शुक्रबार, फागुन १५, २०८२

संस्कृत गुरुकूलमा अङ्ग्रेजी र कम्प्युटर शिक्षा

मेरोन्यूज २०७८ जेठ १२ गते २१:५९

स्याङ्जा । हामीलाई लाग्न सक्छ–गुरुकूल भन्ने बित्तिकै संस्कृत भाषा, कर्मकाण्ड र पूजापाठसँग सम्बन्धित विषयको मात्रै पठनपाठन हुन्छ तर राम्दीमा रहेको एक गुुरुकूलले तपाई हाम्रो अनुमानलाई गलत साबित गरिदिएको छ । स्याङ्जा र पाल्पाको संगमस्थल राम्दीमा रहेको संस्कृत गुरुकूलमा संस्कृत विषयसँंगै अङ्ग्रेजी र कम्प्युटर शिक्षा समेत पढाइ हुँदै आएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

गल्याङ नगरपालिका–१, राम्दीस्थित पवित्र धार्मिक तीर्थस्थल कालीगण्डकी नदीको किनारमा रहेको उक्त संस्कृत गुरुकूलमा संस्कृत शिक्षाका साथै नेपाल सरकारको विद्यालय तहको पाठ्क्रम अनुसार चार सय पूर्णाङ्कको अङ्ग्रेजी, नेपाली, सामाजिक र गणित विषय तथा चार सय पूर्णाङ्कको संस्कृत शिक्षाअन्तर्गत संस्कृत भाषा, कर्मकाण्ड, वेद र लघुसिद्धान्त कौमुदीलगायतका विषय पठनपाठन हुँदै आएको गुरुकूलका शिक्षक दीपक गैह्रेले बताए ।

विसं. २०७६ सालदेखि कक्षा ६ र ७ को पढाइ शुरु गरिएको सो गुरुकूलमा अहिले ४० जना विद्यार्थीले आवासीय रुपमा बसेर अध्ययन गर्दै आएका छन् । गल्याङ नगरपालिकाको सहयोग र समन्वयमा सञ्चालन गरिएको गुरुकूलमा चार जना शिक्षक रहेका छन्, जसमध्ये दुई जना शिक्षकको तलब नगरपालिकाले व्यवस्थापन गरेको छ भने अन्य शिक्षक निजी स्रोतबाट व्यवस्थापन गरिएको छ ।

गुरुकूलमा बिहान बेलुकाको समयमा विद्यार्थीलाई योगा सिकाइन्छ भने सातामा एक दिन सङ्गीत सिकाइन्छ । गुरुकूलमा साथीसँगै सङ्गीत र कम्प्युटर शिक्षाको समेत अध्ययन गर्न पाउने भएकोले विद्यार्थीहरु पनि निकै रुचिका साथ पढ्ने गरेको शिक्षकहरुको भनाइ छ । कक्षा ६ मा अध्ययन गर्दै आएका दर्पण न्यौपानेले गुरुकूलमा बसेर पढ्न पाउँदा खुशी लागेको बताए ।

कक्षा ७ मा अध्ययनरत आदित्य पन्थीले लोप हुँदै गएको संकृत भाषाको जगेर्ना गर्नका लागि आफू संस्कृत शिक्षा पढ्न आएको पन्थीको भनाइ छ । गुरुकूलका शिक्षक भानुभक्त पराजुलीले नगरपालिका, अन्य सामाजिक संघ संस्थाका साथै भक्तजनको सहयोगमा विद्यालय सञ्चालन हुँदै आएको बताए ।

गल्याङका नगरप्रमुख भूपराज अधिकारीले संस्कृतिको संरक्षण गर्ने उद्देश्य अनुसार गुरुकूललाई नगरपालिकाका र्फबाट सक्दो सहयोग गर्दै आएको बताए । वालिङ नगरपालिका र पाल्पाको बगनासकालिका गाउँपालिकाले समेत बेलाबेलामा सहयोग गर्दै आएको गुरुकूलले जनाएको छ ।

विसं. २०४२ सालमा योगी नरहरिनाथले यहाँ गुरुकूल सञ्चालन गरेको र केही समय सञ्चालन भएर बन्द भई पुनः विसं. २०७६ देखि पुनः सञ्चालनमा ल्याइएको हो ।

प्रतिक्रिया