राष्ट्रिय सभा सदस्यका लागि वागमतीमा उपनिर्वाचन आज
नतिजा भने भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने

काठमाडौं । राष्ट्रिय सभामा वागमती प्रदेशबाट रिक्त एक सिटका लागि आज मतदान हुँदै छ ।
वागमती प्रदेशको राजधानी हेटौंडामा विहान ९ बजे सुरु हुने मतदान दिउँसो ३ बजे सकिने निर्वाचन आयोगले जनाएको छ ।
नेकपा एमालेले गृहमन्त्री राम बहादुर थापालाई उम्मेदवार बनाएको छ भने विपक्षी मोर्चाले डा. खिमलाल देवकोटालाई अघि सारेको छ । नेपाल मजदुर किसान पार्टी नेमकिपाले छुट्टै उम्मेदवार बनाएको छ । नेमकिपाका तर्फबाट कृष्णबहादुर तामाङ चुनावी मैदानमा छन् ।
निर्वाचन आयोगले मतदाता लगायत निर्वाचन प्रक्रियामा सहभागी हुने सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ ।
राष्ट्रिय सभामा वागमती प्रदेशबाट रिक्त पदका उम्मेदवार भएकाले वागमती प्रदेश सभा सदस्य र वागमती प्रदेश भित्रका स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउने छन् ।
उपनिर्वाचनमा वागमती प्रदेश सभा सदस्य ११० र वागमती प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता छन् । मतदातामध्ये प्रदेश सभा सदस्य पशुपति चौलागाईंको भने केही दिनअघि निधन भएको छ ।
प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ छ । मतदाताको निर्वाचक मण्डलबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको उक्त निर्वाचनमा सहभागी हुन सबै मतदातालाई आयोगले अनुरोध गरेको छ ।
हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी उच्च माध्यमिक विद्यालयमा कायम गरिएको केन्द्रमा मतदान हुनेछ ।
माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका गृहमन्त्री थापा एमाले प्रवेश गरेपछि खाली भएको सो पदमा उपनिर्वाचन हुन लागेको हो ।
नतिजा भर्चुअल माध्यमबाट
आज हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन मिलाइएको छ ।
प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठका अनुसार मतगणनाको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन गरिएको हो ।
मतदान स्थल भुटनदेवी माविमै मतगणना गरी सोको नतिजा भर्चुअल माध्यम (जुम) मार्फत सार्वजनिक गर्ने योजना बनाइएको छ । मतगणना साँझ ५ बजेदेखि शुरु गरिने छ । आजै बेलुकासम्ममा नतिजा आइसक्ने जनाइएको छ ।
मतदानका लागि कोभिड सङ्क्रमित मतदाताले भुटनदेवी माविको उत्तर गेटबाट मात्रै प्रवेश पाउनेछन् भने अन्यले पश्चिम गेटबाट प्रवेश पाउनेछन् ।
मतदाताहरूलाई सामान्य स्वास्थ्य जाँचपछि १० मिटरको दूरीमा होल्डिङ सेन्टरमा बसाइने प्रमुख निर्वाचन अधिकृत श्रेष्ठले बताए । प्रदेश निर्वाचन आयोगको कार्यालयका अनुसार कुल मतदातामध्ये यसअघि नै १३ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
मतदानबाट कसैलाई पनि वञ्चित नगर्न प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख/उपप्रमुखहरुलाई पिसिआर रिपोर्ट अनिवार्य नगरिएको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए ।
प्रदेश निर्वाचन आयोगले मतदान स्थल र मतगणनाको संरचना तयार पारेको सहायक निर्वाचन अधिकृत गोविन्द पौडेलले जानकारी दिए । विद्यालय परिसरमा क, ख र ग नामकरण गरेर तीन वटा मतदान केन्द्र स्थापना गरिएको छ ।
‘क’ मा प्रदेशसभा सदस्य, ‘ख’ मा गाउँपालिका अध्यक्ष/उपाध्यक्ष तथा नगरका प्रमुख उपप्रमुख र ‘ग’ केन्द्रमा कोभिड–१९ सङ्क्रमित मतदाताले मत हाल्ने व्यवस्था मिलाइएको छ ।
सहायक निर्वाचन अधिकृत पौडेलका अनुसार प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुखका लागि फरक मतपत्र हुनेछ । फरक रङको मतपत्रमा चुनाव चिन्ह भने एउटै राखिएको छ ।
मतदान केन्द्र र मतगणनामा खटिने गरी २४ कर्मचारी परिचालन गरिएको कार्यालयले जनाएको छ ।











निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
प्रतिक्रिया