दोस्रो डोज खोप लगाउने टुंगो नहुँदा १४ लाखको ज्यान जोखिममा
डब्लुएचओ भन्छ– १२ हप्ताभित्रै लगाइसक्नुपर्छ, तर पहिलो डोज लगाएको ११ हप्ता बितिसक्यो, खोप आउने टुंगो छैन

काठमाडौं । नेपालमा ६५ वर्षमाथिका पहिलो डोज लगाएका साढे १४ लाखभन्दा बढी व्यक्तिले कोल्भिसिल्ड दोस्रो डोज खोप लगाउन पाएका छैनन् ।
स्वास्थ्य सेवा विभागका अनुसार १४ लाख ५३ हजारभन्दा बढी ६५ वर्षभन्दा माथिका नागरिकले पहिलो डोज कोल्भिसिल्ड लिएका थिए । तर ती नागरिकले कहिले दोस्रो मात्रा पाउने भन्नेमै अन्योल छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोल्भिसिल्ड १२ हप्तासम्म लगाइ सक्नुपर्ने छ ।
परिवार कल्याण महाशाखाका प्रमुख डा तारानाथ पोखरेलले ६५ वर्षभन्दा माथिका साढे १४ लाखभन्दा बढी व्यक्तिलाई दोस्रो मात्रा खोप दिने समय आइसकेको तर खोपको ‘स्टक’ नहुँदा समस्या भएको बताए ।
उनले भने, ‘फागुन २३ गतेपछि कोभिसिल्ड लगाएका व्यक्तिलाई खोप दिएको ११ हप्ता भएको छ, अबको एक हप्ताभित्रै दोस्रो खोप लगाउनुपर्ने हुन्छ । तर खोप छैन् ।’
उनका अनुसार बुधबार विभागमा बसेको खोप सल्लाहकार समितिको बैठकमा विश्व स्वास्थ्य संगठनले १६ हप्तासम्म दोस्रो डोज दिन मिल्ने भनेको विषयमा छलफल भएको थियो । उनले भने, ‘१२ हप्तापछि पनि दोस्रो डोज दिदाँ त्यसको प्रभावकारिता कम हुने तर शून्यमै पुग्दैन भन्ने निष्कर्ष छ ।’
पहिलो डोज कोभिसिल्ड खोप लिएकाले अरु कम्पनीले उत्पादन गरेको खोप लिन नमिल्ने वैज्ञानिकहरुले बताएका छन् ।
नेपाललाई कोभ्याक्सले कुल जनसंख्याको २० प्रतिशत खोप उपलब्ध गराउने सम्झौता गरेको थियो । विभिन्न चरणमा नेपाललाई खोप उपलब्ध गराइने सम्झौतामा भनिएको थियो । तर पछिल्लो समय कोभ्याक्सले पहिलो चरणमा चार लाख ४८ हजार खोप पठाएपछि कोभिसिल्डको थप खोप २०२१ मा दिन नसक्ने जनाएको छ ।
बिहीबार मात्र स्वास्थ्य सेवा विभागले कोभिसिल्ड नभएपनि अस्ट्राजेनेकाको खोप उपलब्ध गराइ दिन आग्रहसहितको पत्र पठाएको छ । तर कोभ्याक्सले कहिलेसम्म खोप पठाउने भनेर जवाफ नपठाएको विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले बताए ।
बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले विकास गरेको उक्त खोप भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको हो ।
स्वास्थ्य मन्त्रालयले गठन गरेको खोपविज्ञ समूहका संयोजकसमेत रहेका डा श्यामराज उप्रेतीले पहिलो डोज कोभिसिल्ड खोप लगाइसकेकालाई भारतबाहेकका मुलुकमा बनेको अस्ट्राजेनेकाको खोप पाए पनि दोस्रो डोज लगाउन सकिने बताउँछन् ।
उनले भने, ‘बेलायत, कोरिया र भारतमा यो खोप उत्पादन भइरहेको छ । जुन देशमा बने पनि एउटै ‘फर्मुला’को भएकाले ल्याउन सके त दोस्रो डोज लगाउन हुन्छ ।’
नेपालमा जोन्सन एन्ड जोन्सनको खोप ल्याउने प्रक्रिया पनि शुरु भएको छ । यो खोप पहिलो डोज मात्र लिए पुग्छ । यो खोप अहिले भएको कोल्डचेन्जले पनि धान्न सक्ने छ ।
१७ लाख कोभिसिल्ड उपलब्ध गराइदिन भारतसँग आग्रह
सेरमले यो वर्षको अन्त्यसम्म कुनै पनि देशलाई खोप निर्यात नगर्ने घोषणा गरेपनि सरकारले १७ लाख डोज कोभिशिल्ड खोप उपलब्ध गराउन भारतसँग आग्रह गरेको छ ।
सरकारले भारतबाट खोप ल्याउन कूटनीतिक पहल गरिरहेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भनाइ छ ।
सरकारले भारतबाट २० लाख डोज कोभिसिल्ड खरिद गर्न अग्रीम भुक्तानी गरेपनि १० लाख डोज अझै नेपालले पाउन सकेको छैन । नेपालले पाउन बाँकी १० लाख र थप ७ लाख गरेर १७ लाख डोज खोप उपलब्ध गराइदिन सरकारले आग्रह गरिरहेको छ ।
अमेरिकाले ६ करोड मात्रा अस्ट्राजेनेकाका खोप ‘स्टक’ राखेको जनाइएको छ । तर अमेरिकाले आफ्ना नागरिकलाई फाइजर, मोर्डना र जेएनजे खोप दिइरहेको छ । अमेरिकामा अस्ट्राजेनेकाका खोप प्रयोग भएको छैन् ।
‘अमेरिकासँग संवाद गरेका छौँ तर अमेरिकाको खोप वितरण प्रक्रिया लामो हुने हुँदा केही समय लाग्ने बताइएको छ, नेपाल पनि अमेरिकाको प्राथमिकतामा रहेको जानकारी प्राप्त भएको छ’ परराष्ट्र मन्त्री ज्ञवालीले भने ।
चीनको भेरोसेल, अमेरिकाको जोन्सन एण्ड जोन्सनको खोप खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र परराष्ट्र मन्त्रालयले पत्राचार गरिसकेको छ । अबको १० दिनभित्र नेपालमा ल्याउने ५० लाख डोज खोपको टुंगो लाग्ने उनको भनाइ छ । चीन र अमेरिकाबाट ५०/५० लाख डोज खोप ल्याउने तयारी भइरहेकाले खोपमा ‘ब्रेक थ्रु’ हुने मन्त्री ज्ञवालीको विश्वास छ ।
विश्वमा उत्पादन भएका ९५ प्रतिशत खोप १५ देशमा सीमित छन् र बाँकी ५ प्रतिशत खोपमात्रै १६० भन्दा बढी देशमा रहेकाले पनि समस्या भएको उनको भनाइ छ ।
लक्षित वर्गलाई २०२१ भित्रमै खोप दिने मन्त्री ज्ञवालीको दाबी छ । उनले भने, ‘उक्त खोपका लागि ३६ अर्बभन्दा बढीको स्रोत सुनिश्चत गरिएको छ ।’

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।
प्रतिक्रिया