक अभियान्ता देवेन्द्र प्रधान ,क्याप्टेन विजय लामा, पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल , शिक्षाकर्मी कर्णबहादुर शाही, अधिवक्ता सञ्जयराज अधिकारी, पर्यटन व्यवसायी रामहरि शर्मा, अभियन्ता ज्ञानेन्द शाही, वरिष्ठ कलाकार निखिल उप्रेती, केदार घिमिरे लगायतको सहयोग छ । अभियान्ता प्रधानले कोभिड–१९ महामारीको असहज परिस्थितिमा समस्यामा परेका बिरामीको सहजताका लागि आकस्मिक उपचार तथा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए ।

अभियानअन्तर्गत गरीब, दुःखी, असहाय वा एम्बुलेन्स सुविधा लिन अफ्ठ्यारोमा परेका व्यक्तिका लागि सेवाको भावले आफूहरुले पूर्ण सहयोग गरी सम्भव भएसम्म अस्पताल पुर्‍याउने ओम समाज हस्पिटलका अध्यक्ष डा सुवास घिमिरेले जानकारी दिए । शनिबारदेखि शुरु गरिएको अभियानअन्तर्गत कोभिडका बिरामीलाई उनीहरुले चाहेका अस्पताल पुर्‍याउने तथा अक्सिजनको व्यवस्थापनको कार्य गर्दै आएको उनले बताए । दैनिक ४० देखि ५० बिरामीले यो सेवा लिइरहेका छन् ।

आज दुई सयभन्दा बढी फोन कल आएको र बिरामी व्यवस्थापनमा अभियान सक्रिय रुपमा जुटेको बताइएको छ । बिरामीलाई आवश्यकताअनुसार निःशुल्क आकस्मिक स्वास्थ सेवा सहितको एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ । बिरामीले आफूले चाहेको अस्पताल आफैँ छान्न सक्नेछन् । डा घिमिरेले अहिलेको असहज परिस्थितिमा भौतिक दूरी कायम गर्दै मास्क लगाउन र अनावश्यक सिलिन्डर स्टक नगर्नसमेत आग्रह गरेका छन् । त्यस्तै, अभियन्ताहरुले पनि नअत्तालिन, मनोबल कमजोर पार्ने खालका सामग्री सामाजिक सञ्जालमा पोस्ट र शेयर नगर्न आग्रह गरेका छन् ।

अभियानको सहयोगार्थ तत्काललाई इन्द्र अन्नपूर्ण लाइन्स, बिराज समाज, क्याप्टेन लामा, पूर्वप्रहरी प्रमुख खनाल , शिक्षाकर्मी शाही, डा घिमिरे, अधिवक्ता अधिकारी, व्यवसायी शर्मा, अभियन्ता शाही, कलाकार उप्रेती, घिमिरे, तथा प्रधानले जनही १५ हजार उपलब्ध गराएको अभियानले जनाएको छ । स्वास्थकर्मी जिता बराल, मुना साधना विश्कर्मा, निर्मल कार्की तथा चालक तेन्जिङ तामाङको टोलीले बिरामीलाई अस्पतालसम्म पुर्‍याउन आकस्मिक स्वास्थ सेवा तथा एम्बुलेन्स सेवामा कार्य गर्ने बिराज समाजका अध्यक्ष रामप्रसाद दाहालले बताए । सेवा लिनका लागि सम्पर्क नं ९८५१२७७३४२, ९८५१२३९३४२ र ९८५१३१२४१७ सम्पर्क गर्न सकिनेछ ।––– रासस

प्रतिक्रिया