मंगलबार, वैशाख ८, २०८३

गन्धर्वको गुनासो -‘रोगलेभन्दा भोकले मर्ने भयौँ’

मेरोन्यूज २०७८ जेठ २० गते ९:४१

झापा । देशका विभिन्न कुना कन्दरासम्म पुगेर सारङ्गीको धुनमा गीत गाएर परिवार धान्दै आएको गन्धर्व जाति कोभिड–१९ को महामारीका कारण आर्थिक सङ्कटमा परेको छ । नेपालकै होचो स्थान कचनकवल गाउँपालिका–२ मा बसोबास गर्दै आएका गन्धर्वका ४५ परिवार बिहान बेलुकाको छाक टार्ने खाद्यान्न नहुँदा भोकमरीमा परेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

सारङ्गी रेटेर घरघर पुग्ने र मीठो लयमा गीत गाएर मनोरञ्जन प्रदान गर्ने उनीहरुको पुखर्यौली पेशा हो । अहिलेसम्म यो पेशा धान्दै आएका उनीहरु सर्वत्र निषेधाज्ञा लागु भएका कारण घरबाट बाहिर निस्कन पाएका छैनन् ।

खेतीपाती र व्यापार नरुचाउने यो जाति कोभिड–१९ को दोस्रो भेरियन्ट फैलिएपछि भोकमरीमा परेको छ तर अहिलेसम्म कसैले पनि उनीहरुलाई खाद्यान्न सहयोग पुर्याएका छैनन् ।

“रोगलेभन्दा भोकले मर्ने भयौँ”, पूर्वाञ्चल गन्धर्व सांस्कृतिक उत्थान समाजका सचिव रबिन गन्धर्व भन्छन्, “सारङ्गी रेटेर कमाएको पैसोले हाम्रो जातिको परिवार धानेको थियो । अहिले घरबाहिर निस्कन नसक्दा बिहान बेलुकाको छाक टार्न मुस्किल भइसक्यो ।”

सहज अवस्थामा उनीहरु काठमाडौं, पोखरा, धरान, इलाम र ताप्लेजुङ मात्र होइन, छिमेकी मुलुक भारतको सिलिगुढी, दार्जीलिङ, कालिम्पोङ र सिक्किमसम्म पुगेर सारङ्गीमा गीत सुनाउँथे । फर्केर घर आउँदा मनग्यै कमाइ हुन्थ्यो । त्यही कमाइले परिवारको लालनपालन र शिक्षादीक्षा हुँदै आएको उनको भनाइ छ ।

“खेतीपाती र जनमन गर्न सिकिएन । घरमा भएको अन्न सकियो । ऐँचोपैँचो र उधारो पनि नपाउने अवस्था भयो । भोकले केटाकेटी र वृद्धवृद्धाहरु आत्तिन थालिसकेको छन्”, सचिव गन्धर्व पीडा सुनाउँदै भन्छन्, “सरकारका मान्छे र पार्टीका नेताहरु सबैलाई गुहारिसक्यौँ, आश्वासन दिन्छन् तर राहत कसैले दिएनन् ।”

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले हालसम्म पालिकामा राहतको माग गरेर कोही पनि नआएको बताए । “पालिकाभित्रका जनतालाई भोकले मर्ने दिँदैनौँ”, उनले भने, “राहत वितरणको तयारी हुँदैछ, खाद्यान्न अभावमा कसैको घरमा चुल्हो बलेको छैन भने अनुगमन गरेर त्यो पनि व्यवस्था गर्छौँ ।” उनले पालिकाभित्र मजदुरी गरेर जीविकोपार्जन गर्नेलाई प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तरगत काम दिइरहेको बताए ।

राहत नपाए अब सारङ्गी बोकेर बाँच्नका लागि भए पनि गाउँतिर निस्कने सल्लाह भइरहेको सचिव गन्धर्वले बताए ।

उनका अनुसार कचनकवल–२ मा मात्र ४५ घर परिवारका २०७ जना गन्धर्व जातिको बसोबास रहेको छ । यो जाति लोपोन्मुख जातिमा पर्ने भए पनि हालसम्म सूचीकृत हुन नसक्दा सामाजिक सुरक्षा भत्तासमेत उनीहरुले पाउन सकेका छैनन् । नेपालमा गन्धर्व जातिको कुल जनसङ्ख्या ६६०० मात्र छ । रासस

प्रतिक्रिया