सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले विश्वासको मत लिंदै, विपक्षमा मत दिन एमालेको ह्वीप

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेश सभाबाट विश्वासको मत लिंदैछन् ।
प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीका अनुसार आज बिहान ९ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची तय छ ।
मुख्यमन्त्रीले प्रदेश सभामा पेश गरेको विश्वासको प्रस्तावको पक्ष, विपक्ष र तटस्थ बस्ने प्रदेश सभा सदस्यका लागि समेत छुट्टाछुट्दै मत खसाल्ने व्यवस्था गरिएको धामीले बताए ।
मुख्यमन्त्री भट्टले संविधानको धारा १८८ बमोजिम विश्वासको मत लिन आइतबार प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए ।
सुदूरपश्चिममा हाल नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ ।
५२ सदस्यीय प्रदेश सभामा नेकपा एमालेका सभामुखसहित २५ जना, माओवादी केन्द्रका १३ जना, नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टीका २ जना प्रदेश सभा सदस्य छन् ।
विश्वासको मतका लागि मुख्यमन्त्री भट्टलाई २७ मत चाहिन्छ । प्रदेश सभामा एमालेका २५ मध्ये माधवकुमार नेपाल पक्षका १८ जना र ओली पक्षका ६ जना छन् ।
मुख्यमन्त्रीलाई विश्वासको मत नदिन एमालेको निर्देशन
नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले मुख्यमन्त्री भट्टको विश्वासको मतको विपक्षमा उभिन आफ्ना सांसदलाई निर्देशन दिएको छ ।
सोमबार पार्टी केन्द्रीय कमिटीको निर्देशन बमोजिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र रावलले एमालेका सबै प्रदेश सभा सदस्यहरुलाई निर्देशनात्मक पत्र बुझाउँदै विक्षमा मतदान गर्न निर्देशन दिएका हुन् ।
प्रदेश कमिटीले दलका नेता प्रकाशबहादुर शाह र सचेतक दुर्गाकुमारी विकलाई पनि पत्र लेखी पार्टीको स्थायी कमिटीको निर्णयअनुसार मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न ह्वीप जारी गर्न निर्देशनसमेत दिएका छन् ।
१० जेठमा बसेको नेकपा एमालेको स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर प्रदेश संसदीय दलको १२ जेठमा बसेको बैठकले तत्काल सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको थियो ।
उक्त निर्णयपछि मुख्यमन्त्री भट्टले सरकारमा रहेका एमालेका ३ जना मन्त्रीलाई राजीनामा दिन लगाएर एमालेकै ४ मन्त्री र ३ जना राज्यमन्त्री नियुक्त गरेका थिए । उनीहरु सबै एमालेको माधव नेपाल पक्षका हुन् ।
स्थायी कमिटीको निर्णयको अवज्ञा गरेको भन्दै एमाले अध्यक्ष केपीशर्मा ओलीले प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई स्पष्टीकरण सोधेका थिए ।
शाहले ओलीलाई स्पष्टीकरणको जवाफ पेश गरिसकेका छन् । यस्तै सरकारमा सहभागी अन्य मन्त्रीलाई समेत कारवाहीका लागि एमालेले प्रक्रिया अगाडि बढाइसकेको छ ।
मुख्यमन्त्री भट्टले प्रदेश सभाबाट विश्वासको मत लिन लागेपछि नेपाली कांग्रेस भने आन्तरिक छलफलमा जुटेको छ । प्रदेश संसदीय दलको बैठकबाट मख्यमन्त्री भट्टको विश्वासको प्रस्तावका पक्ष वा विपक्षमा मतदान गर्ने निणृइ गर्ने कांग्रेसले जनाएको छ ।
प्रतिक्रिया