शनिबार, मंसिर २७, २०८२

‘भोक लागेपछि खाना बाँड्ने ठाउँतिर पुग्छु’

जुली गिरी २०७८ जेठ २३ गते १५:२२

काठमाडौँ । क्षेत्रपाटीको सुनसान सडक । विरलै देखिने मान्छेहरूबाहेक घनाघोर सहर बन्द छ । पसलका सटरहरू बन्द छन् । बन्द सहरको कतै कुनामा रुमलिरहेका छन्, बलबहादुर थापा (५६) । उनी क्षेत्रपाटीको स्थानीयबासी होइनन् । तर, हरेक दिन उनी क्षेत्रपाटीमा पुग्छन् ।

काठमाडौंको नेपालटार बस्ने उनी साँझ परेपछि परिवार खोज्दै फर्किन्छन् । बिहान भएपछि उस्तै गरी छेत्रपाटी पुग्छन् । क्षेत्रपाटीसँग उनको साइनो गाँसिएको छ । जीवन साटिएको छ ।

तर, देशभर फैलिएको कोरोना भाइरस (कोभिड १९)का कारण थापामा पहिलेको जस्तो चमक छैन । उनीमात्रै होइन्, सधैभर जागिरहने क्षेत्रपाटी पनि उनी जस्तै चमकविहीन भएको छ ।

कोरोना फैलिएसँगै सरकारले लगाएको निषेधाज्ञाले क्षेत्रपाटी शहर पनि बन्द भयो । शहर बन्द हुँदा थापाको दैनिक गुजारा ठप्प भयो । तर, केही काम पाइन्छ कि भन्ने आशामा उनी त्यही पुग्छन् । दिनभरि, दैनिक गुजाराको पर्खाईमा बस्छन् ।

आफूसँग भएको रिक्साको साहारामा गुजारा चलाएका उनले बजार ठप्प भएपछि काम पाउन छाडेका छन् । तर, काम पाइन्छ कि भन्ने आशामा क्षेत्रपाटी पुग्छन् । साँझ फर्किँदा परिवारलाई खाने कुरा ल्याउछु भन्दै आएका उनी फर्किँदा खाली हात जान्छन् ।

‘कोरोनाले अब त बाँच्ने आशा मरेको छ, काम पाइदैन्, सबै ठप्प छ,’ आफ्नो दुःख पोख्दै थापा भन्छन्, ‘सरकारले हेर्छ भन्ने आश छैन, आफैँ काम गरेर बाँचेकाहरूलाई पनि समस्यामा परिदिए ।’

थापाको परिवारमा श्रीमतीसहित दुई छोरी र एक छोरा छन् । ६ जनाको परिवारमा काम गर्ने उनी एक्ला हुन् । परिवारको जीवन धान्ने आधार बनेका उनी आफै सहयोगी मनहरूले दिएका खाना खाएर बस्छन् । काम पाइने आशमा बेसुरसँग हिँडिरहन्छन् ।

काम पाइने आशमा बिहानै क्षेत्रपाटी आइपुग्छन् । कोठाबाट भोके हिँडेका उनी कसैले दिएको खाएर बस्छन् । ‘काम पाइन्छ कि भनेर बिहान यहाँ आइपुग्छु, कहिले हुन्छ, कहिले हुँदैन्,’ उनी भन्छन्, ‘भोक लागेपछि खाने कुरा बाँड्ने ठाउँतिर पुग्छु ।’

उनी त जसोतसो खाएकै छन् । तर, परिवारको पेट भर्ने संकट उस्तै छ । भन्छन्, ‘यस्तो त कहिले भएको थिएन, बजार बन्द भएपछि गाह्रो भएको छ ।’

थापाको परिवारको अवस्था देखेर केही संस्थाले केही खाने कुरा दिएका छन् । तर, केही दिनपछि पेट भर्न गाह्रो हुने उनी बताउँछन् ।

निषेधाज्ञा हुनुपहिले दैनिक ४ हजारसम्म कमाइँ गरेको बताउँछन्, उनी । ‘कहिलेकाही त दिनमै ४ हजारसम्म कमाइँ हुन्थ्यो, बजार खुलेका हुन्थ्ये, काम जति नि पाइन्थ्यो,’ उनी थप्छन्, ‘अहिले बजार बन्द छ, बिहान चाँडै आए विरामी बोक्न पाइन्छ कि भन्ने लाग्छ, तर अहिलेसम्म पाइएको छैन ।’

रिक्सामा सामान बोकेर राम्रो आम्दानी गरेका उनी अहिले कोरोनाका विरामी बोक्ने आश गर्दै छन् । कोरोना संक्रमित विरामी बोक्न सरकारले उच्च स्वास्थ्य मापदण्ड बनाइएको छ । तर, उनी विरामी पाउने आशमा क्षेत्रपाटी आइपुग्छन् । सरकारले लकडाउन मात्रै गरेर गरी खाने वर्गलाई दुःख दिएकोमा उनी आक्रोश छन् ।

‘नागरिकको समस्यामा सरकारको ध्यान छैन, भोकले रातभरि पटुका बाँधेर सुत्नु पर्ने अवस्था छ,’ थापाले दुखेसो पोख्दै भने, ‘महामारीमा बाहिर ननिस्कनु भन्छ, तर बाहिर ननिस्केर के गर्नु ? भोकले घरभित्रै मर्ने हो र ?’

नवलपरासीबाट कामको सिलसिलामा काठमाडौँ आइपुगेका उनीसँग न घर जाने अवस्था छ, न यहाँ बसेर खान सक्ने । आफ्नो बाध्याता सुनाउँदै भन्छन्, ‘सम्पत्ति हुनेलाई रोगको डर छ, हामी जस्तालाई त रोग नलाग्दै भोकले मरिएला कि भन्ने डर छ ।’

रिक्सा डोर्‍याउँदै अगाडि बढेका उनले थपे, ‘रिक्सा साहुलाई दैनिक एक सय रुपैयाँ तिर्नु पर्छ, आज त यही पैसा पनि कमाई भएन ।’

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया