सोमबार, जेठ ५, २०८२

विद्यार्थीको नतिजा आन्तरिक मूल्याकङ्नबाट सार्वजनिक गरिदै

मेरोन्यूज २०७८ जेठ २२ गते ६:३८

टीकापुर । कैलालीका विद्यालयले वार्षिक परीक्षा सञ्चालनमा समस्या भएपछि आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गर्न थालेका छन् ।

गएको महिना वैशाख १५ गतेबाट वार्षिक परीक्षा गर्ने तयारीमा रहेका यहाँका विद्यालयमा कोरोना भाइरस सङ्क्रमण समुदायमा फैलिएपछि परीक्षा स्थगित भएका थिए ।

लामो समयको बन्द र विद्यालय खोल्ने वातावरण नभएपछि जिल्लाका स्थानीय तहले आन्तरिक मूल्याकङ्नबाट नतिजा सार्वजनिक गर्न विद्यालयलाई निर्देशन दिएका छन् ।

पालिकाको निर्णयपछि कैलालीका पालिकाले अब कक्षा एकदेखि नौसम्मका विद्यार्थीको नतिजा आन्तरिक मूल्याङ्कनबाट सार्वजनिक गर्न थालेका छन् ।

टीकापुर नगरपालिकामा बुधबार बसेको शिक्षा समितिको बैठकले विद्यालयमा लिइएका विभिन्न आन्तरिक परीक्षा, हाजिरी, गृहकार्य, अनुशासन र अतिरिक्त क्रियाकलापका आधारमा मूल्याङ्कन गर्न सकिने निर्णय गरेको छ । कोभिड १९ का कारण परीक्षा सञ्चालन गर्न नसकेपछि बुधबार बसेको नगर शिक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारको निर्णयानुसार आगामी असारदेखि नयाँ शैक्षिक सत्र शुरु गर्नुपर्ने भएकाले नगर शिक्षा समितिको बैठक बसी यस्तो निर्णय गरिएको नगरपालिकाका प्रवक्ता दीर्घबहादुर ठकुल्लाले जानकारी दिए ।

‘‘विद्यालय सञ्चालकहरुसँग छलफल गर्दा पनि यही विकल्प भन्नुभएको छ, यस्तो बेला परीक्षा गर्न सम्भव पनि छैन’’, ठकुल्लाले भने, ‘‘नयाँ शैक्षिक सत्र शुरु हुने समयमा हामीले यही विकल्प दिएका छौं ।’’

टीकापुर क्षेत्रका केही निजी विद्यालयले भने कोरोना कहरमा पनि अनलाइन कक्षा नियमित राखेका थिए । उनीहरुले अनलाइनबाट परीक्षा समेत गरे ।

सबै विद्यालय र विद्यार्थी अनलाइनको पहुँचमा नभएका, अझ सामुदायिक विद्यालयमा अनलाइन कक्षा सम्भव नभएकाले पालिकाले विद्यालयको सहजताका लागि यस्तो निर्णय गरिदिएको शिक्षा अधिकृत नरेश अवस्थी बताउँछन् ।

प्रतिक्रिया