विश्वभर नर्सिङ दिवस

काठमाडौं । विश्वभर दिवस मनाइरहँदा पिपिईभित्र गुम्सिँदै सेवामा तल्लीन छन् नेपालका नर्सहरू । तराईको चर्काे गर्मीमा हावासमेत नर्छिने पिपिई लगाएर निरन्तर सेवामा खटिइरहेका हुन् उनीहरू ।
नेपालका अस्पतालहरूमा अहिले कोभिड सङ्क्रमित बिरामीको सङ्ख्या उल्लेख्य छ । अस्पतालहरूले बिरामीका लागि श्यया पु¥याउन धौधौ भइरहेको बेला जहाँ खाली ठाउँ छ त्यही श्यया तयार गरेर सङ्क्रमितको उपचार गरिरहेका छन् । मुख्य रूपमा चौबिसै घण्टा सेवामा तल्लीन नर्सहरूलाई न गर्मीका प्रवाह छ, न त आफ्नो पीडाको नै । विगतमा गर्दै आएका काममा नर्सहरूलाई दोब्बर कामको जिम्मेवारी थपिएको छ । जिल्लामा यसरी दुई हजार हाराहारी नर्सहरूले काम गरिरहेका छन् ।
भरतपुर अस्पतालमा विगत लामो समयदेखि बिरामीको सेवा गर्दै गरेकी सरिता भण्डारी अहिले कोभिडका बिरामीका कारण बस्ने फुर्सदसमेत पाउन कठिन भएको बताउछिन् । अस्पतालले सञ्चालन गरेको कोभिड वार्डमा नर्सिङ प्रमुखका रूपमा कार्यरत उनि ३० जना जनशक्तिले १४५ जना सङ्क्रमितको चौबिसै घण्टा सेवा गरिरहनुपरेको गुनासो गर्छिन् ।
पिपिई लगाएर अस्पताल भित्र छिरेपछि ६ देखि ७ घण्टा त्यो नखोली काम गर्ने हो । बिरामीको कठिनाइ देखेर आफूहरुको दुःख हराउने गरेको अनुभव नर्सहरुको छ । नर्सहरूलाई बिरामी भएको ठाउँमा पठाउँदा पहिले नै आवश्यक खाना, नास्ता खुवाएर मात्र पठाउने गरेको नर्सहरुको भनाई छ ।
यस्तै विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत प्रशंसा शर्मा कोभिड सङ्क्रमितको उपचार गर्न पाउँदा खुशी लागेको बताउछिन् । सुरुआतको समयमा केही कठिनाइ भएको भए पनि अहिले त्यस्तो नरहेको उनको अनुभव छ । अहिले अस्पतालको क्वारेन्टिनमा रहनुभएकी उनले भनिन्, “एक साता १२ घण्टाका दरले काम गरे पनि थकान महसुस हुन पाएन ।”
बिरामी भएको ठाउँमा जाँदादेखि आफ्नो काम नसकिन्जेल सामान्य तय पिपिई नखोली बस्नुपर्ने र खाना, पानीलगायत केही खान नपाउने भए पनि बिरामीको सेवा नै धर्म हो भन्ने महसुस गरेर उपचारमा खटिएको नर्सहरुको भनाई छ । नर्सहरुको एउटै आवाज छ, “सङ्क्रमितको उपचारमा लागेर बिरामी निको भएर फर्कंदा झन् धेरै खुशी लग्छ ।”
कोरोना सङ्क्रमितको सेवामा जुट्दै गर्दा आवश्यकताअनुसार सुरक्षा कवज नभएको, पारिश्रमिक समयमा प्राप्त गर्न नसकेको, सरकारले तोकेअनुसारको पारिश्रमिक नपाएको, जोखिम भत्ता पाउन नसकेको दुःखेसो छ नर्सहरुको । बिरामी अस्पताल छिरेदेखि डिस्चार्ज हुँदासम्म ९० प्रतिशत उपचारमा नर्सिङ स्टाफहरु खट्ने नर्सहरु बताउँछन् ।
दैनिक १२÷१४ घण्टासम्म बिरामीको उपचारमा नर्सहरू लाग्नु परेको बाध्यता पनि नर्सहरुले सुनाउँछन् ।
अस्पताल स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड निर्देशिका २०७३ (संशोधन) मा शल्यक्रिया प्रदान गर्ने कक्षमा प्रतिश्यया कम्तीमा एक शल्यचिकित्सक, एक एनेस्थेटिक्स, एक इन्चार्ज, एक शल्यक्रिया सहायक र एक नर्स हुनुपर्ने, जनरल कक्षमा प्रतिचारदेखि ६ श्ययामा एकजना स्टार्फ नर्सको व्यवस्था भएको हुनुपर्ने व्यवस्था छ ।
यस्तै, इमर्जेन्सी तथा पोष्ट अपरेटिभ कक्षमा प्रतिदुई श्ययामा एक स्टार्फ नर्सको व्यवस्था हुनुपर्ने, सघन उपचार कक्ष (आइसियु, एनआइसियु, सिसियु आदि) मा प्रतिश्यया एकजना नर्सको व्यवस्था हुनुपर्ने र प्रसूति कक्षको लेबर श्ययामा प्रतिबेड दुई एसबिए तालीम प्राप्त नर्स वा मिडवाइफरीको व्यवस्था हुनुपर्ने व्यवस्था छ ।
फ्लोरेन्स नाइटिङ्गेलको जन्म दिनका अवसरमा यो दिवस मनाउने गरिएको छ । नेपालमा २०१३ सालदेखि नर्सिङ पेशा शुरु भएको मानिन्छ । विश्व नर्सिङ दिवस हरेक वर्ष मे १२ को दिनमा मनाउने गरिए पनि नेपालमा भने राष्ट्रिय नर्सिङ दिवस माघ १५ गते मनाइन्छ ।
प्रतिक्रिया