नागरिकतासम्बन्धी रिटमाथि सुनुवाई हुँदै, विवादित संवैधानिक इजलासबारे उच्च चासो

काठमाडौँ । संवैधानिक इजलासमा नागरिकतासम्बन्धी अध्यादेशविरूद्ध परेका रिटमाथि सुनुवाई हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले नागरिकतासम्बन्धी अध्यादेशविरूद्धका रिट हेर्न वरिष्ठ न्यायाधीशहरूलाई संवैधानिक इजलासमा तोकेका छन् ।
आज शुक्रबार राणासहित दीपककुमार कार्की, हरिकृष्ण कार्की, मिरा खड्का र ईश्वरप्रसाद खतिवडाले इजलास हेर्न भएका छन् । वरिष्ठ पाँच न्यायाधीशमध्ये विश्वम्भर श्रेष्ठ अहिले कोरोना भाइरस संक्रमण भई आइसोलेसनमा छन् ।
इजलास गठन विवादित भएको भन्दै प्रधानन्यायाधीशको आलोचना भइरहेको अवस्थामा सर्वोच्च अदालतभित्रै न्यायाधीशहरू र सर्वोच्च बारले वरिष्ठताका आधारमा इजलास गठन गर्न सुझाएका थिए । उनीहरूको सुझाव अनुसार काम गर्न प्रधानन्यायाधीशले वचन दिएका थिए । त्यसैले आजको संवैधानिक इजलासलाई चासोका साथ हेरिएको छ ।
नागरिकताजस्तो संवेदनशील र राष्ट्रियतासँग जोडिएको विषयमा अध्यादेश ल्याएको भन्दै अधिवक्ता बोर्णबहादुर कार्की रामबहादुर शाहीलगायतका ६ रिटमाथि आजको संवैधानिक इजलासले सुनुवाइ गर्ने छ ।
तर, प्रतिनिधिसभा विघटनसम्बन्धी परेको ३० वटा रिटमाथिको सुनुवाई गर्ने संवैधानिक इजलास गठन हुन सकेको छैन । यसका लागि प्रधानन्यायाधीश राणाले आगामी २३ गते बैठक बोलाएका छन् ।
प्रतिक्रिया