बुधबार, मंसिर ३, २०८२

एमाले स्थायी कमिटी बैठक स्थगित, पार्टी एकताबारे थप छलफल हुने

मेरोन्यूज २०७८ जेठ १९ गते १५:३०

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटीको बैठक भोलि दिउँसो ४ बजेसम्मका लागि सरेको छ । आज दिउँसो ४ बजे बस्ने भनिएको बैठक सरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा पार्टी एकताका बारेमा थप पहल हुने बताइएको थियो । मंगलबार बसेको बैठकले पार्टी निष्कासनमा परेका नेता माधव नेपाल, झलनाथ खनालसहितका नेतासँग पार्टी एकता जोगाउन पहल गर्ने निष्कर्ष निकालिएको थियो ।

पार्टीबाट निष्कासन भएका वरिष्ठ नेता नेपालबाहेकका कारबाही नभएका नेपाल पक्षका दोस्रो पुस्ताका नेतासँग पार्टी एकताबारे संवाद हुँदै आएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली भने नेता नेपालसहित केही नेतालाई बाहिरै राखेर पार्टी एकता गर्ने मनस्थितीमा छन् ।

प्रधानमन्त्री ओली नेपाल पक्षका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेतालाई हदैसम्मको सम्झौता गरेर पनि पार्टीमा ल्याउने कोशिसमा छन् ।

नेपाल पक्षका दोस्रो तहका नेताहरू पाण्डे, भुसाललगायले माधव नेपालसहित आफू पक्षका सबै नेतालाई समेट्न ओलीलाई दबाब दिइरहेका छन् ।

यता, नेपाल पक्षका सबै नेतालाई एकतामा नल्याउने मनस्थितीका साथ ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका विघटित प्रतिनिधिसभाका सदस्यहरूलाई छानेर कारबाही गरेका छन् ।

प्रतिक्रिया