कोरोना भाइरस मृत्युको एकवर्षे शृंखला
कोरोनाले एक वर्षमा ५ हजारभन्दा बढीको ज्यान लियो
गतवर्ष जेठ ३ गतेदेखि शुरु भएको कोरोनाबाट हुने मृत्युको शृंखला पछिल्लो समय झन् डरलाग्दो रुपमा बढ्न थालेको छ ।

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट पहिलो मृत्युको ठिक एक वर्ष पुगेकै दिन २१४ जनाले ज्यान गुमाएका छन् । पहिलो मृत्युको ठिक एक वर्ष पुगेकै दिन जेठ ३ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा नोभेल कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु भएकाको संख्या ५ हजार २१७ पुगेको छ ।
नेपालमा पहिलो पटक २०७७ साल जेठ ३ गते कोरोना संक्रमणबाट सिन्धुपाल्चोककी २९ वर्षिया सुत्केरी महिलाले ज्यान गुमाएको मन्त्रालयले पुष्टि गरेको थियो ।
नेपालमा पहिलो कोरोना संक्रमित भेटिएको करिब चार महिनापछि कोरोनाभाइरसकै कारण ज्यान गुमाउने उक्त पहिलो घटना थियो ।
जेठ ४ गते बाँकेको नरैनापुरका २५ वर्षका पुरुषले कोरोना संक्रमणबाट ज्यान गुमाएका थिए । त्यस्तै जेठ ८ गते गुल्मीका ४१ वर्षका पुरुष, जेठ ४ गते बाराका ७० वर्षका पुरुषको मृत्यु भएको थियो तर उनको कोरोना पुष्टिको सार्वजनिक जेठ १२ गते मात्र भयो ।
गत जेठमा मात्र १५ जनाले कोरोनाबाट ज्यान गुमाएका मन्त्रालयको तथ्याकंमा देखिन्छ । गतवर्ष जेठ ३ गतेदेखि शुरु भएको कोरोनाबाट हुने मृत्युको शृंखला पछिल्लो समय झन् डरलाग्दो रुपमा बढ्न थालेको छ ।
आजसम्म नेपालमा कोरोना पुष्टि भएकाको संख्या चार लाख ६४ हजार २१८ पुगेको छ । कुल संक्रमितमध्ये ज्यान गुमाउने १.१२ प्रतिशत रहेको मन्त्रालयको तथ्यांकले देखाउँछ ।
नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेमध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा १ हजार १८९, भक्तपुर २३५ र ललितपुर ३१८ गरी उपत्यकामा १ हजार ७४२ जनाले ज्यान गुमाएका छन् ।
कुन प्रदेशमा कतिले ज्यान गुमाए ?
मन्त्रालयको तथ्यांक अनुसार कोरोना संक्रमणबाट प्रदेश १ मा ६४१, प्रदेश २ मा ४४८, वाग्मती प्रदेशमा २ हजार २८३, गण्डकीमा ५०२ जनाले ज्यान गुमाएका छन् ।
यसैगरी लुम्बिनीमा ९६६, कर्णालीमा १२७ र सुदूरपश्चिममा २४८ जनाले कोरोनाका कारण ज्यान गुमाएका मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले बताए ।
नेपालमा कोरोना संक्रमणबाट विदेशी नागरिकले पनि ज्यान गुमाएका छन् । मृत्यु भएकामध्ये आठ भारतीय नागरिक पनि छन् । जिल्लागत तथ्यांक हेर्दा २०० जनाभन्दा बढी मृत्यु भएका पाँच जिल्ला छन् ।
विश्वभर हालसम्म ३३ लाख ९३ हजार ६४८ जनाले काेराेनाका कारण ज्यान गुमाएका छन् ।
संक्रमणको दर बढेसँगै मृत्युदर पनि बढ्ने जनस्वास्थ्य विज्ञहरु बताउँछन् । सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन अझै दुई साता सचेत बन्नुपर्ने बताउँछन् ।
उनका अनुसार एक साताअघि कोरोना संक्रमणको दर कुल परीक्षणको ५० प्रतिशत थियो । तर पछिल्लो साता कुल परीक्षणको ४० देखि ४५ प्रतिशतमा संक्रमण देखिएको छ । उनी भन्छन्, ‘कोरोना संक्रमण अहिले घर भित्रभित्र पुगेको छ ।’

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।










अग्नि समूहको ३५ वर्ष : व्यवसायसँगै समाजलाई पनि उन्नत बनाउने प्रतिबद्धता
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
सिंहदरबारमा सुरक्षा परिषद् बैठक जारी
अफगानिस्तानमा डेङ्गुको उच्च जेखिम
कम्बोडियामा बस नदीमा खस्दा १३ जनाको मृत्यु
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
प्रतिक्रिया